नेप्सेमा गीरावट, २ अर्ब पनि पुगेन कारोबार रकम

नेप्सेमा गीरावट, २ अर्ब पनि पुगेन कारोबार रकम


लगातार पाँचौं कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से २७.९२ अंक (१.३७)प्रतिशतले गिरावट भएर २०१०.०१ अंकमा बन्द भएको छ ।

२० साउनमा सामान्य बढेर बन्द भएको नेप्से त्यसपछि कारोबार भएको ५ दिन नै घटेको हो । नेप्सेसँगै सबै उपसूचक र कारोबार रकम पनि घट्दो क्रममा गएको छ । आइतबार सबै उपसूचकमा गिरावट हुँदा उत्पादनमुलक उपसूचक ३.५८ प्रतिशतले गिरावट भएको छ । यता लगातार तेस्रो कारोबार दिन पनि कारोबार रकम २ अर्बबाट तल झरेको छ । गत मंगलबार २ अर्ब ८१ करोडको कारोबार भएको बजारमा बुधबार १ अर्ब ९४ करोड र बिहीबार १ अर्ब ७६ करोडको कारोबार भएको छ ।

बिहीबारको तुलनामा कारोबार रकम केही बढे पनि आइतबार कारोबार रकम २ अर्बभन्दा तलै बसेको छ । आइतबार बजारमा ४५ लाख ५९ हजार २२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८७ करोड ३२ लाख ८२ हजारको कारोबार भएको छ । जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक १६ करोड ५३ लाख ९७ हजार र नेपाल लाइफको ११ करोड २९ लाख ११ हजारको कारोबार भएको छ ।

गत आर्थिक वर्षमा अपेक्षाकृत मुनाफा कमाएको वित्तीय विवरण सार्वजनिक नगर्दा दुवै कम्पनीको सेयरमूल्य उच्च गिरावट भएको छ । तर, घटेको मूल्यमा कम्पनीका सेयर किन्ने लगानीकर्ता आकर्षित हुँदा कारोबार उच्च भएको हो ।

Logo