वर्षा नहुँदा हिउँदेबाली प्रभावित

वर्षा नहुँदा हिउँदेबाली प्रभावित


दाङ ।

लामो समयदेखि पानी नपर्दा दाङका उर्वरभूमी बाँझै रहेका छन् । झण्डै पाँच महिनादेखि खडेरी परेका कारण दाङमा हिउँदे खेती प्रभावित बनेको छ ।

दाङका अधिकांश कृषक हिउँदे वर्षा नहुँदा चिन्तित बन्न थालेका छन् । आकासेपानीको भरमा हिउँदे खेती गर्दै खाएका कृषकको तोरी, मसुरो, गहुँ, जौजस्ता बालीनाली प्रभावित भएका छन् । गत असोजको अन्तिम सातादेखि वर्षा हुन सकेको छैन । पानी नपरेपछि खेतबारी बाँझै रहेको घोराही उपमहानगरपालिका–९ का किसान जगमती चौधरी बताउँछन् ।

तोरीबाली भित्र्याएपछि खेतबारीमा छरेका कुनै पनि बाली सप्रन सकेको छैन । अघिल्ला वर्षमा मुसुरो, केराउ, चना, गहुँ जौँ फल्ने खेतबारी यसपालि पानी नपरेका कारण उब्जनी नभएको चौधरीको दावी छ । घोराही–११ का किसान रेशम बस्नेत आकासेपानीको भरमा हिउँदेखेती गरिंदै आएकामा यस वर्ष समयमा वर्षात् नहुँदा लगाएको बाली पनि विस्तारै सुक्न थालेको बताए । “जमीन बाँझै छ । गहुँ, मसुरो, केराउ र जौको बीउ पनि नआउने अवस्था भएको छ । यसपालि बाली लगाएको सबै खेर जाने अवस्था छ’’, उनले भने ।

दाङमा खेतीयोग्य जमीनमा सिँचाइको सुविधा नुहुँदा र आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको ठाउँमा यसपालि हिउँदे वर्षात् नभएकाले किसानको आम्दानी घट्ने अवस्थाले किसानलाई चिन्तित बनाएको छ । दाङ जिल्लाको कूल क्षेत्रफल २९ लाख पाँच हजार ५०० हेक्टर जमीनमध्ये खेतीयोग्य जमीन ६९ हजार ९५० हेक्टर रहेको छ । दाङमा कूल खेती गरिएको जमीन ६५ हजार ९८० हेक्टरमा खेती गरिएको छ ।

जिल्लामा बाह्रैमहिना सिँचाइ हुने क्षेत्र १९ हजार ६५१ हेक्टर रहेको कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले जानकारी दिए । मौसमी सिँचाइ हुने क्षेत्र तीन लाख नौ हजार २११ हेक्टर रहेको छ । हिउँदको समयमा पानी नपरेको हुँदा बाली उब्जनी नहुने र बाँझै रहने सङ्केत देखिएको छ ।

हिँउदे वर्षा बालीनालीका लागि अमृत समान हुन्छ । उनका अनुसार हिउँदमा वर्षा नभएका कारण अन्नबालीलाई क्षति पुर्याउने देखिन्छ ।

Logo