किन हुँदैन डीएनए टेस्ट ?

किन हुँदैन डीएनए टेस्ट ?


कुमारी आमा भनिएकी निहारिका राजपुतको मुद्धाले नयाँ मोड लिएको छ ।

सामाजिक सञ्जालमा उनका निजी तस्बीर सार्वजनिक भएपछि उनको आलोचना सुरु भएको छ ।  राष्ट्रपति कार्यालय अगाडि आत्मदाहको प्रयास गरेकी निहारिका आफ्नो छोराको डिएनए परिक्षणको माग राख्दै लामो समयदेखी अनसनमा थिइन् । विगत २९ महिनादेखि  न्यायको लागि भौतारिरहेकी कुमारी आमा भनिएकी निहारिका राजपुतको मुद्धाले नयाँ मोड लिएको छ ।

अभिनेत्री  करिश्मा मानन्धरले सामाजिक सञ्जालमा राजपुतका पुराना निजी तस्बिरहरु सार्वजनिक गरेपछि उनको चौतर्फी आलोचना भएको छ । करिश्माले निहारिका बलात्कृत नभएको आसय व्यक्त गर्दै समाजिक संजालमा स्टाटस सहित उनका तस्बिरहरु सार्वजनिक गरेकी हुन् । उनले सार्वजनिक गरेको तस्बिरमा निहारिका आफ्नो ’प्रेमी’ शिवराज श्रेष्ठसँग देखिन्छिन् ।

उनी गर्भवती अवस्थामा पनि देखिन्छिन् । सामाजिक सञ्जालमार्फत करिश्माले तस्बिरहरु सेयर गर्दै आफूले नबुझी निहारिकालाई सहयोग गर्न अघि सरेको भन्दै माफी समेत मागेकी छन् । उनी लेख्छिन्, ‘यो केसको स्वरुप थाहा नपाइ सहयोग गर्न अगाडि सरेकोमा सबैसंग माफी चाहान्छु । अब उपरान्त भोकोलाई खाना र नाङ्गोलाई लुगा बाहेक रुपैयाको  सहयोग गर्न म सक्दिन ।

निहारिका को सडकको बिजोग हेर्न नसकेर अगाडि बडे !! निहारिका ! आमा,बुवासंग माफी माग । बच्चालाई असर पर्छ,तिम्रो जीवनमा असर पर्छ आफुलाइ दुख नदेऊ । कति नावालिक जो साच्चिकै पिडित छन तिनको मुद्दामा असर पर्छ । राज्य , न्याय पालिकाले यो केसको गहिरो छानबिन गरोस् । म भ्रममा परेको हु कि ? तर सधै सत्य को  साथमा छु । यो सब हेरे पछि के गरु म ????’

न्यायको माग गर्दै अनसन बस्दै आएकी निहारिकालाई यसअघि करिश्माले छोरीका रुपमा लिँदै उनी र उनका छोराको लालनपालनका लागि आफू तयार रहेको घोषणा समेत गरेकी थिइन् । पछिल्लो समय साउन २० देखि न्यायको माग गर्दै अनसनमा रहेकी निहारिकाले शुक्रबार राष्ट्रपति कार्यालयअघि पुगेर आत्मदाहको प्रयास गरेकी थिइन् । आत्मदाहका लागि आफ्नै शरीरमा पेट्रोल छर्किरहेकै अवस्थामा प्रहरीले उनलाई बचाएका थियो । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले निहारिकाको मुद्दाबारे चासो लिएकी छन् ।

शुक्रबार आफ्नै कार्यालय शीतल निवासअगाडि निहारिकाले आत्मदाहको प्रयास गरेपछि शनिबार यसबारे राष्ट्रपतिले चासो देखाएकी हुन् । राष्ट्रपति भण्डारीले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी) र महान्यायाधिवक्ता खम्मबहादुर कार्कीलाई बोलाएर मुद्दाबारे जानकारी लिएकी छन् ।

शनिबार काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले त्रिवि शिक्षण अस्पतालमा रहेकी निहारिका राजपुतलाई भेटेका छन् । मेयर शाहले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् तस्बिर राख्दै भनेका छन्, ’आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।’

जलेश्वर नगरपालिका–८ महोत्तरी घर भएकी २१ वर्षीया निहारिका आफूमाथि बलात्कार भएको भन्दै झण्डै अढाइ वर्षदेखि न्यायका लागि भौंतारिंदै आएकी छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ का २२ वर्षीय शिवराज श्रेष्ठले आफूलाई बलात्कार गरेको उनको आरोप छ । सोही बलात्कारबाट गर्भ रहेर जन्मिएको दुई वर्षीय बच्चासमेत उनको साथमा छ ।

निहारिका धनुषाको जनकपुरधाममा डेरा बसी होटल म्यानेजमेन्ट पढ्दै थिइन् । त्यसपछि धनुषाकै क्षीरेश्वरनाथ नगरपालिका–३ की एक साथीसँग उनको निकट मित्रता भयो । उनले निहारिकालाई सधैंजसो आफ्नो घर लग्थिन् । त्यही क्रममा ती साथीका दाइ २२ वर्षीय शिवराज श्रेष्ठसँग निहारिकाको चिनजान भयो । २०७६ कात्तिक ६ गते शिवराजले नशालु पदार्थ खुवाएर आफूलाई बलात्कार गरेको निहारिकाले बताउने गरेकी छन् ।

