गुणस्तरहीन खाद्य वस्तु बेच्ने ११५ वटा उद्योग फर्म तथा व्यापारीबिरुद्ध मुद्दा

गुणस्तरहीन खाद्य वस्तु बेच्ने ११५ वटा उद्योग फर्म तथा व्यापारीबिरुद्ध मुद्दा


सरकारले गुणस्तरहीन खाद्य वस्तु बेचेर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने १ सय १५ वटा उद्योग फर्म तथा व्यापारीबिरुद्ध मुद्दा दायर गरेको छ । मंगलवार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पत्रकार सम्मेलन गर्दै बजार अनुगमन गरी संकलन गरिएका नमूना परीक्षणबाट दोषी देखिएका १ सय १५ उद्योग, फर्म तथा व्यापारीहरुबिरुद्ध मुद्दा दायर गरेको जानकारी दिएको हो ।

विभागले गत आर्थिक वर्षमा बजार अनुगमन गरी ४ हजार ६ सय ६० वटा नमुना संकलन गरेको थियो । संकलित नमूनामध्ये ५.४२ प्रतिशत मापदण्ड विपरित पाइएको विभागले जनाएको छ । विभागले अनुमगन गर्दा फल तथा सागपातजन्य पदार्थ सबैभन्दा प्रतिकुल पाइएको बताएको छ । पत्रकार सम्मलेन बोल्दै विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले परीक्षणबाट फल तथा सागपातजन्य पदार्थका ६१ वटा नमूना दुषित देखिएको बताए  ।

उनले खाद्यान्न÷दलहनजन्यका ५३ वटा, प्रशोधित पिउने पानीका २९ वटा, दाना पदार्थका १७ वटा, दुध तथा दुग्ध पदार्थका १५ वटा, तेल तथा घ्युजन्यका १४ वटा, चिया कफिका १३ वटा, मसलाका ६ वटा, गुलियो पदार्थका ४ वटा, मासु तथा मासुजन्यको १ र अन्यको ११ वटा गरी जम्मा २ सय २४ वटा नमूनाहरुको परीक्षण प्रतिवेदन प्रतिकुल पाइएको बताए ।

उनका अनुसार दुषित खाद्य पदार्थ बेचेको अभियोगमा १ सय १५ वटा मुद्दा दायर गरिएकामध्ये खाद्यान्न एवं दलहन तथा सोबाट बनेका पदार्थका सबैभन्दा धेरै ३० वटा रहेका छन् । उनले दुध तथा दुग्ध पदार्थका १९ वटा, दानाको १८ वटा, प्रशोधित पिउने पानीका १४ वटा, चिया तथा कफीका ८ वटा मुद्धा दायर गरिएको बताए ।

त्यस्तै,फल तथा सागपातका ७ वटा, मसला पदार्थका ५ वटा, गुलियो पदार्थका ३ वटा, तेल तथा घ्युजन्यको २ वटा, सोयाससको १ र अन्य ८ वटाविरुद्ध पनि विभागले जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा मुद्दा दायर गरेको विभागले बताएको छ । विभागले गत बर्षको अवधिमा ७ सय ३ वटा नयाँ उद्योग स्थापना गर्न सिफारिस गरेको छ भने १ हजार ४ सय ८१ वटा उद्योगको अनुज्ञापत्र नवीकरण गरेको छ । 
 

Logo