समाज रूपान्तरणकी प्रथम महिला योद्धा

अन्त्य कालमा त्यो घुसले फटाउला धाँजा ।
बडो कष्ट मिली जाला त्यो घुस निस्की जाँदा ।।
अहिले मात्र पचेको छ भरे पच्ने छैन ।
सम्झी राख सत्य बचन् झुट्टा हुने छैन ।। (योगवाणी,२४)

अभिजात्य वर्गीय सोच र मान्यतालाई खिल्ली उडाउँदै, पितृसत्तापक्षीय आस्थालाई चुनौती दिँदै, रुढिवादी नारित्व र मातृत्व गुणलाई लत्याउँदै, अधीनस्थ नारीका अचल प्रतिमानलाई चुनौती दिदै साहित्य तथा सामाजिक विद्रोह मार्फत उदाएकी विद्रोही एवं संघर्षशील महिला योगमाया न्यौपानेको गाथा नेपालको इतिहासमा निकै चर्चित छ । विश्वमा महिला हित, अधिकार तथा समानताप्राप्तिका लागि लड्ने महिलाहरूमा मार्गरेट थ्याचर, मेरी ओल्सटन क्राफ्ट, भर्जिनिया उल्फ, टोनी मोरिसन, अलिस वाल्कर, सिमोन द बुभुवार, क्याथरिन म्यान्सफिल्ड, जर्मेन ग्रीयर आदिको नाम आउँछ ।

नेपालको महिला आन्दोलनको इतिहास पल्टाउने हो भने साहना प्रधान, शैलजा आचार्य, मंगलादेवी सिंहको नाम लिुनुपर्ने हुन्छ । यसभन्दा पनि पहिले जागरुक, सङ्घर्षशील, सिर्जनशील एवं स्वाभिमानी विदुषी आदि विद्रोही महिला तथा समाज रूपान्तरणकी प्रेरणा योगमाया न्यौपानेको नाम आउँछ ।

चेतना, चिन्तन, सामाजिक जागरण, साहस, संघर्ष, वीरता, विद्रोह तथा बलिदानको अर्काे नाम हो योगमाया । उनको सामाजिक परिवर्तन खातिर गरिएको सत्याग्रह तथा आँधीबेहरीको कथाजस्तो संघर्षशील जीवन गाथा विस्मयकारी छ । आजका युवापुस्तालाई उनी कुनै तिलस्मी दन्त्यकथाको नायिकाजस्तै काल्पनिक तथा अलौकिक पात्र लाग्नसक्छ ।

लौकिक संसारमा नै एक उज्ज्वल चेतनाको ज्योतिका रूपमा उदय भएकी योगमाया विद्रोह, बलिदान तथा त्याग र तपस्याकै कारण आजको मानव समाजमा प्रेरणाको स्रोत बनेकी छन् । संसारमा परिवर्तन ल्याउन मानवहरूको चेतनामा परिवर्तन ल्याउनुपर्छ । कागजमा भएको परिवर्तनले मात्र समाज परिवर्तन हँुदैन । जबसम्म मानवको चेतना, चिन्तन र चरित्रमा परिवर्तन हुँदैन तबसम्म समाजमा कुनै परिवर्तन हुँदैन । तसर्थ योगमायाले भक्तिमार्गको आडमा समाज परिवर्तनको लागि जुन विद्रोह गरिन् त्यो मानव चेतनाको परिवर्तनका लागि कोशेढुङ्गा बन्न पुगेको छ । भक्तिमार्गबाट पनि मानवको चेतनामा परिवर्तन गरी समाजमा परिवर्तन ल्याउन सकिन्छ भन्ने कुरा उनको जीवन संघर्षवाट उद्घोष हुन्छ ।

समाजमा क्रान्तिकारी परिवर्तन गर्नका लागि हातहतियार उठाउनु वा बन्दुक, गोलाबारुद नै पड्काई हिंसक बन्नु पर्छ भन्ने छैन । शान्तिपूर्ण मार्ग अवलम्बन गरेर पनि आम मानिसको चेतनामा परिवर्तन ल्याई समाज बदल्न सकिन्छ । यसको ज्वलन्त उदाहरण योगमायाको सामाजिक विद्रोह हो । यस दृष्टिले नेपाली समाजमा योगमायाको अतुलनीय, अनुपम तथा उदाहरणीय योगदान रहेको छ ।

धर्म सम्झी विचार गरी इन्साफ हेरेन ।
पैसा धेरै पायौ भने बेर त लाएन ।।
कुल त हाम्रो ब्राम्हण नै हो छैनौ कुलैमा ।
जात त हाम्रो सत्य छैन राख चुलैमा ।। (योगवाणी,१२)

