रौतहटका सांसदहरु बाढीपीडितहरुको घरदैलोमा
  • सनम राउत-

रौतहटका सांसदहरुले बाढीपीडित र नदी कटानको अवस्था निरीक्षण गरेका छन् ।

रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद प्रभु शाह,  क्षेत्र नम्बर ४ का सांसद देवप्रसाद तिमिल्सेना, क्षेत्र नम्बर १ का सांसद अनिलकुमार झा रौतहट आएका हुन् । सांसदहरूले बागमती र लालबकैया नदीले कटान गरेका ठाउँको अवलोकन गरेका छन् ।

बाढी प्रभावित क्षेत्रको अवलोकन गरेपछि सांसदहरूले ग्रामीण भेगमा अहिलेसम्म पनि यातायात सञ्चालन हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । सांसद प्रभु शाहले केन्द्र र प्रदेश सरकारले बाढी प्रभावितलाई उचित राहत  र क्षति भएका सडक, विद्युतका पोललगायत मर्मतमा ध्यान नदिएको बताए ।

सांसद तथा राजपा नेपालका निवर्तमान अध्यक्ष मण्डलका संयोजक अनिलकुमार झाले बाढीबाट हुने क्षति न्युनिकरणका लागि पटकपटक संसदमा आवाज उठाए पनि सरकारले वेवास्ता गर्दै आएको बताए।

त्यस्तै सांसद निरादेवी जैरूले बस्ती डुबेपछि राहत बाँड्ने भन्दा डुवान हुनबाटै रोकथाम कसरी गर्न सकिन्छ भन्नेबारे योजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताइन् ।