वर्षातको समयमा देखिने प्रमुख ५ स्वास्थ्य समस्या र जोगिने उपाय

वर्षा ऋतु सुरु भएको छ । वर्षा हुने भए पनि साउन र भदौ दुई महिना निकै गर्मी हुने समय हो । झरी परेको बखत केही शीतल महसुस हुने भए पनि अन्य बेलामा घामले चरक्क पोल्छ । नेपालका उच्च पहाडी तथा हिमाली भागबाहेक अन्य स्थानमा गर्मीले सताउनु सताउँछ । विशेष गरी तराई भेगमा गर्मीले निकै दुःख दिन्छ । एक त गर्मी त्यसमाथि पानी परेर जम्ने भएपछि यो मौसममा मानिसलाई अनेकौँ परजीवी तथा अन्य संक्रमणले सताउँछन् ।

मौसमविद्हरूलेअझै केही महिना गर्मी कायम रहने कुरा बताएका छन् तसर्थ त्यसले उत्पन्न गर्ने समस्याप्रति सजग हुनु आवश्यक छ । समस्या आउनुअघि नै सचेत रहनु नै बुद्धिमानी हो, नसके पनि समस्या आएपछि त्यसलाई सहजै निराकरण गर्ने उपाय थाहा पाउनु निकै राम्रो हुन्छ ।

झाडापखाला
वर्षाको याममा पानीको स्रोत दूषित भई झाडापखाला तथा हैजाको प्रकोप देखा पर्नसक्छ । रोगका कीटाणुहरू गर्मी याममा बढी सक्रिय हुने भएकाले पनि हिउँदमा भन्दा बर्षामा बढी रोग फैलिने सम्भावना वृद्धि हुन्छ ।

हैजा तथा झाडापखाला सरुवा रोग भएकाले यो धेरै मानिसहरूमा फैलिनसक्छ । तसर्थ झाडापखाला नियन्त्रणका लागि खानेपानीको मुहान सफा राख्ने, खानेपानी शुद्धिकरण गरेर मात्र पिउने, साबुन पानीले मिचिमिची हात धुने, घर वरिपरिको वातावरण सधैँ सफा राख्ने, चर्पीमा मात्र दिसापिसाब गर्ने, सफा र ताजा खानेकुरा मात्र खाने,झिँगा भन्केको खानेकुरा नखाने, ६ महिनाभन्दा कम उमेरका बच्चालाई आमाको दुध मात्र खुवाउने, काँचै खान मिल्ने खानेकुरा सफा पानीले राम्रोसँग पखालेर मात्र खाने, घरसँगै जोडेर गाईवस्तु नपाल्ने।

कुकुरको दिसा तथा कुखुराको सुलीलाई नियन्त्रण गर्ने, पानी राख्ने भाँडालाई नियमित सफा राख्ने, मरेका पशुचौपायाको मासु नखाने र झाडापखाला लागिहालेमा तुरुन्त नजिकको स्वास्थ्य केन्द्रमा लैजानेजस्ता उपाय अपनाउनुपर्छ ।खाना र पानीमा ध्यान दिन सके यो समस्याबाट बच्न सकिन्छ ।

झाडापखाला लागिहालेमा जीवनजल वा नुनचिनीपानीपर्याप्त पिउने, भात, दाल, दही अथवा नरम खाना खाने, झोलिलो पदार्थ जस्तै नरम दाल, गेडागुडीको रस र फलफूलको जुस खाने, कागती, अनार, मौसम, सुन्तलाको रसजस्ता रसिला खानेकुरा खाने गर्नुपर्छ ।

झाडापखालाको समस्यामा बिरामीले रक्सी, चिया, कफी र दुध खानु हुँदैन । फ्रिजमा राखेको खानेकुरा छ भने बाहिर निकाल्ने वित्तिकै नखाने, तेलमा तारेका खाना, अमिलो अचार, आलु, भन्टा, काउली पनि नखाने, लामो समयअघि काटेर राखेको सलाद नखाने, बासी, सडेगलेका खानेकुराहरु नखानेजस्ता सावधानी अपनाउनुपर्छ ।

