पल्सर स्पोर्टस अवार्ड : पुरुषतर्फ मन्डेकाजी र महिलातर्फ गौरिका वर्षका उत्कृष्ट खेलाडी

पल्सर स्पोर्टस अवार्ड : पुरुषतर्फ मन्डेकाजी र महिलातर्फ गौरिका वर्षका उत्कृष्ट खेलाडी


काठमाडौं ।

नेपाल खेलकुद पत्रकार मन्चको आयोजनामा हरेक वर्ष हुँदै आएको एनएसजेएफ बजाज पल्सर स्पोर्टस अवार्डको १७ औं संस्करण आज ललितपुरमा सम्पन्न भएको छ । वर्ष २०७६ भरि गरेको प्रदर्शनका आधारमामा १० विधामा प्रदान गरिएको अवार्डमा वर्षको उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, स्पेसल, लाइफटाइम अचिभमेन्ट, पिपुल्स च्वाइस, प्यारा एथ्लिट सम्मान, टिम अफ द इयर र अन्तर्राष्ट्रिय खेलकुद पत्रकारिता अवार्ड समावेश गरिएको थियो ।

जस अन्तर्गत पौडीकी गौरिका सिंहले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन् भने करातेका मन्डेकाजी श्रेष्ठले उत्कृष्ट वर्ष पुरुष खेलाडीको अवार्ड जितेका छन् । गौरिकाले करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पार्दै अवार्ड हात पारिन् भने, मन्डेकाजीले फुटबलका विकेश कुथु, एथ्लेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

यस्तै दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा दुई स्वर्ण पदक जित्न सफल गल्फका सुवास तामाङ उत्कृष्ट युवा वर्ष खेलाडी घोषित भए । सुवास तेक्वान्दोका भूपेन श्रेष्ठ, जुडोकी पूनम श्रेष्ठ, भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकै सिना लिम्बु मादेनलाई पछि पार्दै उत्कृष्ट युवा खेलाडीको अवार्ड जित्न सफल भएका हुन् । यस्तै दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई १२ स्वर्ण पदक जिताउन सफल तेक्वान्दोका मुख्य प्रशिक्षक नविन श्रेष्ठ ‘एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७६’ बाट सम्मानित भएका छन् ।

यसैगरि दिगमसिंह चेमजोङलाई पारा एथलिट अवार्डबाट सम्मानित गरिएको छ । विगत दश वर्षमा पारा खेलकुदका धेरै खेलमा सहभागिता जनाएका दिगमसिंह पारा क्रिकेट टोलीका कप्तान समेत हुन् । एथलेटिक्सतर्फ सार्कको १३ औँ संस्करणमा दश हजार मिटर दौडमा स्वर्ण पदक जित्न सफल सन्तोषी श्रेष्ठ र तेक्वान्दोमा दुई स्वर्ण पदक जित्न सफल आयषा शाक्य विशेष अवार्डबाट सम्मानित भएका छन् भने राष्ट्रिय भलिबल टीमकी कप्तान अरुणा शाहीले पिपल्स च्वाइस स्पोर्ट्स अवार्ड २०७६ हात पारेकी छिन् । अरुणाले पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीलाई पछि पार्दैै अवार्ड हात पारेकी हुन् ।

यता पूर्व टेबलटेनिस खेलाडी गीता क्षेत्री र सिजरिन शाह ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ मा लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् भने मलेसियाका खेल पत्रकार अहमद खवारी इशा एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट सम्मानित भएका छन् । यस्तै नेपाली राष्ट्रिय महिला भलिबल टिमले ‘टिम अफ दि इयर’ अवार्ड प्राप्त गरेको छ । यस टिमले २०७६ सालमा उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक पदक जितेको थियो ।

हरेक वर्षको विश्व खेलकुद पत्रकार दिवस, जुलाइ २ मा आयोजना हुँदै आएको अवार्ड कोरोना महामारीका कारण यस वर्ष ६ महिनापछि धकेलिएको थियो । यस वर्ष अवार्डका मुख्य विधाहरुमा मनोनयनमा पर्नेहरुमा १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्णपदक विजेताहरुको बर्चश्व रहेको थियो । वर्षको उत्कृष्ट पुरुष, महिला खेलाडी, प्रशिक्षक र पिपुल्स च्वाइस अवार्डका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् भने अन्य विधाका विजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

Logo