पक्राउ पुर्जी जारी गरेर सरकारले देशलाई पुन: द्वन्द्वमा धकेल्यो : खड्गबहादुर विश्वकर्मा

पक्राउ पुर्जी जारी गरेर सरकारले देशलाई पुन: द्वन्द्वमा धकेल्यो : खड्गबहादुर विश्वकर्मा


नेपाल कम्युनिष्ट पार्टीले सरकारले आफ्ना नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेर देशलाई पुनः द्वन्द्वमा लैजान खोजेको आरोप लगाएको छ ।

ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्दामा विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लगायत नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेको हो ।

पुर्जी जारी भएसँगै पार्टी प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘सरकारसँग वार्ता जारी रहेको अवस्थामै अदालतबाट यस्तो सूचना जारी हुनु सरकारको शान्ति पक्रिया भाँड्ने, देशलाई पुनः द्वन्द्वमा धकेल्ने कदम हो । सरकारसँग वार्तापछि भएका सहमति कार्यान्वयनको चरणमै छ । सहमति अनुसार सरकारले काम गरिरहेको छैन ।’  

ललितपुर अदालतले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि लागेका मुद्दाहरूमा म्याद तामेल भएको भन्दै ६ साउन ०७९ को आदेश अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको हो । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीवाट विद्रोह गर्दै सशस्त्र द्वन्द्वमा फर्किएका चन्द समूहले ललितपुरस्थित एनसेल कार्यालयमा तोडफोड गरेको र सो क्रममा एक जनाको मृत्यु भएको थियो ।

देशभरी यस्ता हिंस्रक घटना घटाएको सो समूहविरुद्ध देशैभरी उजुरी परेका छन् । तत्कालिन केपी ओली नेतृत्वको सरकार मार्फत शान्ति प्रक्रियामा आए पनि उनीहरू विरुद्ध परेको मुद्दा अझै फिर्ता भएको छैनन्, अदालतले समय समयमा उनीहरूवरिुद्ध पक्राउ पुर्जी जारी गर्दै आएको छ। 

Logo