केन्द्रबिन्दु बुलेटिन : अवहेलना मुद्दामा सर्वोच्चद्वारा प्रचण्डसँग लिखित जवाफ माग (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : अवहेलना मुद्दामा सर्वोच्चद्वारा प्रचण्डसँग लिखित जवाफ माग (भिडियोसहित)


काठमाडौं ।

हामीले हरेक दिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको छ । बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

नेकपाको ओली पक्ष निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियू नेपालले बुधबार माघ २३ गते हुन लागेको जनसभाको तयारीका लागि मोटरसाइकल र्याली निकालेको छ । यता, प्रचण्ड–माधव पक्षीय नेकपाले बिहिबारका लागि आम हड्तालको घोषणा गरेको छ । उक्त समूहले संवैधानिक निकायमा पदाधिकारीहरूलाई नियुक्त तथा शपथ गराएको विरोधमा आमहड्ताल गर्ने निर्णय गरेको हो ।

कानुन र राजनीतिक विवादका बीच संवैधानिक निकायका पदाधिकारीहरु नियुक्त भएका छन् । संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायमा ५ जना प्रमुख आयुक्त तथा २७ जना सदस्य नियुक्त गरेकी हुन् । उनीहरुले बुधबार बिहानै शपथ लिएका छन् । यता, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले पदबाट राजीनामा दिएका छन् । आयुक्त जोशीले आजै राष्ट्रपति कार्यालय शीतल निवास पुगेर राष्ट्रपति भण्डारी समक्ष राजीनामापत्र बुझाएका हुन् । आफूभन्दा कनिष्ठलाई प्रमुख आयुक्त बनाएको अनसन्तुष्टि व्यक्त गर्दै आयुक्त जोशीले राजीनामा दिएका हुन् ।

राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लब पराजित भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा पुलिस विराटनगर महानगरपालिकासँग १–० गोल अन्तरले पराजित भएको हो । यता, विभागीय टिम त्रिभुवन आर्मी क्लबले चौदण्डीगढीमाथि १२–० गोल अन्तरको फराकिलो जीत निकालेको छ ।

विश्व महामारीको रूपमा रहेको कोरोना भाइरसको असर र प्रभावकै बीचमा पनि ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । लामो समयदेखि बन्द रहेको श्रम स्वीकृती खुलेसँगै वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख बढेको हो । वैदेशिक रोजगार विभागका अनुसार साउन यता उनीहरू ९७ मुलुकमा पुगेका हुन् ।

Logo