पोखरीमा डुबेर तीन बालबालिकाको मृत्यु

सिरहामा पोखरीमा डुबेर दाजुबहिनीसहित तीन बालबालिकाको मृत्यु भएको छ ।

जिल्लाको अर्नामा गाउँपालिका–४ लक्ष्मीपुर निवासी विमल यादवको १० वर्षीय छोरा दीपक यादव र सात वर्षीया छोरी नन्दनी यादवको स्थानीय पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै दाजुबहिनी घरबाट खेल्न गएकोमा आइतबार बेलुकासम्म घर नफर्किदा अभिभावकले खोज्ने क्रममा स्थानीय पोखरीमा डुबेर मृतावस्थामा फेला परेको हो ।

यसैगरी सिरहा नगरपालिका–३ मखनाहामा खाल्डोमा जमेको पानीमा डुबेर ११ वर्षीया काजल दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । बस्तुभाउलाई घाँस काट्न गएकी दास खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा आइतबार डुबेर मृत्यु भएको हो । खाल्डोमा डुबेको अवस्थामा स्थानीयले देखेपछि तत्काल उद्धार गरी उपचारका लागि स्थानीय चन्द्रनाराण मेमोरियल मेटर्निटी अस्पताल माडरमा लगिएलगत्तै चिकित्सकले मृत घोषणा गरेको थियो ।