‘युद्धमा नहार्ने हामी खेलकुदमा किन हार्ने ?’ : प्रधानमन्त्री ओली (भिडियाेसहित)

‘युद्धमा नहार्ने हामी खेलकुदमा किन हार्ने ?’ : प्रधानमन्त्री ओली (भिडियाेसहित)


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी पक्षपात बिना छनोट गर्नुपर्ने सुझाव दिएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार काठमाडौँमा गरेको खेलकुदसँग प्रधानमन्त्री अन्तर्क्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगतमा जित्न सक्ने खेलाडी छनोटमा नपरेका गुनासो आएको बताए । उनले पदाधिकारी र छनोटकर्ताहरुलाई तालिमदेखि खेल प्रतियोगितासम्मका खेलाडीको छनोटमा भेदभाव नगर्न समेत सुझाव दिए । उनले गत वर्ष नेपालले सागमा प्राप्त गरेको सफलता निकै ठूलो उपलब्धि भएको भन्दै जुनसुकै खेल पनि पदक पाउने गरि खेल्नु पर्नेमा जोड दिए ।

सरकारले खेलकुद क्षेत्रको लगानीलाई बहुउत्पादनमुखी उपलब्धीको रुपमा लिएको उनको ठहर छ । खेलकुद क्षेत्र उत्पादक कि अनुत्पादक भनी चर्चा हुने गरेको प्रसंग उल्लेख गर्दै उनले बिजयी भएर पदक ल्याउँदा देशको गौरव बढाउने भएकाले खेल क्षेत्रको लगानी बेकार र अनुत्पादक नभएको बताए । खेलमा हारजीतको ठूलो महत्व रहेको भन्दै नेपाल नहारेको देश रहेकाले खेल पनि जीतका खेल्न आग्रह गरे ।

उनले जीतका लागि अति आवश्यक, अपरिहार्य र न्यूनतम आवश्यकता परिपूर्ति गर्ने गरी सरकारले खेल क्षेत्रलाई सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् । पछिल्लो समय आवश्यक सामान किन्नका लागि नभई राम्रो देखिएको सामान किन्नका लागि ‘सपिङ’मा निस्कने चलन देखिएको उनको तर्क छ ।

नेपालको भूगोल अनुसारको खेल उत्पादन गरि प्रतियोगिताहरुमा त्यस्ता खेललाई सहभागी गराउन परिषद्लाई सुझाव समेत दिए । उनले कोभिड १९ को संक्रमणको जोखिम न्यून हुँदै आएको भन्दै अब अन्य क्षेत्र जस्तै खेलकुल क्षेत्र पनि छिट्टै पुरानै लयमा फर्कने विश्वास व्यक्त गरे ।

Logo