उपराष्ट्रपति र सभामुखद्वारा संवैधानिक आयोगका पदाधिकारीको शपथ ग्रहण कार्यक्रम बहिष्कार

उपराष्ट्रपति र सभामुखद्वारा संवैधानिक आयोगका पदाधिकारीको शपथ ग्रहण कार्यक्रम बहिष्कार


काठमाडौं ।

उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नीप्रसाद सापकोटाले संवैधानिक आयोगका प्रमुख र सदस्यहरुको शपथग्रहण कार्यक्रम बहिष्कार गरेका छन् ।

आज विहान राष्ट्रपति निवासमा आयोजित शपथग्रहण कार्यक्रममा उनीहरु सहभागी भएनन् । पूर्वमाओवादीबाट उपराष्ट्रपति बनेका पुन र सोही पार्टीबाट सभामुख बनेका सापकोटा नेकपाको विवादले दुई समूहमा विभाजन भएपछि प्रचण्ड–नेपाल पक्षमा देखिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायमा नियुक्त पदाधिकारीलाई पद तथा गोपनियताको सपथ गराएकी छिन् ।

बुधबार बिहान शितल निवासमा राष्ट्रपतिले नवनियुक्त पदाधिकारीहरुलाई सपथ गराएकी हुन् । मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न संवैधानिक निकायका रिक्त पदाधिकारी नियुक्तिको लागि सिफारिस गरेको थियो ।

लगत्तै पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि संवैधानिक व्यवस्था अनुसार परिषद्ले सिफारिस गरेका पदाधिकारीहरुको संसदीय सनुवाई हुन सकेको थिएन । संसदीय सुनुवाई बिना नै सबै पदाधिकारीले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

संसदीय सुनुवाई विशेष समिति संघीय संसद अन्तर्गतको संयुक्त समिति भएको र प्रतिनिधिसभा विघटन भएकाले सनुवाई सम्भव नभएको भन्दै प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले नियुक्तिको सिफारिस पत्रलाई परिषदमा नै फिर्ता पठाएका थिए ।

संविधान अनुसार संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्दा संसदीय सुनुवाई समितिबाट अनुमोदन गरिनु पर्ने थियो । यद्यपि संसदको संयुक्त बैठक र संयुक्त समितिको नियमावलीमा भने नियुक्ति सिफारिसको ४५ दिनसम्म निर्णय दिन नसकेको अवस्थामा स्वतः अनुमोदन भएको मानिने व्यवस्था छ ।

यसैबीच सुनुवाई बिना नियुक्त गर्न नहुने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मंगलबार सर्वोच्च अदालतमा रिट समेत दायर गरेका थिए ।

Logo