बिहीबार बस्ने प्रतिनिधिसभाबाटै नागरिकता विधेयक पारित गर्ने कार्यसूची

बिहीबार बस्ने प्रतिनिधिसभाबाटै नागरिकता विधेयक पारित गर्ने कार्यसूची


राष्ट्रपति विद्यादेवी भण्डारीले संदेशसहित फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट बिहीबार नै पारित गर्ने तयारी भएको छ । बिहीबारको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक पारित गर्ने कार्यसूची छ । 

प्रतिनिधिसभा नियमावलीको नियम १३६ अनुसार राष्ट्रपतिबाट पुनर्विचारको लागि सन्देशसहित विधेयक फिर्ता भएपछि सभालाई जानकारी दिइन्छ । यस्तो जानकारी संसद सचिवालयले प्रतिनिधिसभामा सोमबार नै गराइसकेको छ ।

नागरिकता विधेयकका सन्दर्भमा सरकारले फास्ट ट्रयाकबाट जाने निर्णय गरेको छ । बिहीबार गृहमन्त्री बालकृष्ण खाँडले नागरिकता विधेयकमाथि सदनमै पुनर्विचार गरियोस् भन्ने प्रस्ताव राख्नेछन् । त्यसपछि सांसदहरुले आफ्नो धारणा राख्नेछन् ।

गृहमन्त्रीले जवाफ दिएपछि विधेयक निर्णयार्थ प्रस्तुत हुनेछ । मन्त्रीले जवाफ दिँदा सांसदहरुले उठाएका विषय स्वीकार गर्ने वा नगर्ने भनी राख्नेछन । स्वीकार गरेको खण्डमा विधेयकमा थपघट हुनेछ ।

सभामुखले निर्णयार्थ पेश गरेपछि विधेयक बहुमत र अल्पमतका आधारमा पास भएर अगाडि बढ्न सक्छ ।  संसद सचिवालयका अनुसार बिहीबार नै नागरिकता विधेयक पास भएर राष्ट्रिय सभामा पठाउने तयारी छ ।

Logo