उपेन्द्र यादवको टिप्पणी : बाबुराम भट्टराई अनुशासनहीन र अराजक तत्व

उपेन्द्र यादवको टिप्पणी : बाबुराम भट्टराई अनुशासनहीन र अराजक तत्व


सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बाबुराम भट्टराईलाई अनुशासनहीन र अराजक तत्वको संज्ञा दिएका छन्। 

पार्टीको काठमाडौंमा जारी राजनीतिक समितिको बैठकमा प्रस्ताव पेस गर्दै शुक्रबार उनले भट्टराईकै कारण पार्टी गतिविधि ठप्प भएको आरोप लगाए।

‘स्थानीय निर्वाचनभन्दा केही समय अगाडिदेखि पार्टीभित्र बाबुराम र उहाँ निकटद्वारा सञ्चालित अस्वस्थ गतिविधिले पार्टीलाई चलायमान बनाउन गम्भीर  समस्या उत्पन्न गर्‍यो। कतिपय प्रदेश तथा जिल्लामा पार्टी जीवन नै ठप्प हुन पुग्यो,’ यादवले भनेका छन्, ‘पार्टी केन्द्रीय समितिको वीरगञ्ज बैठकपछि पार्टीभित्रका अनुशासनहीन र अराजक तत्वलाई कारबाही गरेर पार्टीलाई गतिशील र सक्रियताका साथ अगाडि बढाउने काम सुरू भएको छ।’

उनले यस्तो विशेष परिस्थितिमा पार्टी समिति र जनवर्गीयरभातृ सङ्गठनलाई पुनर्गठन वा अद्यावधिक गर्न आवश्यक रहेको बताए। पार्टीलाई व्यवस्थित र विधिसम्मत रूपले अगाडि बढाउन उनले सुझावसमेत दिएका छन्।

पार्टी एकीकरणसँगै पार्टीको घोषणापत्र र विधानमा सहमति जनाएर एकताबद्ध भएका केही नेता कार्यकर्ताहरुले विभिन्न बहानामा यसलाई कार्यान्वयन गर्न अस्वीकार गरेको यादवले बताएका छन्।

पार्टीको विधि, पद्धतिअनुरूप पार्टीभित्र वैचारिक बहस नगरेर सामाजिक सञ्जालहरूमा बहस गर्न थालेको उनले आरोप लगाएका छन्।

 

Logo