कोशी अस्पतालमा मन्त्रालयको छड्के, ५५ जना चिकित्सकमा १ मात्रै भेटिए

विराटनगर,
प्रदेश १ को राजधानी विराटनगरस्थित कोशी अस्पतालमा चिकित्सकहरु समयसम्म नबस्ने गरेको पाइएको छ ।

आइतबार स्वास्थ्य मन्त्रालयको टोलीले गरेको अनुगमनमा ओपीडीमा ९० प्रतिशत चिकित्सकहरु समयसम्म नबस्ने गरेको पाइएको हो । चिकित्सक समयसम्म नबस्दा टाढा–टाढाबाट आएका बिरामीहरु उपचार नगरिकनै फर्किन बाध्य छन् । पूर्वको सबैभन्दा ठूलो सरकारी अस्पतालको रुपमा रहेको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा चिकित्सकहरु समयसम्म बस्ने नगरेको पाइएको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको समितिले आइतबार गरेको अनुगमनमा अस्पतालका ९० प्रतिशत चिकित्सकहरु ड्यूटी समयमा अस्पतालमा नभेट्टिएका हुन् । अस्पतालको हाडजोर्नी विभाग, इमर्जेन्सी विभाग, बच्चा वार्ड, गाइनो वार्ड, फिजिसियन वार्ड, सर्जरी वार्ड लगायतका ओपीडीमा चिकित्सकहरु समयभन्दा पहिले नै निस्कने गरेको पाइएको हो । अस्पतालमा १२ बजेर ३० मिनेट जाँदा अनुगमन टोलीले अस्पतालका विभिन्न विभागको ओपीडीको अनुगमन गर्दा अस्पतालमा चिकित्सक नभेटेको पाएको हो ।

यता अस्पतालका मेसु डाक्टर रोशन पोखरेलले ड्यूटी समयसम्म चिकित्सकहरु नबसे पनि आफूलाई कारबाही गर्ने अधिकार नभएको बताउँदै कारबाहीका लागि मन्त्रालयमा पठाउने बताउनुभयो । अस्पतालमा ७८ सरकारी, २४ जना विकास समितिको दरबन्दी रहेकोमा सरकारीतर्फ २५ र विकास समितितर्फ २० जना चिकित्सक कार्यरत छन् ।

त्यस्तै करारमा १० जना कार्यरत रहेको मेसु पोखरेलले बताउनुभयो । चिकित्सक अभावका कारण प्रभावकारी रुपमा सेवा दिन नसकेको उहाँको भनाइ थियो । हरेक चिकित्सकहरु बिहान ८ देखि दिउँसो २ बजेसम्म अनिवार्य अस्पतालमा हुनुपर्नेमा अधिकांश डाक्टर १० आएपछि १२ नबज्दै हिंड्ने गरेका छन् । दैनिक १ हजारदेखि १ हजार २ सयसम्म बिरामी यहाँ आउने गरेका छन् ।
नेपाल समाचारपत्रबाट

कोशी अस्पतालमा मन्त्रालयको छड्के, ५५ जना चिकित्सकमा १ मात्रै भेटिए