आफ्नो जीवनलाई बलि चढाएर समाज परिवर्तनको लागि नैतिक दवाव सिर्जना गर्नु साधारण कुरा पक्कै होइन । भोजपुर, षडानन्द नगरपालिका १, नेपालेडाँडा, सिम्लेमा वि.सं १९२४ साल असार महिनामा अन्धकार युगकी एक ताराको रूपमा उदय भएकी योगमायाले १९३१ सालमा ७ वर्षको उमेरमै बालविवाहको शिकार बन्नुपरेको थियो । तत्कालीन समाजको बुहार्तन सहन नसकी १९३३ सालमा कर्मघर त्यागी उनी माइत आई बस्न थालिन् । करिब १३÷१४ वर्षको उमेरमा भारतको आसाम, फूलबारीमा गई एक कँडेल थरका व्यक्तिसँग घरजम गरिन् । कँडेलको पनि मृत्यु भएपछि भने उनमा विद्रोही स्वभाव पलाएको देखिन्छ । त्यसपछि तत्कलीन समाजको व्यवस्थालाई चुनौती दिँदै एकजना डोटेल ब्राह्मणसँग पुनः विवाह गरिन् । यो उनको सामाजिक आवश्यकताभन्दा पनि विधवा विवाह गर्न हुन्न भन्ने सामाजिक मान्यताविरुद्धको पहिलो विद्रोह थियो । जीवनमा धैरै वैराग्य तथा वितृष्णा त छँदै थियो तथापि उनले गीता, पुराण एवं वेदका सारतत्वहरूको श्रवण गर्दै जाँदा जीवनमा वैराग्य भई घर, वास, परिवार, धन, सम्पत्ति आदि त्याग गरिन् । १९७३ सालमा उनी छोरी नैनकलाका साथ जन्मस्थान नेपालेडाँडा, मजुवाबेसी आई आश्रम बनाएर बस्न थालिन् । हरिभजन, कीर्तन र भक्ति गरी तत्कालीन समाजका मानवहरूलाई एकीकृत गरी समाजमा भएका विसंगति तथा विकृतिहरूको विरुद्धमा चेतना फैलाइन् । उनले गाउने गरेको एउटा श्लोक अहिले पनि योगमायाका भक्तहरू गाउने गर्दछन् ।

महाराज छन् दरबारमा हेर्न आउँदैनन् ।
दुःखी जनले नियानिसाफ सिधा पाउँदैनन् ।।
जागिरदार लोभी छन् न्याय हेर्दैनन् ।
मर्नु पर्ने शरीर हो विचार गर्दंैनन् ।। (योगवाणी, १५१-१५२)

योगमायाले समाज परिवर्तनको दौरानमा वि.सं १९९३ सालमा तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरलाई काठमाडौंको वज्रघरमा भेट गरी २६ बुँदे समाज सुधारका मागहरू राखिन् । त्यसमा धर्मराज्यको माग प्रमुख थियो । जुद्धशमशेरवाट समाज सुधारको आश्वाशन प्राप्त भए पनि समाजमा कुनै परिवर्तन भएन । पछि १९९५ साल कार्तिक २७ गते विद्रोह स्वरूप अग्नि समाधिको योजना वनाइन् जसमा २ सय ४० जना मानिसहरू जिउँदै आगोमा होमिन तयार भए । उक्त कार्यक्रम हुनु अगावै उनीसहित उनका अनुयायीहरूलाई पक्राउ गरी कोहीलाई धनकुटा जेल त कोहीलाई भोजपुर जेलमा राखियो ।

योगमायाले आफ्नो विरोधको यात्रा जारी राखिन् । समाजमा राणा शासकहरूद्वारा कुनै परिवर्तनको संकेत नदेखाइएको हुनाले विद्रोह स्वरूप १९९८ साल असार २२ गते एकादशीका दिन आफूसहित ६८ जनाले एकाबिहानै अरुण नदीको ढुङ्गाबाट फाल हालेर जल समाधि लिइन् । यो घटना संसारकै इतिहासमा एक अनुपम उदाहरण हो । वास्तवमा योगमायाको जलसमाधि पछाडि ठूलो दर्शन अन्तर्निहित छ ।
योगमायाले लिएको जलसमाधिलाई सामाजिक परिवर्तनको खातिर गरिएको आन्दोलनको एक उत्सर्गको रूपमा विश्लेषण गर्न सकिन्छ । यो सम्पूर्ण स्वदेशी जनचेतनावाट अभिप्रेरित, स्वतःस्फुर्त, मौलिक जनताको क्रान्ति थियो । जो आध्यात्मिक परिवेशमा भौतिक न्यायको आग्रह र यसको प्राप्तिका लागि समर्पित विद्रोह थियो । जसले देशको लागि, जनताको लागि, न्याय र नैतिक स्वतन्त्रताका लागि झुक्किएर वा बाध्यतावश वा भवितव्यमा परेर होइन तर अन्तर्मनको स्वेच्छाले ज्यान दिन्छ त्यो क्रान्तिका लागि व्यक्तिको महान बलिदान हो । जब यस्तो बलिदान एकजना व्यक्ति ऊ आफैं मात्र होइन तर उसको प्रभाव, व्यक्तिगत, ओज र सन्देशका कारण प्रभावित भएर निश्चित माग राख्तै सो पाउनका लागि नैतिक दवाव सिर्जना गर्न ऊसँगै थुप्रै अन्य पनि मृत्युमा होमिन्छन् तब यो घटनालाई सामाजिक परिवर्तनका लागि गरिएको महान् क्रान्ति मान्नु पर्दछ ।

