शिक्षकको कुटाईबाट ज्यान गुमाएका विद्यार्थीको ११ दिनपछि अन्त्येष्टी

कञ्चनपुर । शिक्षकको कुटाईबाट ज्यान गुमाएका विद्यार्थी माधव कलौनीको ११ दिनपछि अन्त्येष्टी गरिएको छ । भीमदत्त नगरपालिका–१७ बाँसखेडास्थित महाकाली बाल विद्यालयका शिक्षकको कुटाईपछि ज्यान गुमाएका कलौनीको शव शुक्रबार आफन्तले बुझेर महाकाली नदीमा अन्त्येष्टी गरेका हुन् ।

प्रहरीले घटनाको निष्पक्ष छानबिन गर्ने र दोषीमाथि कारवाही गर्ने प्रतिबद्धतापछि आफन्तले ११ औं दिनमा शव बुझेका हुन् । कक्षा ९ मा अध्ययनरत विद्यार्थी माधवको गत असार २४ गते भारतमा उपचारको क्रममा मृत्यु भएको थियो ।

कुटपिट गरेको १२ औं दिनमा उनको उपचारकै क्रममा भारतीय त्रिमुर्ति अस्पतालमा मृत्यु भएको थियो । माधवको भारतीय सरकारी अस्पतालमा पोष्टमार्टम गरेपछि आफन्तले महाकाली अञ्चल अस्पतालमा पुनः पोष्टमार्टमका लागि शव राखेका थिए ।

बिहीबार माधवको पुनः पोष्टमार्टम गरिएको थियो । नेपालमा पुनः पोष्टमार्टम गरेर घटनाको निष्पक्ष छानविन गर्ने प्रहरीको प्रतिबद्धतापछि शव बुझेर धार्मिक परम्परा अनुसार अन्त्येष्टी गरिएको मृतक माधवका मामा पुष्पमणी जोशीले जानकारी दिए ।

विद्यालयबाट समेत निस्कासित गरिएका माधवको खुट्टामा समस्या देखिएपछि बाबु बृह्स्पति कलौनीले डडेल्धुराको अस्पतालमा उपचार गराएका थिए ।

त्यहाँ उपचार नभएपछि उनलाई थप उपचारका लागि महाकाली हुँदै, नेपालगन्जको शिक्षण अस्पताल लगिएको थियो । उनको शिक्षण अस्पतालमा समेत उपचार नभएपछि भारतीय त्रिमुर्ति अस्पताल लगिएको थियो । जहाँ उनको मृत्यु भएको थियो । शिक्षककै सामुहिक कुटाईबाट माधवको मृत्यु भएको भन्दै परिवारले शव बुझ्न मानेका थिएनन् ।

भारतीय अस्पतालमा गरेको पोष्टमार्टम रिपोर्टमा पनि घाउकै कारण मृत्यु भएको उल्लेख गरिएको परिवारजनले बताएका छन् । त्यस्तै नेपालमा गरिएको पोष्टमार्टममा पनि घाउकै कारण मृत्यु भएको रिपोर्ट आएको मामा पुष्पमणीको भनाई छ । शिवनाथ गाउँपालिका–२ सर्मली बैडतीका माधव भीमदत्त नगरपालिका–५ बनगाउँमा मामा पुष्पमणी जोशीको घरमा बसेर पढ्नै आएका थिए ।

मृतकका मामा पुष्पमणीले प्रहरीलाई दिएको किटानीका आधारमा प्रिन्सिपल यशोदा जोशी, व्यवस्थापन समिति अध्यक्ष निरञ्जनप्रसाद बोहरा र शिक्षकहरु लक्ष्मण भट्ट, दुर्गादत्त पाठक र हर्क जाग्रीविरुद्ध कर्तव्य जान मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

कञ्चनपुरका प्रहरी प्रमुख दिनेश आचार्यले सात दिनको म्याद थप गरेर उनीहरुमाथी अनुसन्धान भईरहेको जानकारी दिए । यता विद्यालयले भने उनीमाथि कुटपिट नगरिएको दाबी गर्दै आएको छ ।

विद्यार्थी मृत्यु प्रकरणमा प्रिन्सिपलसहित ५ जनाविरुद्ध मुद्दा दायर

शिक्षकको कुटाईबाट १ विद्यार्थीको मृत्यु, प्रिन्सिपलसहित ४ शिक्षक पक्राउ

शिक्षकको कुटाईबाट ज्यान गुमाएका विद्यार्थीको ११ दिनपछि अन्त्येष्टी