‘तीन शून्य’ लक्ष्य हासिल गर्न प्रतिबद्ध छौंः यूएनएफपीए

‘तीन शून्य’ लक्ष्य हासिल गर्न प्रतिबद्ध छौंः यूएनएफपीए


संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपए)को नेपाल कार्यालय प्रतिनिधि योङ्ग होङ्गले मंगलबार आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् । परराष्ट्र मन्त्रालयद्वारा आयोजित कार्यक्रमबीच उनले ओहोदाको प्रमाणपत्र परराष्ट्रमन्त्री नारायण खड्कालाई बुझाएका हुन् । 

उक्त अवसरमा मन्त्री खड्का र योङ्गले नेपाल सरकार र यूएनएफपीएबीच ५० बर्षदेखि स्थापित सम्बन्धको महत्वबारे चर्चा गर्नुका साथै महामारी तथा युद्धका कारण सबैभन्दा धेरै प्रभावित भएका महिला तथा किशोरीलाई राष्ट्रिय विकासमा पूर्णतः सहभागि गराउन सशक्तिकरणका लागि बलियो साझेदारीमा जोड दिएका थिए । 

मन्त्री खड्काले भने, ‘‘कोभिड १९ को महामारी र जारी युद्धले विश्वब्यापीरुपमा असमानता र गरिबीलाई बढाइदिएको छ । यसले सबै नागरिकहरु, विशेष गरी महिला तथा किशोरीहरू लगायत जोखिममा परेका समूहहरूको गुणस्तरीय सेवामा पहुँच बढाउन यूएनएफपीए जस्ता साझेदार संस्थासँगको रणनीतिक समन्वय र सहकार्यको आवश्यकता औंल्याएको छ ।’’

नेपाल प्रतिनिधि योङ्गले यूएनएफपीएको म्यान्डेटप्रति नेपालको बलियो समर्थन र सन् २०१९ मा अयोजित नैरोबी ग्लोबल समिटमा जनसंख्या र विकाससम्बन्धि अन्तराष्ट्रिय सम्मेलनको दृष्टिकोणप्रति नेपाल सरकारले दोहोर्‍याएर ब्यक्त गरेको प्रतिबद्धताको प्रशंसा गरेका थिए । देशमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सुधारमा नेपाल सरकारले गर्ने प्रयासमा युएनएफपीएको सहयोग रहने उनको प्रतिबद्धता थियो ।

दिगो विकासका लक्ष्य तथा आईसीपीडीको केन्द्रमा रहेको ‘तीन शून्य’ (परिवार नियोजनका साधनहरूको पूरा हुन नसकेका माग शून्यमा झार्ने, रोक्न सकिने मातृमृत्युको अवस्था शून्यमा झार्ने तथा लैङ्गिक हिंसा र बालविवाह जस्ता हानिकारक अभ्यासहरू शून्यमा झार्ने) परिणाम हासिल गर्न दृढ रहेको योङ्गले बताए ।    

उनले भने, “यूएनएफपीएले रुपान्तरणकारी ‘तीन शून्य’को उपलब्धि हाँसिल गर्न विश्वव्यापीरुपमा महत्वकांक्षी लक्ष्य तय गरेको छ । यी लक्ष्य नेपालका लागि हाम्रो प्राथमिकता हुन् । नेपाल सरकारसँगको हाम्रो साझेदारीलाई निरन्तरता दिन हामी तत्पर छौं ।” 

अन्तर्राष्ट्रिय विकासमा १६ बर्षभन्दा बढी अनुभव संगालेका दक्षिण कोरियाका योङ्ग गत जुलाई ११ मा नेपाल आएका हुन् । यसअघि उनले मलावीमा यूएनएफपीए प्रतिनिधि र मोजाम्वीकमा डेपुटी प्रतिनिधिको जिम्मेवारी सम्हालेका थिए ।  

Skip This
Logo