मनको भारी मनमै साच्ने भरिया दाइ, सोचे झैं जिन्दगी रैनछ !

मनको भारी मनमै साच्ने भरिया दाइ, सोचे झैं जिन्दगी रैनछ !


काठमाडौंमा भेटिने हरेक मानिस हरपल व्यस्त भेटिन्छन् ।

देशका हरेक कुनाबाट सुन्दर भविष्य र पैसा कमाउन यहाँ आइपुगेका उनीहरु जीवन जिउनका लागि काम गरिरहेका हुन्छन् । कोही आफैले सुरु गरेको काम गर्छन् भने कोही अर्काको काम गर्दै दैनिक अथवा मासिक तलबका लागि दुःख गरिरहेका भेटिन्छन् । कोही धेरै पढेर पनि काम पाइरहेका छैनन् भने कसैलाई जति काम गरेपनि पुगिरहेको छैन ।

कसैलाई सानोतिनो कामबाट पनि मनग्गे आम्दानी भइरहेको छ भने कोही जति मेहनत गरे पनि सफलता हासिल गर्न नसकेकोमा निराश भेटिन्छन् । गाउँबाट 'नेपाल' छिर्नेहरुमा हरेकका आ-आफ्नै कथा छन् । व्यथा छन् । सहरिया जीवन विताउँन आफ्नो गन्तव्यको खोजीमा आएर सहरको गल्लीदेखि चोकसम्म भौतारिन्छन् । यहीँ चोकको गल्ली-गल्लीभित्र आएर संघर्ष गर्नेमा एक हुन् विष्णु बस्नेत । 

दोलखाका विष्णु सानै उमेरमा सपनाको सहर काठमाडौं छिरे । काठमाडौं आउँदा उनको उमेर मात्र १२ वर्षको थियो । उनलाई ठ्याक्कै महिना र गते भने थाहा छैन । तर शनिबार भने सम्झन्छन् । ऊ बेला पनि असन-ईन्द्रचोकको त्यो व्यस्त बजार भित्र छिर्दा हराएको उनले भुलेका छैनन् । ४० वर्षदेखि वसन्तपुर, असन, ईन्द्रचोक, रत्नपार्कभित्रको ठेलमठेल जीवन बिताएका विष्णुले कुनै ठूलो सपना सजाएका छैनन् । त्यहीँ भएर त उनी आफ्नै पेसामा खुशी छन् ।

उनको नाम्लोले कतिको भारी पिठ्युँमा अड्यायो, कतिको बोझ टाउको झुन्ड्यो तर पनि उनीमा कहिले पनि महत्वकांक्षा पलाएन । न बिदेश जाने रहर बढ्यो न कि गाउँ फर्कने हटहुटी नै जाग्यो । बस सपना एउटै बनिरह्यो, हरेक दिन कसरी चलाउने ? श्रीमती र छोराछोरीको पेट कसरी भर्ने ? भन्छन्, जसले ठूलो सपना देख्छ र महत्वकांक्षा ठूलो बनाउछ नि, हो उसैले हो दुःख पाउने र बढी मेहनत गर्नुपर्ने । मेरो न ठूलो सपना छ न कि महत्वकांक्षा नै । मलाई पेट पाल्न छ अनि आङ भरी निदाउनुछ । 

विष्णुलाई इन्द्रचोक र असनका गल्लीगल्लीमा भेटिन्छ । कहिले आफुभन्दा ठूलो भारी बोकेको अवस्थामा त कहिले कमिजले पसिना पुछ्दै गरेका बेला । कहिले कामविहीन बनेर निराश भएको बेला त कहिले सोचेभन्दा बढी नै आम्दानी भएर पुलकित भएका बेला । तर जति बेला भेटिन्छन्, उनको अनुहारमा एक प्रकारको खुशी र चमक भने प्रष्ट देखिन्छ । जसले आफैलाई हौसाइरहन्छ । 

उनी विहान ६ बजिनसक्दै बसन्तपुरबाट इन्द्रचोक पुग्छन् । अनि कुरिरहन्छन् कसैको भारी बोक्नलाई । उनको खान र बस्नको केही टुङ्गो छैन । नत घामपानीको वास्ता नै गर्छन् । ध्यान दिन्छन् त केबल आफ्नो कामलाई । विहानको भालेको डाक सँगै उठ्छन् । अनि नाम्लोसँगै सुरुवात हुन्छ उनको दिन । २०५१ सालदेखि उनी यही काम गरेर आफ्ना १ छोरी र १ छोरालाई पढाउँनुका साथै घर खर्च पनि टारिरहेका छन् । जति हुन्छ त्यतिमै सन्तुष्टि मानेका छन् । 

उनी कहिले विद्यालय गएनन् । नत चिने अक्षर नै । आधासताब्धी उमेर काटिसक्दा उनलाई हिजोआज लाग्छ, अक्षर चिनेको भए बुढेसकालमा भारी बोक्ने पेसा परिवर्तन गर्न सकिन्थ्यो । उनका हड्डीले काम गर्न छाड्ने भएपछि पनि पेट भर्न समस्या हुने थिएन । तर बगेको खोला र वितेको समय कहाँ फकिन्छ र ? 