झाडापखालाको समस्यामा घरेलु उपचार भनेको जीवनजल वा नुनचिनीपानीको सेवन र आराम हो । समस्याको प्रकृति हेरी तत्काल नजिकैको स्वास्थ्य संस्था अथवा डाक्टरको सल्लाह लिन सकिन्छ ।

घमौरा
पहाडी क्षेत्रमा वर्षापछि घमौराको समस्या नदेखिने भए पनि तराईका जिल्लाहरूमा यसले दुःख दिन्छ । गर्मीमा अत्यधिक पसिना आउँदा शरीरका रोमछिद्रहरू बन्द हुन्छन् । त्यसका कारण छालामा बति मसिना राता दाना देखा पर्छन् जसलाई घमौरा भनिन्छ । शरीरमा घमौरा आएपछि त्यो चिलाउँछ पनि, चिलाएपछि कन्याइन्छ अनि कन्याएपछि त्यसले पोल्न थाल्छ । यसले बालबालिकाहरूलाई निकै दुःख दिन्छ । तसर्थ यसबाट जोगिने उपाय अवलम्बन गर्नुपर्ने हुन्छ ।

घमौरा आउन नदिन घाममा धेरैबेर बस्नु हुँदैन । घरबाहिर काम गर्नुपर्दा पनि सकेसम्म छाया अथवा छहारीमा बसेर काम गर्न प्रयास गर्नुपर्छ । शरीरलाई शीतल बनाइराख्नुपर्छ । सुती अथवा लिनेनको लुज फिटिङ पहिरन लगाउनुपर्छ, यस्ता पहिरनले शरीरमा आउने पसिना सोस्ने भएकाले घमौरा आउँदैन ।

घरेलु उपाय अपनाएर समेत घमौराबाट छुटकारा पाउन सकिन्छ । मुल्तानी माटोमा गुलाबजल र थोरै पानी मिसाएर लेप बनाउने र त्यसलाई घमौरा आएको स्थानमा प्रयोग गर्ने । सुकेपछि पानीले धुने । यसो गर्दा घमौरा चाँडै निको हुन्छ । यसका साथै निमको पात पिसेर त्यसको लेप प्रयोग गर्दा पनि घमौरामा राहत मिल्छ । त्यस्तै नुहाउने पानीमा तीन टेबुल चम्चा बेकिङ सोडा मिसाएर नुहाउँदा पनि घमौरा निको हुन्छ । बेसनको लेदो बनाएर घमौरा आएको ठाउँमा लगाउँदा पनि आराम मिल्नसक्छ ।

डिहाइड्रेसन
बाहिर पानी परेपछि पानी धेरै खाइँदैन, तर गर्मीका कारण धेरै पसिना आउने भएकाले यो मौसममा डिहाइड्रेसनको समस्या हुन्छ । यसका कारण टाउको दुख्ने, थकाइ लाग्ने, घाँटी र ओठतालु सुक्ने, पिसाबको रंग परिवर्तन हुने, हातगोडा दुख्ने, रिंगटा लाग्नेजस्ता लक्षण देखा पर्छन् ।

डिहाइड्रेसन हुन नदिन पानी पर्याप्त मात्रामा पिउनु पर्छ । बालबालिकालाई त झन् छोटो अवधिकै अन्तरमा पानी अथवा फ्रुट जूस दिनुपर्छ । चिया तथा कफी र सोडाजस्ता कुराको सेवन कम गर्नुपर्छ वा पूरै छोडिदिनुपर्छ ।

डिहाइड्रेसन भइहालेको अवस्थामा केही घरेलु उपाय अपनाउन सकिन्छ । एक कप पानीमा एक चिया चम्चा सुप पाउडर मिसाएर दिनमा ३–४ पटक सेवन गर्नु लाभदायक हुन्छ । यसबाहेक दिनमा ४–५ पटक कागती पानी र नरिवल पानी पिउन सकिन्छ । शरीरमा पोटासियमको कमी हुन नदिन केरा खान सकिन्छ । उपलब्ध भएसम्म पानीकोे मात्रा धेरै भएका फलहरू खरबुजा, तरबुजा, स्ट्रवेरी, काँक्रो आदिकोसेवन गर्नुपर्छ । मौसम, स्याउ र उखुको जुस पिउनुपर्छ ।

