चीनले नेपाललाई १५अर्बभन्दा बढी आर्थिक सहयोग गर्ने

चीनले नेपाललाई १५अर्बभन्दा बढी आर्थिक सहयोग गर्ने


चीनले नेपाललाई १५अर्बभन्दा बढी आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । 

परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच भएको भेटमा नेपाललाई सहयोगको प्रतिवद्धता भएको हो । तीन दिने चीन भ्रमणका रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच बुधबार भेटवार्ता भएको थियो । येल्लो सी रहेको तटीय सहर छिङ्दाओमा परराष्ट्रमन्त्री खड्काले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा रसुवागढी–केरुङ सीमापार रेलमार्ग विस्तारलगायत पूर्वाधार विकासका क्षेत्रमा महत्वपूर्ण सहमति भएको हो ।प्रतिनिधिमण्डलस्तरीय वार्ताका क्रममा व्यापार, कनेक्टिभिटी, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, कृषि, विपद् व्यवस्थापन, शिक्षा, संस्कृति र जनस्तरको अन्तरक्रिया लगायतका क्षेत्रमा सहकार्य बढाउने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीनले सन् २०२२ का लागि नेपाललाई १५ अर्ब रुपैयाँभन्दा बढी सहयोग गर्ने भएको छ । विदेशमन्त्री वाङ यीले नेपाललाई ८०० मिलियन आरएमबी (१५ अर्ब १३ करोड रुपैयाँ बढी) सहयोग गर्ने घोषणा गरेका हुन् । भेटवार्तामा नेपाल–चीन सीमापार विद्युतीय प्रशारण निर्माणबारे पनि छलफल भएको थियो । वाङले विद्युतीय प्रशारण लाइन निर्माणमा पनि आर्थिक सहयोग गर्ने जनाएको मन्त्रालयले बताएको छ ।

परराष्ट्रमन्त्री खड्काले देशका विभिन्न भागमा विपद् र प्राकृतिक प्रकोपबाट पीडित जनताका लागि सहयोगका लागि आग्रह गरेकोमा चीनले नेपाललाई ५ करोडभन्दा बढी रुपैयाँ बराबरको राहत सामग्री दिने घोषणा विदेशमन्त्री वाङले गरेका छन् । त्यसैगरी चीनले नेपाललाई ३ करोड ७८ लाखभन्दा बढी रुपैयाँ बराबरको बेग्लै चिकित्सकीय सामग्री उपलब्ध गराउने समेत जनाएको छ ।

चीनले काठमाडौँ चक्रपथ सुधार आयोजनाको दोस्रो चरणको निर्माण कार्य छिट्टै सुरु गर्ने नेपाली प्रतिनिधिमण्डललाई आश्वासन दिएको छ । नेपाली पक्षको आग्रहमा चिनियाँ पक्षले नेपाललाई रासायनिक मल उपलब्ध गराउने र नेपालमा रासायनिक मल कारखाना स्थापना गर्नका लागि सम्भाव्यता अध्ययन गर्न विचार गर्ने आश्वासन पनि दिएको छ ।

भेटमा विदेश मन्त्री वाङले चीन फर्कन चाहने बाँकी रहेका नेपाली विद्यार्थीहरूले स्वास्थ्य प्रोटोकल पूरा गर्दै प्रवेशाज्ञा प्रक्रिया अघि बढाउन र आफ्नो अध्ययन पुन: सुरु गर्न सक्ने पनि बताएको छ । परराष्ट्रमन्त्री खड्का चीन भ्रमण सकेर आज स्वदेश फर्कँदै छन् ।

Logo