पत्रकारसँग किन झोक्किए राष्ट्रिय सभाका अध्यक्ष ? (भिडियाेसहित)

पत्रकारसँग किन झोक्किए राष्ट्रिय सभाका अध्यक्ष ? (भिडियाेसहित)


काठमाडौं ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक निकायका पदाधिकारी नियुक्तिका लागि संवैधानिक परिषदले गरेको सिफारिस फिर्ता पठाएकोमा गम्भीर आपत्ती जनाएका छन् ।

सोमबार पत्रकार सम्मेलन गरि अध्यक्ष तिमिल्सिनाले सभामुखको अधिकारक्षेत्र र पत्रमा प्रयोग भएको व्यहोराप्रति आपत्ती जनाएका हुन् । संघीय संसद अन्तर्गत दुई सदन रहेको र दुवै सदनका पदाधिकारीको हैसियत बराबर रहेकाले प्रतिनिधिसभाका सभामुखले मात्रै एकल ढंगले निर्णय गर्न नमिल्ने उनको तर्क थियो । उनले सभामुखको एकल निर्णयले संघीय संसदको अर्को सदन राष्ट्रियसभाको गरिमामा प्रहार भएको बताए।

उनले भने, “संघीय संसद तथा सो अन्तर्गतका समितिको व्यवस्थापन, सञ्चालन समेतको व्यवस्था गर्ने अधिकार प्रतिनिधिसभाका सभामुखमा निहित भएको भन्ने बेहोराले दुई सदनात्मक संघीय व्यवस्थापिका सम्बन्धी संवैधानिक व्यवस्था, स्थापित अभ्यास, माथिल्लो सदन राष्ट्रियसभाको भूमिका र गरिमामा प्रहार भएको छ ।”

उनले नेपालको संविधान र संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, ०७५ ले संयुक्त समितिहरु सञ्चालनको अधिकार संघीय संसदको कुनै एक सदन वा पदाधिकारीमा निहित नगरेको जिकिर गरे । उनले सुनुवाईका लागि परिषद्ले गरेको सिफारिस संसदीय सुनुवाइ समितिको दुई तिहाई बाहेकका अन्य कुनै पनि निकाय वा पदाधिकारीलाई अस्वीकार वा फिर्ता गर्ने कानूनी व्यवस्था नभएको बताए।

उनले दुई सदनात्मक व्यवस्थामा दुवै सदन बराबरी रहेको र राष्ट्रियसभा नै छैन जस्तो आइतबार सिफारिस फिर्ता पठाउने काम भएको र त्यसमा राष्ट्रियसभाको संलग्नता नरहेको स्पष्ट पारे ।

आइतबार संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले विज्ञप्ति जारी गरि प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले आफू निहित अधिकार प्रयोग गरि परिषद्ले गरेको पदाधिकारी नियुक्ति सम्बन्धी सक्कलै कागजात परिषद् सचिवालयमा नै फिर्ता पठाएको जानकारी गराएका थिए।

Logo