हिंसात्मक प्रदर्शन हुन सक्ने आशङ्कामा अमेरिकाका सबै राज्यमा उच्च सुरक्षा सतर्कता

हिंसात्मक प्रदर्शन हुन सक्ने आशङ्कामा अमेरिकाका सबै राज्यमा उच्च सुरक्षा सतर्कता


वासिङ्टन।

राष्ट्रपतिका रूपमा जो बाइडनले पदभार ग्रहण गर्नु अघि हिंसात्मक प्रदर्शन हुन सक्ने आशङ्कामा अमेरिकाका सबै राज्यमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

बाइडनले बुधवार पदभार ग्रहण गर्दैछन्। संसदमा भिड पसेको दिन जस्तै हिंसात्मक प्रदर्शन नहोस् भनेर राजधानी वासिङ्टन डीसीमा न्याश्नल गार्ड्स परिचालन गरिएको छ ।

सबै ५० राज्यमा राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकले प्रदर्शन गर्न सक्ने सङ्घीय जाँच ब्यूरो एफबीआईले चेतावनी दिएको छ। राष्ट्रपतिको सुरक्षार्थ खटिने निकायको अनुरोधमा राष्ट्रपतिको शपथ ग्रहण गर्दा जम्मा हुने हजारौँ सर्वसाधारणलाई रोक्ने प्रयास गरिएको छ ।

कोभिड-१९ महामारीकाबीच बुधवार हुने समारोहमा सहभागी हुनका लागि देशभरबाट यात्रा नगर्न सर्वसाधारणहरूलाई बाइडनको टोलीले आग्रह गरेको छ। ट्रम्प समर्थकहरूले अनलाइनमार्फत् हतियारसहितको प्रदर्शनको आह्वान गरेका कारण आइतबारका लागि डाकिएको प्रदर्शन महत्त्वपूर्ण ठानिएको छ।

तर केहीले भने उक्त प्रदर्शन प्रहरीले सृजना गरेको फन्दा रहेको र सुरक्षा व्यवस्था निकै कडा पारिएको भन्दै त्यसमा सहभागी नहुन कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।

राष्ट्रपति ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बने लगत्तै अमेरिकामा सुरक्षा सतर्कता बढाइएको हो। अमेरिकी संसद् भवनमा विध्वंस भएसँगै तल्लो सदनले ट्रम्पविरुद्ध महाभियोग लगाएको थियो ।एजेन्सी

Logo