विवाह गरेको दुई महिनामै श्रीमानविरूद्ध जवरजस्ती करणी मुद्दा

धरान । विवाह गरेको दुई महिनमै एक महिलाले आफ्नै श्रीमानविरूद्ध जवरजस्ती करणी मुद्दा हालेकी छन् । टेम्के मैयुङ गाउँपालिका भोजपुरकी एक १७ वर्षीया महिलाले आफ्नै श्रीमानविरूद्ध जवरजस्ती करणी मुद्दा हालेकी हुन् ।

आफ्नै श्रीमतीमाथि जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले सुनसरी धरान उपमहानगरपालिका(६ का २१ वर्षीय युवराज कार्कीलाई पक्राउ गरेको छ ।

ति महिलाले श्रीमान कार्कीले जबरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय धरानमा जबरजस्ती करणी गरेको किटानी दिएपछि प्रहरीले कार्कीलाई पक्राउ गरेको हो।

प्रहरीले ति महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरेको छ । उनीहरुबीच गत वैशाख २७ मा मागी विवाह भएको थियो । घरमा भित्राइएदेखि नै आफूविरुद्ध कुटपिट गरी जबरजस्ती करणी गरेको भन्दै स्थानीय महिलाको सहयोगमा इलाका प्रहरी कार्यालय धरानमा जबरजस्ती करणी गरेको किटानी जाहेरी दिएकी हुन्।

श्रीमानविरुद्ध मुद्धा दर्ता गरेकी उनी हाल आफन्तकोमा बस्दै आएकी छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले युवराजविरुद्धको जाहेरी दर्ता गरी आवश्यक कारबाही प्रक्रिया अगाडी बढाइएको बताए।

युवराजले श्रीमतीसँगको सामान्य झगडा भएको बताउँदै स्थानीय महिलाको उक्साहटमा लागेर आफूविरुद्ध मुद्धा हाली फसाउन खोजेको आरोप लगाएका छन् । श्रीमान श्रीमतीबीच सामान्य झै झगडा भएको उनको भनाई छ । आफुले जबरजस्ती करणी नगरेको दाबी गर्दै सहमतीमै शारीरिक सम्बन्ध हुने गरेको प्रहरीसँगको दिएको प्रारम्भिक बयानमा भनेका छन् ।

गत भदौंबाट लागू भएको नयाँ कानून अनुसार श्रीमतीको इच्छाविपरित शारीरिक सम्र्पक राख्न अपराध मानिन्छ । यस्तो अवस्थामा बैवाहिक बलात्कार मान्दै श्रीमानलाई पाँच वर्षको जेल सजाय हुने व्यवस्था छ ।