प्रधानमन्त्री ओली पक्षिय नेकपाद्वारा मोटरसाइकल र्‍यालीमार्फत शक्ति प्रदर्शन (फोटोफिचर)

प्रधानमन्त्री ओली पक्षिय नेकपाद्वारा मोटरसाइकल र्‍यालीमार्फत शक्ति प्रदर्शन (फोटोफिचर)


काठमाडौं ।

नेकपाको ओली पक्ष निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियू नेपालले बुधबार काठमाडौं उपत्यकामा मोटरसाइकल र्‍याली निकालेको छ । शुक्रबार तय गरिएको जनसभाको तयारीका लागि मोटरसाइकल र्‍याली निकालिएको आयोजकले जनाएको छ । ललितपुरको बालकुमारी पुलबाट मध्यान्ह शुरू भएको मोटरसाइकल र्‍याली सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, त्रिपुरेश्वर, एनएसी, जमल, दरबारमार्ग, नारायणहिटी, जयनेपाल हल, कमलपोखरी, रातोपुल, गौशाला, एयरपोर्ट हुँदै तीनकुने पुगेको थियो ।

र्‍यालीमा युवाहरू स्वस्फुर्तरूपमा सहभागि भएको र र्‍यालीका लागि कुनै पनि चन्दा वा रकम असुल्ने काम नभएको र्‍यालीका संयोजक तथा युवा नेता महेश बस्नेतले जानकारी दिए । बस्नेतले सञ्चारकर्मीहरूसँग कुरा गर्दै शक्तिकै विषयमा तुलना गर्ने हो भने विपक्षमा रहेकाहरूले चुनावमा भाग लिएर त्यसको प्रमाण पेश गर्न चुनौती समेत दिएका छन् ।

यता, वागमती प्रदेश कमिटीको आयोजनामा नेकपाको ओली पक्षले २३ गतेका लागि नारायणहिटी दरबारको दक्षिण ढोकातर्फको सडकमा जनसभाको तयारी गरिरहँदा प्रचण्ड–माधव पक्षीय नेकपाले बिहिबारका लागि आम हड्तालको घोषणा गरेको छ ।

प्रचण्ड–माधव पक्षको केन्द्रिय संघर्ष समितिले संवैधानिक निकायमा पदाधिकारीहरूलाई नियुक्त तथा शपथ गराएको विरोधमा आमहड्ताल गर्ने निर्णय गरेको केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । आकस्मिकरूपमा सार्वजनिक गरिएको संघर्षको नयाँ कार्यक्रमअनुसार बुधबार साँझ देशभर मसाल जुलुस र बिहीबार आमहड्ताल तय गरिएको छ । संघर्षका कार्यक्रम सार्वजनिक गर्दै समितिका संयोजक नारायणकाजी श्रेष्ठले आमहड्ताल आफूहरूको बाध्यता भएको बताए ।

यद्यपि देशव्यापी आह्वान गरिएको आमहड्तालमा अत्यावश्यक सेवामा भने कुनै पनि रोक नलगाउने श्रेष्ठले जानकारी दिए । प्रतिनिधिसभा विघटन विरुद्ध संघर्ष गर्दै आएको प्रचण्ड–माधव समूह संसदीय सुनुवाइ बिना नै विभिन्न संवैधानिक निकायमा ३२ जना पदाधिकारी नियुक्त गरेपछि थप आक्रोशित बनेको छ । यो समूहले माघ २८ गते काठमाडौंमा ‘विशाल सभा’ गर्ने कार्यक्रम पनि तय गरिसकेको छ ।

Logo