कोरोना संक्रमित बढ्दै गएपछि कतारका विभिन्न क्षेत्रमा पुनः प्रतिबन्ध

कोरोना संक्रमित बढ्दै गएपछि कतारका विभिन्न क्षेत्रमा पुनः प्रतिबन्ध


दोहा कतार ।

कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक ५०/६० जनामा झरेसँगै कतारको अवस्था सामान्यतर्फ उन्मुख भइरहेको थियो तर पछिल्लो केही दिन यता सङ्क्रमितको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएसँगै सरकारले कोरोना भाइरसको दोस्रो लहर आउन नदिन विभिन्न क्षेत्रमा पुनः प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

जस अन्तर्गत सरकारी तथा गैरसरकारी कम्पनीका कर्मचारीहरू ८० प्रतिशतले कार्यालयबाट र २० प्रतिशतले घरबाट काम गर्नु पर्नेछ। खुल्ला स्थानमा बढीमा १५ जना र बन्द स्थानमा बढीमा ५ जना भन्दा बढी भेला वा जमघट गर्न पाइने छैन भने सार्वजनिक पार्कहरू खुला रहनेछन् तर पार्कका खेलकुद तथा व्यायामस्थलहरू पूर्णरूपमा बन्द हुने जनाइएको छ । कम्पनी गाडीहरूको कुल क्षमताको आधा मात्र कामदार राखी चलाउन पाउनेछ भने सार्वजनिक यातायात बस तथा मेट्रो, विभिन्न ट्रेनिङ सेन्टरहरू ३० प्रतिशत क्षमतामा मात्र सञ्चालन गर्न पाउने मन्त्रिपरिषदको निर्णयमा जनाइएको छ । मलहरू ५० प्रतिशत क्षमतामा मात्र खुल्ला रहनेछन् ।

अन्य रेस्टुरेन्टहरू १५ प्रतिशत क्षमतामा सञ्चालन गर्न पाइने छ, तर क्लिन सर्टिफिकेट प्राप्त रेस्टुरेन्टहरू बढीमा ३० प्रतिशत क्षमतासहित सञ्चालन गर्न पाइनेछ । सैलुन तथा ब्युटी पार्लर ३० प्रतिशत क्षमतामा सञ्चालन गर्न पाइनेछ। समुद्री तटमा हुने डुङ्गा सवारी प्राइभेट बाहेकलाई बन्द गरिएको छ। वैवाहिक कार्यक्रमहरू फरबरी ७ तारिखबाट लागू हुने गरी बन्द गरिएको छ। फिल्म हलहरू ३० प्रतिशत क्षमतासहित सञ्चालन गर्न पाइने छ। प्राइभेट गाडीमा ड्राइभरसहित ४ जना सवार हुन पाइनेछ भने कोरोना नियन्त्रणका लागि कतार सरकारले तोकेका अन्य न्यूनतम नियमहरु सबैले अनिवार्य रूपमा पालना गर्नु पर्नेछ ।

Logo