नेपालमा भारतको विद्युत् आयात घट्दै, निर्यात बढ्दै

नेपालमा भारतको विद्युत् आयात घट्दै, निर्यात बढ्दै


स्वदेशी बिजुलीबाट वर्षायामको माग धान्न सकिने भएपछि भारतबाट हुने विद्युत् आयात क्रमश: घट्दै गएको छ । 

अघिल्लो आर्थिक वर्ष ०७७-७८ मा नेपालले भारतबाट २१ अर्ब ५० करोड ५० लाख रुपैयाँ बराबरको बिजुली किनेको थियो । त्यो रकम गत आर्थिक वर्ष करिब आधाले घटेको छ । गत आर्थिक वर्ष ०७८-७९ मा बिजुली आयात ११ अर्ब ५८ करोड २० लाख रुपैयाँमा सीमित देखिन्छ ।

अघिल्लो आर्थिक वर्ष २०७७-०७८ मा ४ करोड ४० लाख युनिट विद्युत् निर्यात भएकामा गत आर्थिक वर्ष ०७८-७९ मा ४९ करोड ३० लाख युनिट निर्यात भएको छ । गत वर्ष विद्युत् निर्यातबाट प्राधिकरणले ३ अर्ब ८८ करोड रुपैयाँ आम्दानी गरेको छ । यसरी एकातिर बिजुली आयात घटिरहँदा निर्यात भने बढिरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणको तथ्यांक हेर्दा अहिले नेपालको कुल विद्युत् जडित क्षमता २२ सय मेगावाट बराबर छ । अर्थात् उक्त परिमाण बराबरको बिजुली उत्पादन गर्ने आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएका छन् । हालसम्मको विद्युत् पिक डिमान्ड १ हजार ७ सय ४७ मेगावाट बराबर छ । अर्थात् नेपालले बिजुली खपत गरेको हालसम्मको सबैभन्दा उच्चतम बिन्दु १७ सय ४७ मेगावाट बराबर हो ।

वर्षायाममा हुने बिजुली उत्पादनको तुलनामा पिक डिमान्ड कम भएकाले निर्यात सम्भव भएको हो । वर्षायाममा जलविद्युत् आयोजनामा पानी बढ्ने भएका कारण उत्पादन बढ्छ भने हिउँदमा पानीको सतह घट्दा उत्पादन पनि घट्छ । जसकारण वर्षायाममा नेपालमा उत्पादित बिजुलीले आन्तरिक माग धानेर बेच्नसमेत थालिएको छ भने हिउँदयाममा अहिले पनि आयात गर्नुपर्ने अवस्था छ । 

यद्यपि आन्तरिक उत्पादन बढ्दै जाँदा एकातिर बिजुली आयात घटेको छ भने अर्कोतिर निर्यात बढिरहेको छ, जसले नेपालको विद्युत् व्यापार घाटा क्रमश: घट्दै गएको छ । गत आर्थिक वर्ष ०७८-७९ मा भारततर्फको विद्युत् निर्यात बढेको छ भने आयात घटेको छ । अहिले नेपालमा खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रूपमा अधिकतम ३६४ मेगावाट बराबर भारततर्फ निर्यात भइरहेको छ ।

कान्तिपुरबाट

Logo