आजसम्म प्राप्त भएका सम्पूर्ण परिवर्तनका उपलब्धिहरू योगमायाका तत्कालीन एजेन्डामा नै आधारित छन् । राणाशासनको समयमा एक महिलाले त्यत्रो महान् सामाजिक क्रान्तिको रथ हाँक्नु सामान्य कुरो होइन । यसरी समाज रूपान्तरणका लागि यति ठूलो संख्यामा आत्मबलिदान गरिएको घटना कहाँ होला र ? तसर्थ योगमाया समाज परिवर्तनकी चेतना, चिन्तन र चमत्कार हुन् । उनको पहिचान उनले गरेको सत्याग्रह, साधना र उनको कविताको संग्रह सर्वार्थयोगवाणीबाट स्पष्ट हुन्छ । उनको विलक्षण व्यक्तित्व, कालजयी कृतित्व र असाधारण नेतृत्व नै उल्लेखनीय पक्षहरू हुन् । योगमायाले मन, वचन र कर्मले गरेको त्याग, तपस्या र बलिदानबाट आफू र आफ्नोे लागि मात्र त्यागी बन्नुभन्दा पनि हामी, हाम्रो लागि वा समाजको लागि त्याग गर्नुपर्छ भन्ने सन्देश प्रवाह हुन्छ ।

सै वातको अर्थ नलाई धर त पाएनौ ।
पैसा धेरै पायौ भने बेर त लाएनौ ।।
धर्म थाम्ने इन्साफीले विचार है गरून् ।
कुन कुन जातले जुन जुन ल्याउँछ जातमा मिलाउन् ।।(योगवाणी,१३)

समाजमा योगमायामाथि गरिएको अवहेलना तथा उपेक्षा, समाजमा देखिएका बेथितिहरू, राणाहरूको कुशासन, अन्याय तथा अत्याचारहरू, तत्कालीन समाजमा मानवहरूले गरेका चरित्रहीन कार्यहरू तथा विद्यमान सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक तथा नैतिक विसंगतिहरू नै उनको विद्रोहका कारक बन्न पुगे । उनको आन्दोलनका मुख्य उद्देश्यहरू भनेका तकालीन समाजमा धर्म राज्यको स्थापना, शुसासन कायम गर्ने तथा विकृतिमुक्त समाजको स्थापना गर्ने थियो । त्यो उनको ‘रामराज्य’ जस्तै सुन्दर देशको परिकल्पना थियो । समष्टिमा भन्दा जाली, अविवेकी र पापाचारी आडम्बरको सामाजिक परम्पराले उनलाई छोइरह्यो ।

योगमायाले आफ्ना वाणीहरू मार्फत तत्कालीन समाजमा भएका विकृति तथा विसंगतिहरूका विरुद्धमा सशक्त आवाज उठान गरिन् । उनले आफ्ना वाणीहरूमार्फत सती प्रथा, दास प्रथा, जातभात, छुवाछुत, भ्रष्टाचार, घुसखोरी, ठगी, लैङ्गिक विभेद, शोषण, दमन, जाली व्यक्ति, मानापाथीका आधारमा हुने ठगी, पच्चिसा (ब्याज ठगी) लगायत विभिन्न सामाजिक बेथितिहरू विरुद्धमा सामाजिक क्रान्तिको आगो दन्काइन् । आध्यात्मिक साधुको निस्पृह सत्ताबाट सचेत नागरिकको हैसियतले एक सामाजिक चेतना तथा जनजागरणको उन्नायिकाका रूपमा यही परावृत्ति नै योगमायाको सुधारवादी तथा विद्रोही व्यक्तित्वको अवसान भएको देखिन्छ ।

(डा.दिपेश योगमायाको ‘सर्वार्थ योगवाणी’ विषयमा विद्यावारिधि गर्ने पहिलो व्यक्ति हुन् । योगमायाकै वंशका सन्तती उनको ‘अमर ज्योति योगमाया’ नामक विश्लेषणात्मक पुस्तक प्रकाशन भइसकेको छ ।)