निर्मला काण्डको एक वर्ष: अहिलेसम्म के-के भयो ? {भाग-१}

कृष्णसिंह धामी ।

काठमाडौं । चर्चित निर्मला पन्त काण्ड घटेको एक वर्ष पूरा भएको छ । बलात्कारपछि हत्या गरिएकी निर्मलाले अझै न्याय पाउन सकेकी छैनन् । गत वर्ष साउन १० गते साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी निर्मला साउन ११ गते मृत अवस्थामा फेला परेकी थिइन् ।

पोष्टमार्टम रिपोर्टले उनको बलात्कारपछि हत्या भएको पुष्टि गर्‍यो । घटना घटेको झण्डै एक महिनापछि बागफाँटाका दिलिप विष्टलाई अभियुक्त भन्दै प्रहरीले सार्वजनिक गर्‍यो । पछि उनी डीएनए म्याच नभएपछि रिहा भए । प्रहरीले अहिलेसम्म कसले हत्या गरेको भन्ने पत्ता लगाउन सकेको छैन । यो घटना सरकारको टाउको दुखाइको विषय बनेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीकै जिम्मेवार अधिकारी बर्खास्त र निलम्बनमा परेका छन् । उनीहरूविरूद्ध पनि अदालतमा प्रमाण नष्ट गरेको तथा यातना दिएको अभियोगमा मुद्दा चलिरहेको छ ।

निर्मला हत्याकाण्डपछि चर्किएको आन्दोलनमा एक जनाको ज्यानै गयो । स्थानीयले अनुसन्धानमा सहयोग नगरेको गुनासो तत्कालीन प्रहरी अधिकारीहरूले गर्दै आएका थिए । पछिल्लो समय प्रहरी र जनताको सम्बन्धमा सुधार आएको तथा अनुसन्धानमा सकारात्मक प्रगति भइरहेको अनुसन्धान अधिकारीहरूको भनाइ छ ।

७८ जनाको डीएनए परीक्षण
अनुसन्धानका क्रममा प्रहरीले पटक–पटक विभिन्न व्यक्तिलाई पक्राउ गरेर डीएनए परीक्षण गरेपनि निर्मलाको शरीरबाट निकालिएको स्याम्पलसँग डीएनए नमिल्दा छुट्ने गरेका छन् ।

नेपाल प्रहरीको इतिहासमा पहिलो पटक बहालवाला प्रहरी उपरीक्षक (एसपी) को समेत डीएनए परीक्षण गरियो । यतिमात्र नभएर उनका छोराको समेत डीएनए परीक्षण गरियो ।

एक हजारभन्दा बढीमाथि सोधपुछ
नेपालमा बलात्कारको घटनामा डीएनए परीक्षण गरिएको यो नै पहिलो घटना हो । शंकाको विश्वसनीय सुई प्रहरीले अझै भेट्टाएको छैन । हालसम्म ७८ जना शंकास्पद व्यक्तिहरूको डीएनए परीक्षण गरिएको छ । नेपाली सेनाका जवानदेखि राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी (सीआईडी) सम्मको रगत परीक्षणका लागि झिकिएको थियो । केही राजनीतिक दलका नेता–कार्यकर्ता, निर्मलाका आफन्तको रगतसमेत डीएनए परीक्षणका लागि लिइएको थियो ।

एक वर्षको अवधीमा प्रहरीले शंकास्पद एक हजार भन्दा बढीसँग सोधपुछ र ६ सय बढीसँग बयान लिएको छ । कल डिटेल हेर्नेदेखि शंकास्पद व्यक्तिको सामाजिक सञ्जालमाथि समेत निगरानी बढाइएको थियो ।

निर्मलाको न्यायका लागि रक्तपातपूर्ण आन्दोलन
निर्मलाको न्यायका लागि देशभर आन्दोलन भयो । आन्दोलनकै क्रममा एक जनाले ज्यान गुमाए । एक जना अझै पनि कोमामा छन् । एक दर्जनबढी घाइते भए । महेन्द्रनगरबाट सुरु भएको आन्दोलन राजधानी काठमाडौंसहित देशभर नै फैलियो ।

आन्दोलनकै क्रममा प्रहरीले गोली चलाउँदा महेन्द्रनगरका सन्नी खुनाले ज्यान गुमाए भने अर्जुन भण्डारा अझै पनि कोमामा छन् । उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ११ महिनादेखि उपचाररत अर्जुन अझै बोल्न सक्ने अवस्थामा छैनन् ।

के गर्दैछ प्रहरी ?
निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि अहिलेसम्म दर्जन बढी प्रहरी टोली कञ्चनपुरमा छन् । प्रहरी प्रधान कार्यालयले निर्मला हत्याको घटनालाई विशेष प्राथमिकता दिएर अनुसन्धान गरिरहेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसएसपी रामदत्त जोशीले यो घटनाको प्राविधिक विश्लेषण गर्दै आएका छन् ।

यतिबेला महानगरीय आयुक्तको कार्यालय, रानीपोखरीको इन्टेलिजेन्स शाखाका एसपी गणेश चन्द पनि कञ्चनपुरमै खटिएका छन् ।प्रहरी मुख्यालयले निर्मला प्रकरणलाई उच्च प्राथमिकतामा राखेको छ । यसबीचमा प्रहरीले विभिन्न विज्ञको सहयोग लिएर पनि अनुसन्धान गरेको छ । तर अझै घटनाको गुत्थी सुल्झन सकेको छैन ।

पत्रकार भण्डारीविरुद्ध चारवटा मुद्दा
निर्मला प्रकरणलाई नजिकबाट नियालिरहेका पात्र हुन्, पत्रकार खेम भण्डारी । उनी एकातिर पत्रकार र अर्कोतिर आन्दोलनकारीको भूमिका निर्वाह गर्दा यतिबेला विवादमा तानिएका छन् । उनीविरुद्ध चारवटा मुद्दा चलिरहेका छन् । उनकै कारण दिलिपसिंह विष्ट, विशाल चौधरी, प्रदीप रावल लगायतका व्यक्ति निर्दोष सावित भए ।

तर आफूहरूको चरित्र हत्या भएको भन्दै वविता बम र रोशनी बम, किरन विष्ट, अधिवक्ता विनोद भट्ट र उच्च तथा जिल्ला बार इकाइले पत्रकार भण्डारीविरूद्ध मुद्दा हाले । बारले हालेको मुद्दामा तुच्छ सजायअन्तर्गत एक घण्टा कैद र एक रुपैयाँको सजाय सुनाएको छ भने बाँकी तीन मुद्दालाई निर्मला प्रकरणसँगै हेर्ने भएको छ ।

निलम्बित प्रहरीविरुद्ध पनि मुद्दा
निर्मला प्रकरणको सुरुमा अनुसन्धान गर्ने तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी (हाल सेवाबाट हटाइएका) दिल्लीराज विष्टसहित ८ प्रहरी अधिकारीविरूद्ध मुद्दा परेको छ । प्रमाण नष्ट गरेको तथा यातना दिएको आरोपमा निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिप सिंह विष्टका दाजुले उनीहरूविरूद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा हालेका हुन् । जसमा उनीहरू सबै धरौटीमा रिहा भएका छन् ।