जापानमा योजनाबद्ध आगजनी, २४ जनाको मृत्यु

जापानको क्योटो शहरमा रहेको एनिमेसन स्टुडियोमा बिहीबार गरिएको आगजनीमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ भने अन्य दर्जनौँ घाइते भएका छन् ।

यो भीषण आगजनी योजनाबद्ध रुपमा गरिएको प्रहरीको भनाइ छ । यस आगजनीको कारण प्रष्ट भइनसकेको प्रहरीले जानकारी दिएको छ । सो आगजनीको समयमा भवनमा कार्यरत धेरै व्यक्तिहरु भाग्न असफल भएकाले मृतकको संख्या अझ बढ्ने आशंका गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

भूइँ तला र पहिलो तलामा १२ जनालाई गम्भीर अवस्थामा उद्धार गरिएको र उनीहरुमा श्वासप्रश्वासको समस्या देखिएको अग्नि नियन्त्रण विभागमा अधिकारीहरुले जानकारी दिएका छन् ।

सो आगजनीमा मारिएका प्रायः व्यक्ति सो कम्पनीमा कार्यरत रहेका बताइएको छ । सरकारी अधिकारीहरुका अनुसार यस आगजनीमा परी ३५ व्यक्ति घाइते भएका र तीमध्ये १० जनाको अवस्था चिन्ताजनक रहेको छ । कम्पनीमा करिब ७० जना कार्यरत रहेको बताइएको छ ।

प्रहरीले एक शंकास्पद अधवैंशे व्यक्तिलाई घाइते अवस्थामा नियन्त्रणमा लिएको छ । ती व्यक्तिले पेट्रोलजस्तो देखिने तरल पदार्थ लिएर भवनभित्र प्रवेश गरेको सिसिटिभी फुटेजमा देखिएको छ ।