त्यसपछि २०७६ फागुन १९ मा शिवराजविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएकी थिइन् । जसमा ‘ललाइफकाई बन्धक बनाएर बलात्कार गरेको’ व्यहोरा उल्लेख छ । जाहेरी दर्तापछि शिवराजलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि जेल चलानसमेत गरेको थियो । यही क्रममा २०७७ भदौ ५ गते निहारिकाले गर्भबाट छोरो जन्माएकी थिइन् ।

२०७८ माघ २४ मा जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराम भट्टराईको इजलासले अन्तिम फैसला ग¥यो । जुन फैसलाले निहारिका बलात्कृत नभएको भन्दै शिवराजलाई सफाइ दियो । ‘प्रतिवादीका साक्षी र स्वयंवादीको घटना विवरण र घटनास्थल मुचुल्कामा बस्ने साक्षीसमेतले प्रतिवादी निर्दोष छन् भनी अदालतमा बकपत्र गरेको र प्रतिवादी स्वयंले पनि जबर्जस्ती करणी गरेकोमा इन्कारी बयान गरेको अवस्था हुँदा यो जबर्जस्ती करणी मुद्दा स्वतन्त्र भरपर्दो प्रमाणको अभावमा स्थापित हुन सक्ने देखिएन्,’ फैसलामा भनिएको छ, ‘तसर्थ, प्रतिवादीले अभियोग दाबीबमोजिम कसुर अपराध गरेको मान्न र भन्न नमिल्ने हुँदा प्रस्तुत मुद्दाबाट निज प्रतिवादी शिवराज श्रेष्ठले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ ।’

यही फैसलापछि अभियुक्त श्रेष्ठ थुनामुक्त भएका थिए । उता निहारिकाले फैसलाबाट आफूलाई अन्याय भएको भन्दै अदालत परिसरमै अनसन सुरू गरेकी थिइन् । यसै क्रममा उनले २०७८ फागुन १२ गते उच्च अदालत जनकपुरमा मुद्दा पुनरावेदन गरेकी छन् । तर, त्यहाँ मुद्दाको ढिलाई हुन थालेपछि जेठ मसान्तमा काठमाडौं पुगेर अनसन थालिन् । उक्त अनशनमा उनले ५ बुँदे माग राखेकी थिइन् ।

जसमा पहिलो बच्चाको डिएनए टेस्ट, दोस्रोमा उच्च अदालतमा पेसी तोकी बच्चा र आमालाई सुरक्षित गरिदिनुपर्ने, तेस्रो, मुद्दाको पुनः अनुसन्धान हुनुपर्ने, चौथो फितलो अनुसन्धान गर्ने प्रहरी प्रशासन, प्रहरी अधिकृतहरू, न्यायाधीशमाथि पनि छानबिन हुनुपर्ने र पाँचौमा बच्चाको लालनपालन हेरचाह, स्वास्थ्योपचार, शिक्षा आदि आधारभूत कुरा राज्यले सुनिश्चित गरिदिनुपर्ने उनको माग छ ।

अनसन नै गर्न थालेपछि असार २ गते उच्च अदालत जनकपुरधामले पहिलो सुनुवाइ गर्दै प्रत्यासी शिवराजलाई झिकाउन आदेश गरेको थियो । त्यसको दोस्रो दिन सरकारी पक्षसँग पाँचबुँदे सहमति भएपछि निहारिकाले अनशन तोडेकी थिइन । गृहमन्त्री बालकृष्ण खाँडले नै जुस पिलाएर अनशन तोडाएका थिए । यो सहमति भएको डेढ महिना नाँघ्दा पनि सरकारले सहमति कार्यान्वयन नगरेपछि निहारिकाले साउन २० गतेदेखि फेरि संघर्ष सुरु गरेकी छन । यसै क्रममा सुरुकै दिन उनी सिंहदबार अगाडि अनशन बस्न पुगेकी थिइन् ।

सिंहदरबारको दक्षिण गेट पुगेकी उनलाई त्यहाँबाट प्रहरीले हटाएको थियो । उनी साउन २२ गते सर्वोच्च अदालतको गेटमा अनशन बस्न गइन्, त्यहाँबाट पनि प्रहरीले हटायो । उनी अन्य समय त्यहीं अनशन बस्दै आएकी थिइन्, जहाँ प्रहरीले पहरा पनि दिँदै आएको थियो ।
यसरी एक सातादेखि अनशनमा रहेकी निहारिका शुक्रबार प्रहरीको आँखा छलेर सुटुक्क शीतलनिवास अघि पुगेकी थिइन् ।

आत्मदाहको योजनासहित हिँडेकी उनले दुई बोतलमा पेट्रोल र लाइटर समेत लगेकी थिइन । यसरी निहारिका शीतलनिवासतिर गएको सूचना पाएपछि प्रहरी हाइअलर्टमा थियो । शीतलनिवास पुग्नासाथ निहारिकाले शरीरमा एक बोतल पेट्रोल खन्याइन् र अर्को खन्याउने तयारी गर्दा प्रहरीले उनलाई समातिहाल्यो । प्रहरीले उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा लगेर राखेको छ । चिकित्सकले उनमा मानसिक समस्या देखिएको भन्दै उपचार कक्षमा राखेका छन् । निहारिकाकी साथी र उनको छोरा पनि प्रहरी नियन्त्रणमा छन् ।

Logo