सगरमाथा चढेर इतिहास रच्ने तयारीमा दृष्टिविहिन अमिट केसी (भिडियाेसहित)

सगरमाथा चढेर इतिहास रच्ने तयारीमा दृष्टिविहिन अमिट केसी (भिडियाेसहित)


काठमाडौं ।

दृष्टिविहिन भएर पनि बागलुङ जैमिनी नगरपालिका-४ सर्कुवाका अमिट केसी विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने तयारीमा जुटेका छन् । दुई वर्ष पहिले नै सगरमाथाको आठ हजार मिटर उचाईको साउथ पोलमा पुगेर अक्सिजन सकिएपछि फर्किएका केसीले पुनः सगरमाथा चढ्ने लक्ष्य लिएका हुन् ।

केसीले आगामी वैशाखमा सगरमाथा चढ्ने तयारी थालेका हुन् । पहिलो पटक दुई वर्ष अघि चढ्न जाँदा प्राविधिक कारणले चुचुरोमा पुग्न नसकेर फर्किनुपरे पनि यस पटक चुचुरो पुग्ने सपना पूरा गरेरै छाेड्ने प्रतिवद्धता उनले व्यक्त गरे ।

विश्वमा नेपालको नाम उच्च राख्न र आफूजस्तै अपाङ्गता भएका व्यक्तिलाई प्रोत्साहन गर्न आफूले सगरमाथा चुचुरोमा पुग्ने लक्ष्य लिएको उनले बताए । यसअघि न्यून दृष्टियुक्त व्यक्ति अमेरिकी नागरिक ‘एरिक एहिङ मेयर’ले सगरमाथाको आठ हजार ८०० मिटर उचाइमा पुगेर फर्केको रेकर्ड छ ।

अघिल्लो वर्ष सरकारले कानुन संशोधन गरेर सगरमाथा चढ्न रोक लगाएपछि उनी निराश भएका थिए र सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । सो रिटमा सुनुवाइ गर्दै सर्वोच्चको संवैधानिक इजलासले अपांगता भएका व्यक्तिले पनि सगरमाथा चढ्न पाउने फैसला गरेको थियो । पर्वतारोहण नियमावलीको नियम ३ संशोधन नगर्न रिट परेपछि संवैधानिक इजलासले अपाङ्गता भएका व्यक्ति पनि सगरमाथा चढ्न पाउने फैसला गरेको हो ।

सबै प्रकारका प्रशिक्षण लिइसकेको, अन्य साना हिमाल पनि चढेको र सगरमाथाको पनि आठ हजार मिटरमा पुगेकाले सरकारको अनुमति पाएपछि जान सक्ने केसीले बताए । “पैसाको समस्या हो, जुटाएपछि जाने योजना छ”, केसीले भने, “६० हजार अमेरिकी डलर भए बन्दोबस्तीका सामग्री, गाइड खर्च र खानासमेत पुग्छ ।” त्यसका लागि उनी अहिले आर्थिक संकलन अभियानमा जुटेका छन् ।

Logo