फुड प्वाइजन
वर्षाको मौसममा फूड प्वाइजन हुने सम्भावना पनि उत्तिकै हुन्छ । यो मौसममा थुप्रै खानेकुरामा ब्याक्टेरियाहरू चाँडै फैलिन्छ, र यसका कारण फुड प्वाइजन हुनसक्छ । फुड प्वाइजन हुँदा बान्ता आउने, रिंगटा लाग्ने, ज्वरो, डायरिया, टाउको दुख्ने, शरीर दुख्ने र अत्यधिक गल्नेजस्ता लक्षण देखिन्छन् । फुड प्वाइजनमा तत्काल राहत पाउन एक गिलास मनतातो पानीमा कागती, नुन र सख्खर मिसाएर पिउनुपर्छ । दुग्धजन्य पदार्थ र मांसाहारी खानाको सेवन गर्नु हुँदैन ।

खाना बनाउँदा सरसफाइमा विशेष ध्यान दिनुपर्छ । तातो र ताजा खाना खानुपर्छ । बासी खाना खानु हुँदैन । शौचालय प्रयोग गरेपछि र खाना खानुअघि अनिवार्य रूपमा एन्टीबेक्टेरियल साबुनले हात राम्रोसँग धुनुपर्छ । बजारमा खुल्ला रूपमा बिक्री गर्न राखिएका खानामा लोभिनु हुँदैन ।

फुड प्वाइजन भइहालेछ भने केही घरेलु उपाय अपनाएर राहत पाउन सकिन्छ । त्यसका लागि पेटको जलन र दुखाइ कम गर्नका लागि एक चिया चम्चा महमा केही थोपा अदुवाको रस मिसाएर सेवन गर्नु राम्रो हुन्छ । वाकवाकी र दुखाइको अवस्थामा तुरुन्त राहत प्राप्त गर्नका लागि एक चिया चम्चा दुधमा एक चम्चा मेथीदाना मिलाएर खानुपर्छ ।

एक चिया चम्चा कागती रसमा एक चिम्टी सख्खर मिसाएर दिनमा तीन पटक सेवन गरे समस्यामा राहत मिल्छ । एक चम्चा महमा एक चम्चा तुलसीको रस मिसाएर दिनमा ३–४ पटक सेवन गर्नु फाइदाजनक हुन्छ । एउटा लसुनको दानालाई पानीका साथ खाँदा पेट दुखाइमा आराम मिल्छ ।

आँखाको समस्या

वर्षाको मौसममा आँखाको एलर्जी तथा संक्रमण सम्भावना बढी हुन्छ । आँखामा कन्जक्टिवाइटिस हुनसक्छ । आँखा रातो हुनु, सुन्निनु, चिलाउनु तथा चिपचिपाहट हुनु यसको लक्षण हो । यो समस्याबाट जोगिन घामबाट जोगिनु पर्छ । घाममा जानै परे गगल्सको प्रयोग गर्नुपर्छ । हातलाई प्रायः सफा राख्नु पर्छ, आँखामा हात लगाइरहनु हुँदैन । निद्रा पूरा लिनुपर्छ अन्यथा रोग प्रतिरोधामक क्षमता कम हुन्छ ।
आँखामा समस्या उत्पन्न भए केही घरेलु उपाय पनि छन् । बालबालिकालाई आमाको दुधको २–३ थोपा उसको दुबै आँखामा प्रयोग गर्नु लाभदायक हुन्छ । बाख्रा अथवा गाईको काँचो दुधको केही थोपा आँखामा प्रयोग गर्नाले पनि इन्फेक्सन चाँडै निको हुने गर्छ । काँचो आलुलाई काटेर आँखामा प्रयोग गरेमा आँखा सुन्निएको निको हुन्छ ।

चिकित्सकहरू भने त्यस्ता उपाय अपनाउँदा सतर्क रहन सुझाव दिन्छन् । पर्याप्त सफाइ नभए वा संक्रमित दूध प्रयोग गरिए समस्या थप बल्झने र दृष्टि गुम्नेसम्मका समस्या हुनसक्ने भएकाले आँखाजस्तो संवेदनशील अंगको उपचारमा सावधानी अपनाउनु बुद्धिमानी हुन्छ ।