काभ्रेमा भएकाे एक दिने स्वास्थ्य शिविरमा २ हजार ४६७ को परीक्षण, ४ सयलाई निःशुल्क औषधि वितरण

काभ्रेमा भएकाे एक दिने स्वास्थ्य शिविरमा २ हजार ४६७ को परीक्षण, ४ सयलाई निःशुल्क औषधि वितरण


काभ्रेपलाञ्चोक ।

भुम्लु गाउँपालिकामा शनिबार आयोजना गरिएको स्वास्थ्य शिविरमा एकैदिन दुई हजार ४६७ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

नौ वर्षदेखि सेवा दिँदै आएको ‘हजुरलाई नमस्ते परोपकारी संस्था’ ले शिविरमा चार सय जनालाई निःशुल्क औषधी वितरण गरेको संस्थाका अध्यक्ष ताराबहादुर कुँवरले जानकारी दिए ।

“एकातिर कोरोनाको छटपटी र महामारीले सर्वसाधारण अस्पतालसम्म जान सक्ने अवस्था रहेन, अर्कोतिर अस्पताल पुगेका नागरिकले पनि सहज र सरल ढंगबाट सेवा प्राप्त गर्न सकेनन् । सोही अवस्थालाई मध्यनजर गर्दै हामीले शिविरको आयोजना गरेका हौं”, उनले भने ।

हजुरलाई नमस्ते ट्रेड लिंक प्रालिको प्रायोजनमा उक्त संस्थाले विशेष स्वास्थ्य शिविरको आयोजना गरी सरससफाइसम्बन्धी सामग्री उपलब्ध गराएको अध्यक्ष कुँवरले बताए ।

शिविरमा विशेषज्ञहरुको टोलीले महिलासँग सम्बन्धित विभिन्न रोगको परीक्षण गरेको थियो भने निःशुल्क औषधी उपलब्ध गराएको थियो । त्यस्तै सामान्य परीक्षण तथा अन्य खालका रोगहरुको पनि परीक्षण गरिएको थियो । शिविरमा चौरीदेउराली गाउँपालिकाका स्थानीयले समेत लाभ लिएका थिए ।

शिविरपछि आयोजित कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले स्थानीय सरकारले नागरिकहरुको सुखदुःखमा साथ दिइरहेको सन्दर्भमा थप सेवा तथा स्वास्थ्य सामग्री उपलब्ध गराई नागरिकलाई लाभान्वित गराएकोमा धन्यवाद दिएका थिए ।

Logo