मंगलादेवीलाई नेपाल रत्न विभूषणबाट विभूषित गर्न गणेशमान सिंह प्रतिष्ठानको माग

मंगलादेवीलाई नेपाल रत्न विभूषणबाट विभूषित गर्न गणेशमान सिंह प्रतिष्ठानको माग


काठमाडौं ।

नेपाली महिला आन्दोलनकी नेतृ एवं नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहलाई नेपाल रत्नबाट विभूषित गर्न गणेशमान सिंह अध्ययन प्रतिष्ठानले माग गरेको छ ।

सो प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले एक विज्ञप्ती जारी गर्दै नेपाली महिलालाई राजनीतिक सामाजिक अधिकार दिलाउन स्वर्गीय मंगलादेवी सिंहले गरेको योगदान अतुलनिय रहेको बताउँदै उनी जस्ता व्यक्तित्वलाई राज्यले सम्मान दिनु पर्ने बताएका हुन् । उनको ०५३ साल भदौ १० गते निधन भएको थियो ।

प्रतिष्ठानले भनेको छ :

नेपालमा प्रजातन्त्र स्थापनार्थ तथा नेपाली महिलाको हक, अधिकारको निमित्त गरिएका आन्दोलनमा स्व. मंगलादेवी सिंहको योगदान अतुलनीय रहेको सबैलाई विदित भएको कुरा हो । महिलाहरुलाई घरभित्रको कामकाजमा सिमित गरी शिक्षा, स्वास्थ्य, स्वनिर्णय जस्ता आधारभूत मानव अधिकारबाट समेत वञ्चित गर्ने सामाजिक प्रचलन रहेको र राजनीतिमा महिला सहभागीता लगभग शून्य रहेको समयमा महिलाले भोट हाल्न र पढ्न पाउनु पर्ने अधिकारका लागि आवाज उठाउने विरङ्गना मंगलादेवी नेपाली महिला अधिकार आन्दोलनकी रत्न हुनु हुन्छ भन्ने कुरामा कुनै दुई मत छैन ।

काठामाडौंको सम्पन्न परिवारकी छोरी र बुहारी हुँदा हुँदै पनि प्रजातन्त्र र नारी स्वतन्त्रताको निमित्त उहाँले खेप्नु भएको दुःख कष्ट सबैको लागि प्रेरणादायी रहेको छ । २००७ सालको क्रान्ती देखि २०४६ सालको जनआन्दोलन सम्म उहाँको अविच्छिन्न प्रेरणादायी भूमिका रह्यो । नारी पुरुष एक अर्काको पुरक हुन्, नारी स्वतन्त्रता भनेको घर गृहस्थी बिगार्नु होईन बरु यो त कर्तब्य बोध पनि हो, महिलाले स्वतन्त्र रुपले व्यक्तित्व विकास गर्ने अवसर पाउनु पर्दछ भन्ने मान्यता राख्ने मंगलादेवी नेपाल महिला संघको पहिलो अध्ययक्ष हुनु हुन्छ । रुढिवादमा पिल्सीएको सामाजिक परिवेशमा नारी आन्दोलनको ज्वाला बाल्नु स्व. सिंह जस्तो दृढ निस्चयी नेतृलाई मात्र सम्भव थियो । महिला संघको नेतृत्वमा भएका आन्दोलनको फलस्वरुप नै अहिले संविधानमा महिला हक अधिकारका कुरा लिपिबद्ध हुन सकेका छन् ।

मंगलादेवी सिंहले विवाह भएको चार महिनामा नै आफ्ना पतिलाई जन्मकैद भएको बज्रपात सहनु भएको थियो । तर सो घटानाले उहाँलाई हतास बनाएन र उहाँ विद्रोही आन्दोलनमा सक्रियताका साथ लाग्नु भयो ।

दृढ निस्चयी, अविचल, नेपाली महिला आन्दोलनकी प्रणेता, प्रजातन्त्री आन्दोलनकी अग्रणी सिपाही मंगला मा नेपाली महिला र प्रजातन्त्र प्रेमी आम नागरिककी प्रेरणाकी श्रोत हुनु हुन्छ । प्रजातन्त्र र महिला स्वतन्त्राको लागि उहाँको योगदानको उचित कदर हुनु वान्छनीय छ । अतः यस गणेशमान सिंह अध्ययन प्रतिष्ठान मंगलादेवी सिंहलाई नेपाल रत्नबाट शुसोभित गर्नु राज्य र आम नागरिकको पनि दायित्व हो भनि ठहर गर्दछ । जय नेपाल

नविन्द्रराज जोशी
अध्यक्ष, गणेशमान सिंह अध्ययन प्रतिष्ठान

र यो पनि 

महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवीको आज २५ औं स्मृति दिवस (भिडियो)

Logo