लागूऔषध कारोबारीको सक्रियता बढेपछि प्रहरीले थाल्यो नियन्त्रण अभियान

लागूऔषध कारोबारीको सक्रियता बढेपछि प्रहरीले थाल्यो नियन्त्रण अभियान


कञ्चनपुर ।

कञ्चनपुरको दक्षिण क्षेत्रस्थित बेलौरी सीमा नाकामा लागूऔषध कारोबारीको सक्रियता बढेको छ । खुल्ला सीमा नाकाका कारण कारोबारीले सीमावर्ती भारतीय बजारबाट लागूऔषध दैनिकजसो नेपाल भित्र्याउने गरेका छन् । अनेक बहानामा नाकासम्म पुगेर लागूऔषध ल्याउने गरेको तथ्य बाहिर आएको छ ।

“कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि बन्दाबन्दी सकिएको छ । सीमावर्ती बजारमा चहलपहल शुरु भएसँगै कारोबारीको पनि सक्रियता बढेको देखिन्छ”, कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले भने, “कारोबारीले विभिन्न बहानामा लागूऔषध ल्याउने रहेछन् ।”

लागूऔषध कारोबार बढेपछि प्रहरीले त्यस क्षेत्रमा सक्रियता बढाएको उनको भनाइ छ । प्रयोगकर्तालाई मात्र पक्राउ गर्दा नियन्त्रण सम्भव नभएको निष्कर्ष निकाल्दै प्रहरीले कारोबारीलाई नै पक्राउ गर्ने उद्देश्यले सक्रियता बढाएको प्रहरी उपरीक्षक चर्तुवेदीले जानकारी दिए । “एकदम धेरै मौलायो । प्रयोगकर्तालाई मात्र पक्राउ गरेर केही हुँदैन भन्ने हाम्रो निष्कर्ष हो”, उनले भने, “अब कारोबारीलाई नै पक्राउ गर्नु पर्छ भन्ने उद्देश्यले प्रहरीको सक्रियता बढाएका हौँ ।”

सोही क्रममा दुई दिन अघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले करीब १९ ग्राम ब्राउन सुगरसहित यहाँको बेलौरी नगरपालिका–७ का ४५ वर्षीय प्रभुराम चौधरीलाई पक्राउ गरेको छ । पक्राउ परेका अभियुक्त चौधरी सो क्षेत्रमा लागूऔषध भारतबाट ल्याएर यहाँ बिक्रीवितरण गर्ने व्यक्ति हुन् । प्रहरी उपरीक्षक चर्तुवेदीले यहाँ ठूलो मात्रामा ब्राउन सुगर र खैरो हिरोइन लगायतका उच्चकोटीका लागूऔषध बिक्रीवितरण भइरहेको बताए ।

“यो नेपाल–भारत सीमावर्ती सबै जिल्लातिर समस्याको विषय छ”, उनले भने, “खुल्ला सीमानाकामा विशेष खालको निगरानी बढाउन सुक्ष्म रुपमा प्रहरी परिचालन गरेको छु ।” उनले भारतबाट लुकिछिपी यहाँ ल्याएर लागूऔषध कारोवार गर्ने र आयात गर्ने गिरोहको पहिचान गरेर धामाधम कारवाही शुरु भइसकेको बताए। “पछिल्लो समय भारतबाट ठूलो मात्रामा ब्राउन सुगर ल्याएर यहाँका प्रयोगकर्तालाई बेच्न गिरोहका सदस्यहरु धमाधम पक्राउ पर्ने गरेका छन्”, उनले भने, “अब अभिभावकले पनि सन्ततिमाथि निगरानी बढाउनु पर्ने अवस्था आएको छ ।”

प्रहरीले मातहतका युनिटलाईसमेत परिचालन गरेर विद्यालय र टोलटोलमा पनि लागूऔषध नियन्त्रणका लागि सचेतना फैलाउने अभियान थालनी गरेको छ । स्थानीय तहसँग समन्वय गरेर लागूऔषध नियन्त्रणमा खटिएको प्रहरीले युवापुस्ता यसबाट बढी ग्रसित रहेको प्रहरीको बुझाइ छ । अन्यत्र चरेश, नाइट्राभेट लगायत लागूऔषध बढी प्रयोग गर्ने गरेको देखिए पनि यहाँ ब्राउन सुगर र खैरो हिरोइनको प्रयोगकर्ता र कारोवारमा वृद्धि भएको देखिएको प्रहरीले जनाएको छ । “ब्राउन सुगर यहाँ छ्यापछ्याप्ती देखियो”, उनले भने, “यसमा संलग्न बेलैमा नचेते कानूनी कारवाहीको भागेदार हुने निश्चित छ ।”

