भरतपुर अस्पतालको आइसोलेसनबाट भागे एक सङ्क्रमित

भरतपुर अस्पतालको आइसोलेसनबाट भागे एक सङ्क्रमित


भरतपुर ।

भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक सङ्क्रमित भागेका छन् । भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष आज बिहान ५ बजे भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार भदौ ५ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा ल्याएर उपचार गराइएको थियो । केही दिन अघि चोरीको आरोपमा पक्राउ परेका उनमा कोरोना पोजेटिभ देखिएपछि अनुसन्धान जारी राख्दै परिवारलाई जिम्मा लगाएर उनलाई अस्पतालको आइसोलेसनमा राखेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए।

अस्पतालको आइसोलेसनबाट भागेका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । अहिले अस्पतालको आइसोलेसनमा ६८ सङ्क्रमितको उपचार भइरहेको छ ।

निषेधाज्ञामा टोलटोलमा रक्तदान

जिल्लामा कोभिड–१९ का कारण रगतको अभाव भएपछि नेपाली युवा उद्यमी मञ्च चितवनले टोलटोलमा मोबाइल क्याम्प खडा गरी सोमबारबाट रक्तदान अभियान शुरु गरेको छ । मञ्चले पहिलो दिन दुई स्थानमा ३० युनिट रगत सङ्कलन गरेको छ ।

मञ्चका सदस्य अर्जुन रानाभाटका अनुसार पहिलो दिन भरतपुर महानगरपालिका–४ को लङ्कुक्षेत्रको अद्वैतचोक र धर्मचोकमा १५÷१५ युनिट रगत सङ्कलन भएको छ । अभियानलाई निरन्तरता दिइने उनले बताए । मञ्चका अध्यक्ष कृष्णप्रसाद सापकोटाका अनुसार यस अभियानमा एक स्थानमा १५ देखि २० जनाको मात्र रगत सङ्कलन गरिने छ । हाल जिल्लामा निषेधाज्ञा जारी छ । नेपाल सरकारको सङ्क्रमण ऐनभित्र रही सम्पूर्ण कार्य गरिने उनले जानकारी दिए ।

Logo