राष्ट्रिय महिला फुटबल : दोस्रो चरणको खेल तालिका सार्वजनिक

राष्ट्रिय महिला फुटबल : दोस्रो चरणको खेल तालिका सार्वजनिक


अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणको खेल तालिका आज सार्वजनिक गरेको छ । खेल तालिकाअनुसार शनिबार पहिलो खेल नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिकाबीच हुनेछ । उक्त खेल ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने छ ।

लिगको पहिलो चरणको खेल सम्पन्न हुँदासम्म सशस्त्र प्रहरी बलको एपीएफ क्लब अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ । एपीएफले ६ खेलमा अङ्क जोडेको छ । दोस्रो स्थानमा रहेको आर्मीको ६ खेलमा १३ अङ्क रहेको छ । यस्तै विराटनगर महानगरपालिका १० अङ्कका साथ तेस्रो, आठ अङ्क रहेको नेपाल पुलिस क्लब चौथो, वालिङ नगरपालिका–८ अङ्कका साथ पाँचौँ, चन्द्रपुर नगरपालिकाको टोली तीन अङ्कसहित छैटौँस्थानमा छ ।

त्यस्तै चौदण्डीगढी नगरपालिकाको टोली अङ्क विहीन रहँदै लिगको पुछारमा छ । लिगको पहिलो चरणका खेल बुधबार सम्पन्न भएका थिए ।

Logo