प्रहरी उपरीक्षक चर्तुवेदीका अनुसार समाजमा यौनजन्य दुर्व्यवहार र चोरी डकैतीमा संलग्न हुने मध्ये अधिकांश लागूऔषध सेवनकर्ता रहेको देखिएको छ । “योजनावद्ध अपराधबाहेक सबैमा लागुऔषध प्रयोगकर्ताको संलग्नता देखिन्छ”, उनले भने, “छोराछोरीलाई कुलतबाट जोगाउने दायित्वप्रति अभिभावक सचेत हुनु आवश्यक छ ।”

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा लागूऔषधका ४२ मुद्दा दर्ता भएका छन् । उक्त मुद्दामा मङ्गलबारसम्म ७५ जना पक्राउ परेका छन् । पक्राउ परेका मध्ये ३३ जना अदालतबाट धरौटीमा रिहा भएका छन् भने १३ जना चालु आवमा पूर्पक्षका लागि कारागार चलान भएको प्रहरीले जनाएको छ । अदालतबाट तीन जनालाई कैद सजायँ र ११ जनालाई जरिवाना गरिएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । प्रहरी उपरीक्षक चर्तुवेदीका अनुसार चालु आर्थिक वर्षको हालसम्म कञ्चनपुर प्रहरीले मात्रै ३०७ ग्राम ८७२ मिलिग्राम खैरो हिरोइन पक्राउ गरेको छ । “नाइट्राभेट २२१ ट्याबलेट र चरेश ७५ ग्राम भन्दा बढी नियन्त्रणमा लिएका छौँ”, उनले भने, “लागूऔषध नियन्त्रण गर्न सकेन भने युवापुस्ता कुलतमा फस्ने सम्भावना रहन्छ ।” प्रहरीले गत पुसमा १४ जना र माघ महिनाको अहिलेसम्म ११ जनालाई नियन्त्रणमा लिएको छ ।

त्यसैगरी लागूऔषध तथा दुर्व्यसन रोकथाम अभियान नेपालका सुदूरपश्चिम संयोजक मदन चन्दले दुर्व्यसनमा परेकाहरुको तथ्याङ्क सङ्कलन गरेर तिनको व्यवस्थापनमा सरकारको ध्यान जानुपर्ने बताए । “दुर्व्यसनको कूलतमा रहेकालाई उपचारका लागि सुधार गृह पनि यहाँ आवश्यक छ”, उनले भने, “अभिभावकले छोराछोरी बिग्रिसकेपछि चिन्ता गर्ने प्रवृतिले समस्या विकराल बन्दैछ ।” महेन्द्रनगरमा धूमपान निषेध अभियानसमेत सञ्चालन गर्दै आएका चन्दले दातृ निकाय तथा विभिन्न निकायको पहलमा लागूऔषध नियन्त्रण सम्बन्धी यहाँ कक्षा समेत लिँदै आएका छन् । “हाम्रो पहलमा १२ जना कुलतमा फसेकालाई सुधारका लागि नार्कोन नेपाल नामक संस्थामा पठाइसके”, उनले भने, “धेरै सुधार भएर सामान्य जीवनसमेत बिताइरहेका उदाहरण छन् ।”

त्यसैगरी यहाँ सामाजिक क्षेत्रमा अढाइ दशकदेखि सक्रिय नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) एचआइभी एड्स संयोजक लवराज पाण्डेयले यहाँ लागूऔषध प्रयोगकर्ताको सङ्ख्या डरलाग्दो रुपमा बढिरहेको बताए । “किशोरकिशोरी उमेर समूहलाई सचेतना दिने खालका लक्षित कार्यक्रम सरकारले ल्याउन आवश्यक छ”, उनले भने, “कुलतमा लिप्त भएकालाई सुधार गृहमा राख्न सक्ने सबैको हैसियत पनि देखिदैन ।” उनले आफूहरुले गरेको सर्वेमा सुदूरपश्चिम प्रदेशमा तीन हजार ३२८ जना लागूऔषध सेवनकर्ता भेटिएको जानकारी दिए । “लकडाउन हुँदा पनि यहाँ लागूऔषधको कारोवारमा कमी देखिएन्”, उनले भने “खुल्ला सीमानाका मात्रै यसको कारण होइन, अभिभावक पनि जिम्मेवार बन्नु पर्छ ।”

कञ्चनपुरमा तीन वटा सुधारगृह रहेको बताउँदै उनले रोकथामका लागि लक्षित कार्यक्रम सञ्चालन गर्नु अतिआवश्यक भइसकेको बताए ।

Logo