रक्षाबन्धनको दिन रिलिज हुने ‘रक्षाबन्धन’ भन्दा ‘लाल सिंह चड्ढा’ अघि

रक्षाबन्धनको दिन रिलिज हुने ‘रक्षाबन्धन’ भन्दा ‘लाल सिंह चड्ढा’ अघि


आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ ११ अगस्ट अर्थात भोलि शुक्रबार रिलिज हुँदैछ । हालसम्मको प्रि–बुकिङको अवस्था हेर्दा लाल सिंह चड्ढा यो वर्षको सबैभन्दा ठूलो ओपनिङ गर्ने बलिउड फिल्म बन्ने छ ।

यसवर्ष अहिलेसम्मको बक्स अफिसमा कार्तिक आर्यनको ‘भूल भुलैया २’ ले २०२२ मा रिलिज भएका हिन्दी फिल्महरूमा उत्कृष्ट ओपनिङ पाएको थियो । कार्तिक आर्यनको कमेडी हरर फिल्मले पहिलो दिन १३.४१ करोडको व्यापार गरेको थियो । जबकि आमिर खान र करीना कपूर खानको ‘लाल सिंह चड्ढा’ले यो आँकडा प्रि–बुकिङमै पार गरिसकेको छ ।

सामाजिक सञ्जालमा फिल्म बहिष्कारको माग धेरै भइरहेका बेला आमिर खानले पनि दर्शकलाई हात जोडेर आफ्नो फिल्म बहिष्कार नगर्न अपील गरिरहेका छन् । आमिर खानले भनेका छन् कि यदि उनको कुनै पनि शब्दले मानिसहरूलाई चोट पु¥याएको छ भने, त्यसको लागि आफु माफी माग्ने र मनमा बिना कुनै शंका–उपशंका नराखी आफ्नो फिल्म हेर्न आईदिन दर्शकहरूलाई आग्रह गरेका छन् ।  लाल सिंह चड्डा शुक्रबार अक्षय कुमारको रक्षा बन्धनसँग भिड्नेछ ।

शुक्रबार हिन्दु धर्मालम्बीहरुको पर्व रक्षाबन्धन पर्व मनाइँदैछ । तर दाजुभाइ दिदी बहिनीको पहिलो रोजाइको फिल्म भने ‘लालसिंह चड्डा’ रहेको प्रि–बुकिङ तथ्यांकले देखाएको छ । अद्वैत चन्दनको निर्देशनमा बनेको ‘लालसिंह चड्डा’ ले मंगलबारसम्म अग्रिम बुकिङसहित ९५ हजार टिकट बिक्री गरेको थियो ।

यस हिसाबले फिल्मले अग्रिम बुकिङबाट मात्रै करिब ११.५ करोड रुपैयाँ कमाएको छ । अमिरको लालसिंह चड्डाको तुलनामा अक्षय कुमारको ‘रक्षा बन्धन’ ले अग्रिम बुकिङबाट ४.५ करोड मात्र प्रि–बुकिङ मार्फत कमाएको छ ।

‘केजीएफ २’ ले हिन्दीमा पहिलो दिन ५२.३९ करोड कमाएको थियो

कोरोना महामारीपछि सिनेमा हलको कमाइको गणित फेरिएको छ । सन् २०२१ मा रिलिज भएको अक्षय कुमारको ‘सूर्यवंशी’ ले पहिलो दिन २६.११ करोडको व्यापार गरेको थियो । यो फिल्म दीपावलीको अवसरमा रिलिज भएको हो ।

त्यहि हिसावमा सन् २०२२ लागेयता अहिलेसम्म कुनै पनि हिन्दी फिल्मले २० करोडभन्दा माथिको ओपनिङ गर्न सकेको छैन । जहाँ यो वर्ष रिलिज भएको साउथको ‘केजीएफ च्याप्टर २’ ले हिन्दी संस्करणमा पहिलो दिन ५२.३९ करोड कलेक्सन गरेको थियो ।

त्यस्तै, एसएस राजामौलीको आरआरआरले हिन्दी संस्करणमा पहिलो दिन १९.३८ करोड रुपैयाँ कमाएको थियो । ‘लाल सिंह चड्डा’को बजेट करिब १८० करोड रहेको छ । फिल्म देशभरका करिब ३५ सय स्क्रिनमा रिलिज हुँदैछ । आमिर खान चार वर्षपछि पर्दामा फर्किरहेका छन् । 
 

Logo