जनार्दन शर्माद्वारा अर्थ मन्त्रालयको पदभार ग्रहण

जनार्दन शर्माद्वारा अर्थ मन्त्रालयको पदभार ग्रहण


जनार्दन शर्माले विवादमा परेर राजीनामा दिएको २५ दिनपछि पुनः अर्थ मन्त्रालयको कार्यभार सम्हालेका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् ।

संसदीय छानबिन विशेष समितिबाट सफाइ  पाएका शर्माले पुनः अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । नवनियुक्त अर्थमन्त्री शर्माले पदभार ग्रहण पश्चात बोल्दै विश्व अर्थतन्त्रमा समस्या देखिएकोले मुलुकको अर्थतन्त्र सवलिकरण गर्ने आवश्यकता रहेको बताए ।

उनले आत्मनिर्भर र उत्पादनमुखी बजेट ल्याएकाले बजेट कार्यान्वयन गरेर अर्थतन्त्र सवलिकरणका लागि आफू लागि पर्ने प्रतिवद्धता जनाए । मन्त्री शर्माले गत आ.व.को बजेट कार्यान्वयनमा भएका कमी कमजोरीलार्ई समीक्षा गर्दै चालु आवको बजेट कार्यान्वयन गरिने समेत उल्लेख गरे  । उनले मन्त्रालयका कर्मचारीहरुको सहकार्यमा मन्त्रालयको काम गर्ने बताए ।

मन्त्री शर्माले बजेट कार्यान्वयनका लागि कर्मचारी सबैले सहयोग गर्नेमा आफू विश्वस्त रहेको समेत बताएका छन् । मन्त्री शर्मा माथि १४ जेठ २०७९ मा बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई मन्त्रालय लगेर करका दर हेरफेर गरेको आरोप लागेको थियो । त्यसबारे छानबिन गर्न समिति बनेकै दिन २२ असारमा शर्माले पदबाट राजीनामा दिएका थिए तर, छानबिन समितिले शर्मालाई लागेको आरोपबाट सफाइ दिएको थियो । 

Logo