‘देशलाई ताजा जनादेशको आवश्यकता परेकाले तोकिएकै समयमा निर्वाचन हुन्छ’ : प्रधानमन्त्री

‘देशलाई ताजा जनादेशको आवश्यकता परेकाले तोकिएकै समयमा निर्वाचन हुन्छ’ : प्रधानमन्त्री


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन संविधान सम्बद्धरुपमा नै घोषणा गरिएकाले तोकिएकै समयमा हुने बताएका छन् ।

प्रोग्रसिभ इञ्जिनीयरिङ एशोसिएशन नेपाल केन्द्रीय कमिटीद्वारा आयोजित बृहत इञ्जिनीयरिङ भेलामा उनले मुलुकलाई पुनः ताजा जनादेशको आवश्यकता परेकाले आगामी वैशाखमा निर्वाचन हुनेमा कुनै शंका नरहेको स्पष्ट पारेका छन् ।

उनले भने, “आगामी महाधिवेशनसम्म धैर्य गर्न नसकेर सरकारमा रहेकै साथीहरुले संसद्लाई अस्थिरताको थलो बनाएकाले संसद् विघटन गर्नुपरेको हो”, उनले भने, “आगामी निर्वाचनमा शानदार बहुमत ल्याउनका लागि जनतासामु यथार्थ धारणा लिएर जानु पर्छ ।”

आफू सधैँ कानूनी पक्षमा रहेको प्रष्ट पार्दै प्रम ओलीले संसद् विघटनका सम्बन्धमा न्यायाधिशले गरेको फैसला नै मान्य हुने बताउँदै विदेशीको इशारामा देशलाई चल्न नदिनका लागि आफूले सधैँ खबरदारी गर्ने प्रतिबद्धता जनाए। आगामी तीन महिनाभित्र अग्रपङ्तिमा रहेर काम गर्ने सबैलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने अठोट गर्दै उनले जनताको जीवन नै आफूलाई सबैभन्दा प्यारो लाग्ने बताए ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले राष्ट्र र संविधान रक्षाका लागि सरकार सदैव क्रियाशिल रहेको धारणा राखेका थिए। उनले आफ्ना केही साथी पदका लागि सडकमा आन्दोलनसम्म गर्न पुगेको भन्दै त्यस्तो आन्दोलनले जनतालाई झुकाउन नसक्ने बताए ।

प्रधानमन्त्रीका परराष्ट मामिला सल्लाहकार डा राजन भट्टराईले इञ्जिनीयरको काँधमा देश बनाउने ठूलो जिम्मेवारी रहेकाले इमान्दारिपूर्वक काम गर्न आग्रह गरे । आयोजक संस्थाका अध्यक्ष शम्भुबहादुर श्रेष्ठले निर्वाचनको मिति तय भइसकेकाले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्न नमिल्नेमा जोड दिए। देशलाई विकास र समृद्ध उन्मुख बनाउन इञ्जिनीयरको साथ सहयोग सरकारलाई सदैव रहने प्रतिबद्धता अध्यक्ष श्रेष्ठले गरे ।

Logo