भारतबारे प्रधानमन्त्रीले के भने ?
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको व्यापार र लगानीलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । प्रधानमन्त्री ओलीले सडक र रेल सेवाको विस्तार गरेर दुई मुलुकबीचको व्यापारलाई सहज बनाउन नेपाल सरकार लागि परेको बताए ।

आईतबारबाट काठमाडौंमा सुरु भएको ‘नेपाल–भारत पारवहन सहजीकरण सम्मेलन’ को उद्घाटन गर्दै उनले दुवै मुलुकको आर्थिक विकास र जनतासँगको सम्बन्धलाई विस्तार गर्न पनि पारवहन सहजीकरणमा जोड दिनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले नेपालको व्यापारको ठूलो हिँस्सा भारत र भारतबाटै हुने भएकाले त्यसलाई अझै सहज ढंगले अघि बढाउनुपर्ने बताए । उनले छोटो समयमै नेपालमा सहज ढंगले सामानहरुको ढुवानी हुने गरी पारबहन सहजीकरण गर्न भारतीय पक्षबाट आवश्यक सहयोगको अपेक्षा गरिएको बताए ।

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदुत मंजीवसिंह पुरीले नेपालको समृद्धिका लागि आवश्यक सबै खालको सहयोग गर्न भारत तयार रहेको थियो ।

दुई दिनसम्म चल्ने सम्मेलनमा दुवै देशका व्यापारी तथा वाणिज्य क्षेत्रका विज्ञहरु, सरकारी पदाधिकारीहरुले दुई मुलुकबीच हुने आयात/निर्यात सहजीकरणका विषयमा विस्तृत छलफल गर्नेछन ।