‘आम-हड्ताल गरेर प्रचण्ड-माधव समूहले जनताका गाडी जलाएको तमासा हेर्दै हिंडे’ : प्रधानमन्त्री

‘आम-हड्ताल गरेर प्रचण्ड-माधव समूहले जनताका गाडी जलाएको तमासा हेर्दै हिंडे’ : प्रधानमन्त्री


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च मनोबलसहित बहुमत ल्याउने ढंगले निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

विहिबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई काम गर्न नदिने केही व्यक्ति पार्टी छोडेर जाँदैमा आत्तिनु नपर्ने भन्दै कार्यकर्तालाई ढाडस दिएका हुन् । आगामी निर्वाचनमा बहुमत ल्याउँछौं भन्ने मनोबल साथ अघि बढ्न निर्देशन दिए । उनले विवाद गर्ने र झगडा गर्नेहरुले पार्टी छोडेकाले अब आगामी दिनमा पार्टी आन्तरिक शुद्धिकरणसहित सुदृढ हुँदै अघि बढ्ने दाबी गरे।

कम्युनिष्टको खोल ओढेर कम्युनिष्टको विरोध ?

प्रधानमन्त्री ओलीले कम्युनिष्ठ आन्दोलनका सबै भन्दा ठूला विरोधी प्रचण्ड माधव समूह भएको बताए। कम्युनिष्टकै खोल ओढेर कम्युनिष्ट आन्दोलनको विरोध गर्ने समूहले विगतमा पनि कम्युनिष्ट आन्दोलनलाई पटक पटक बदनाम गर्ने काम गरेको दाबी गरे।

माधव नेपालप्रति आक्रमक

प्रधानमन्त्री ओलीले विहिबार पनि भूमि व्यवस्था र सुकुम्बासी समस्या समाधान गर्ने आफ्नो नेतृत्वको सरकारको अभियानलाई नेता माधव नेपालले अघि बढ्न नदिएको प्रसंग दोहोर्याए । आफ्नै कार्यकर्ता नियुक्त गर्दा पनि माधव नेपालले आफ्ना पक्षधरको कुरा उठाएर अवरोध श्रृजना गर्ने गरेको प्रधानमन्त्री ओलीले बताए ।

कानूनको पालना गर्न प्रचण्डलाई सुझाव

प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाललाई अनावश्यकरुपमा हप्की दप्की नगर्न र कानूनको पालना गर्न सुझाव दिए । प्रचण्ड माधव समूह आक्रामक ढंगले अघि बढेको तथा नियम तोड्ने धाक धक्कु लगाउने र कानून मान्दिन भन्दै प्रहरी प्रशासन तथा निर्वाचन आयोगलाई धम्की दिंदै हिंडेको उल्लेख गर्दै उनले अब ‘कानून मान्दिनँ’ भन्ने जमाना नभएको बताए ।

आमहड्ताल आव्हान गरेर प्रचण्ड माधव समूहले जनतालाई दुःख दिएको र आफूहरु चाहीं गाडी र मोटरसाईकलबाट जनताले पाएको दुःखको तमासा हेर्दै हिंडेको बताए । उनले कार्यकर्ता नभएर नेताहरु आफैं सडकमा उत्रिएको भन्दै व्यंग्य गरे ।

कृषि अनुदान

प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण र व्यवसायीकरण नै मुलुकको प्रमुख आवश्यकता रहेको बताए । तर विगतमा कृषि आधुनिकीकरणको नाममा दिइने बास्तविक किसानको हातमा नपुगेको बताए ।

उनले किसानहरुका समस्या समाधान गर्न सरकार गम्भीर ढंगले लाग्ने प्रतिवद्धता जनाए । सहकारीको अवधारणा अनुसार सहकारी अभियानमा लागेर कृषिमा सामुदायिक अनुदान लिनेतर्फ सामुदायिक प्रयासमा लाग्न पनि उनले सुझाव दिए । सरकार कृषिको आधुनिकीकरण गर्न स्पष्ट दृष्टिकोणसहित अघि बढेको उनले स्पष्ट पारे।

उनले काठमाडौंको किसान भेलाले पुनर्जागरण र नयाँ जागरणको संकेत गरेको उल्लेख गर्दै किसान आन्दोलनसँगै राजनीतिक जागरणलाई पनि देशव्यापी अघि बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले ६९ बर्षको इतिहास भएको किसान संगठनको विगतदेखि वर्तमानसम्म गरेको आन्दोलन र किसान जागरणको पनि चर्चा गरे ।

Logo