मन्त्रीको ब्यागमा अल्झेर विकासको लक्ष्य भेटिएला !

केही दिनदेखि पत्रपत्रिकामा आइरहेको ‘मन्त्रीलाई ब्याग किन्न राज्यकोषको पैसा’ शीर्षकलाई केही व्यक्तिहरूले सामाजिक सञ्जालमा जोडतोडले उचालिरहेछन् । भूमिसुधार मन्त्री पद्मा अर्यालको लागि खरिद गरिएको एउटा सामान्य झोलाको लागि यति ठूलो हल्ला किन गरिएको होला ? प्रश्न उदेकलाग्दो सुनिन्छ ।

यौटा पाकिस्तानी लेदर ब्याग, मूल्य जम्मा १८ हजार मात्र, प्रयोगकर्ता बहालवाला मन्त्री तर चर्चा भने भयंकर भ्रष्टाचार भएजस्तो ! कसले कुन स्वार्थको कारणले यस्तो सानो कुरालाई पनि ‘बिग इस्यु’ बनाउँछ ? यो कुरा बुझ्नु अति जरुरी हुन्छ ।

चर्चामा आएको उक्त ब्याग साधारण मूल्यको हो । सस्तो मूल्यको । मन्त्रीले चाहेको भए महँगै ब्याग किन्न सक्थिन्, दुईचार लाख पर्ने ब्याग नै पनि बोक्न सक्थिन् । उनले सस्तो ब्याग रोजिन् जुन कुराबाट उनको मितव्ययिता प्रकट हुन्छ । यद्यपि हामी त्यो देख्दैनौँ ।

हामीलाई हल्लाको पछि दगुर्नु छ । हामीले हौवा पिटाउनु छ । कसरी हुन्छ अरूको कमीकमजोरी छताछुल्ल पारेर आफू सन्तुष्ट हुनु छ ।
केही समय पहिले यसरी नै कांग्रेस नेतृ सुजाता कोइरालाले फ्रान्समा तीन लाखको ब्याग किनेको हल्ला फैलिएको थियो । अहिले उही रडाको मन्त्री अर्यालले किनेको ब्यागमा मच्चिएको छ । मानौँ उनले ठूलै अपराध गरिन् ।

माननीय अर्यालले स्याङ्जा जिल्लाको क्षेत्र नम्बर दुईबाट चुनाव जितेकी हुन् । उक्त क्षेत्रलाई नेपालकै ‘कांग्रेस किल्ला’ भनेर चिनिन्छ । त्यहाँ कम्युनिष्टहरूले अपवादको रूपमा मात्र चुनाव जितेको इतिहास छ । त्यस्तो स्थानबाट कांग्रेसका प्रभावशाली नेता गोपालमान श्रेष्ठलाई अत्यधिक मतान्तरले पराजित गर्दै चुनिएकी नेतृ हुन् अर्याल ।

अर्याल ‘लो प्रोफाइल’ मान्छे हुन् । खासमा उनी नेता नै होइनन्, उनी अझैसम्म जनता नै छिन् । उनका श्रीमान् तत्कालिन जिविस उपसभापति भइसकेका व्यक्ति हुन् र अर्यालभन्दा सिनियर कम्युनिष्ट नेता हुन् । उनी अहिले कृषि पेसामा संलग्न छन्, यही पेसाबाट आयआर्जन गरिरहेका छन् । श्रीमती मन्त्रीको पछि लागेर हिँड्नेभन्दा स्याङ्जामा आप्mनै खेतबारीमा व्यस्त देखिन्छन् । उनी स्याङ्जातिरै रमाएको श्रीमतीको मन्त्रालयमा दवदवा बनाएर बस्न नसकेर होइन, न मन्त्री निवासको सुविधा मन नपरेरै हो । उनी किन गाउँमै रमाए त ? किनभने उनीहरूले आजका मितिसम्म आफू नेता भयौं भन्ने सोचेकै छैनन् । अझैसम्म जनता या कार्यकर्ताकै भूमिकामा रमाइरहेका छन् ।

मन्त्रीलाई ब्याग किन चाहिन्छ ? यत्ति पनि हामी बुझ्न सक्दैनौँ वा बुझेर पनि बुझ पचाउँछौँ ! मन्त्रालयका आवश्यक कागजपत्र बोक्न ब्याग चाहिन्छ । महिला हुन्, केही महिलाजन्य सामग्री जो अत्यावश्यक हुन्छन् त्यस्ता सामान पनि बोक्नैपर्ने हुन्छ । भलै निजी सामान बोक्ने अर्को ब्याग पनि होला तर एकजना मन्त्रीसँग मन्त्रालय सम्बद्ध कागजपत्र ओसार्ने झोला पनि हुन नहुनू ?