फेरियो सहर, सहरभित्रका गल्लि, अनि आफूले सँधै काम गर्ने इन्द्रचोक । फेरिए सहरका मानिस तर उनको जीन्दगी कहिल्यै फेरिएन । बस फेरियो त केबल पहिले र अहिलेको समय अनि उनले गर्ने काम । भन्छन्, ‘सानो हुँदा नै काठमाडौं आएको म सुरुमा के नै काम पाउँथेर । विरानो सहरमा नत कोही आफ्नो थियो नत चिनेको नै कोही थियो । एउटा होटलमा काम गर्न थालेर केही वर्ष त्यहीँ काम गरे । त्यसपछि २०५१ सालदेखि अहिलेसम्म यहीँ भारी बोक्ने काम नै गरिहेको छु । यहीँ प्यारो लाग्छ । विहान नै आएर वस्छु । वेलुकासम्म ४ सय रुपैयाँदेखि ७ सयसम्म हुन्छ । त्यसैमा सन्तुष्ट छु । सहर बजार पहिलेको भन्दा फरक भैसक्यो तर हामी नाम्ले ( भरिया) को जीवन यसमै गयो । कसैले केही गरेन ।’

उनले काम गर्न २८ वर्षभन्दा बढी भैसक्यो तर उनी नत कुनै संस्थामा आवद्ध छन् नत राजनीतिमा नै । अरु साथीहरु मजदुर संघमा आवद्ध भएर पैसा तिरिरहेका छन् भने उनी केहीमा आवद्ध छैनन् । उनी त केवल आफ्नो घरको बारेमा मात्र सोचिइरन्छन् । काठमाडौले उनलाई यो समयसम्म धेरै कुराहरु सिकाएको छ । भूकप्प आउँदाको त्यो कोलाहल मच्चिएको वातावरण मात्र हैन आँखै अगाडि मानिस मरेको पनि देखेका छन् । महामारी भोगेका छन् । रोगसँग लडेर जितेका छन् ।

अनि भोकभोकै सहरमा लडेका मानिस देखेका छन् । उनले सबै कुरा देखेका छन् । भन्छन्, ‘यो सहरमा आएर अहिलेसम्म धेरै दुःख गरेँ होला तर पनि केही उपलब्धी हुन सकेन । अब यति कामना छकी छोराछोरी राम्रो ठाउँमा पढेर पुगुन् । छोरी १० मा र छोरा ११ मा पढ्छ ।’
अरुको घरमा काम, होटलको भाडा माझ्ने कामदेखि सुरु भएको उनको संघर्ष भारी बोकेर कहिले अन्त्य हुने हो उनलाई थाहाँ नै छैन ।

उनी त केबल आफ्नो बल, शक्तिले भ्याउन्जेलसम्म त्यहीँ काम गरिरहन्छन् । आफ्नो काम बाँहेक अरु कसैको मतलब राख्दैनन् । कसैले आएर चिया खान जाउँ भन्दा पनि उनी आफ्नो मेहेनत बाहेकको अरु कसैले दिएको कुरा झट्ट खाई हाल्दैनन् । उनी मात्र हैन उनी जस्ता धेरै भरियाहरुको आफ्नै कथा लुकेको छ । नत उनीहरुको कथा सुनिदिने कोही छ न त उनीहरु आफ्नो कथा अरुलाई सुनाउँन चाहान्छन् ।

असन, इन्द्रचोक, रत्नपार्क, न्युरोड जस्ता भिडभाड हुने ठाउँमा मानिसहरु बजार देख्छन्, बजारमा पसल, पसलमा भीड र भीडमा मानिस देख्छन् । तर, त्यही भिडमा हराएर आफ्ना कुरा लुकाएका मानिस कहिल्यै देख्दैनन् । उनीहरु भित्रको पीडा कसैले देख्दैन अनि उनीहरुको मनको भाव कसैले पढ्दैन । 

Logo