यो त झोलाको कुरा भयो । यसैगरी सुविधाको सवारी साधन विदाको दिन प्रयोग किन गरियो भनेर प्रश्न उठाइन्छ । नियमभन्दा बाहिर गएर सवारी साधन प्रयोग गर्नु दुरुपयोग हुन सक्ला, असम्बन्धित व्यक्तिले प्रयोग गरे दुरुपयोग होला तर अब त्यस्ता केही नियमहरू परिमार्जन गर्नुपर्छ, केहीलाई आवश्यकताअनुसार फेर्नुपर्छ । राष्ट्रसेवक कर्मचारी वा नेतालाई राज्यले सुविधा प्रदान गर्ने हो भने चौबिसै घण्टा सातै दिन प्रयोग गर्न पाउने गरी किन नदिने ? हामीहरू यस्तै अत्यन्तै झिनामसिना कुराहरूमा अल्झिएर बहस गरिरहेका हुन्छौँ जहिले पनि । जब यस्ता झिनामसिना कुराहरूमा अल्झन्छौँ त्यतिखेर दूरगामी प्रभाव पार्नसक्ने महत्वपूर्ण मुद्दाहरू ओझेलमा परिसकेका हुनसक्छन्, जसमा हाम्रो नजर पुग्दैन ।

मन्त्री अर्यालसँग मेरो राजनीतिक मत भिन्नताहरू छन् । उनी कम्युनिष्ट हुन् । म नेपाली कांग्रेसको क्रियाशील सदस्य हुँ । वैचारिक रूपमा उनीसँग सधैँ निश्चित दूरीमै रहे पनि पछिल्लो समय उनीमाथि जसरी यौटा झोलाको विषयलाई लिएर प्रहार भइरहेको छ त्यस्तो कुनै पनि पार्टीको नेतामाथि गरिनु हँुदैन भन्ने मेरो मान्यता हो ।

निर्वाचनमा अर्याललाई खुलेरै समर्थन गरेका थिए स्याङ्जाली कांग्रेसहरूले, किनभने नेपाली कांग्रेसका मतदाताहरू गोपालमान श्रेष्ठको उम्मेदवारीसँग आजित भएका थिए । परिणामस्वरूप उनीहरूले समानुपातिकतर्फको मत रुखमा दिए पनि प्रत्यक्ष तर्फको मत भने अर्याललाई दिएर चुनाव जिताएका हुन् । यस हिसाबले अर्यालको आलोचना गर्ने अधिकार जनतालाई छ तर कतिसम्म सानो विषयलाई लिएर आलोचना गर्ने ? यो बटमलाइन भने तय हुनु आवश्यक छ ।

ब्यागको मामिलामा कर्मचारीहरू पनि असहयोगीजस्ता देखिए । शीर्षक राख्दा ‘मन्त्रीको लागि’ भन्ने ठाउँमा मन्त्रालयको प्रयोगको लागि लेखेर टिप्पणी उठाउन सक्थे तर त्यसो गरिएन । किन गरिएन त ? त्यो टिप्पणीमै खोट छ । यो विषयमा पछि बिलको कुरा उठोस् र मन्त्रीको नाम विवादमा आओस् भन्ने नियतले नै उठाएको टिप्पणीजस्तो देखिन्छ । तसर्थ यौटा साधारण झोला जुन एकजना मन्त्रीलाई आवश्यक परेर मन्त्रालयले किन्यो र प्रयोगमा आयो त्यस विषयलाई अतिरञ्जित नगर्ने कि ? सानो कुरालाई ठूलो इस्यु बनाएर अरूलाई खेद्ने र आत्मरतिमा रमाउने बानी छोड्ने कि ?

किनभने जोसुकै नेता भए पनि त्यस्ता ससाना सुविधा त लिइरहेकै हुन्छन् नि, हैन र ?

 

कभर फोटोमा प्रयोग गरिएको  फोटो लोकान्तर अनलाइनबाट लिएका हौं