‘नेकपाले शासन गर्ने वैधानिकता गुमायो’ : गगन थापा

‘नेकपाले शासन गर्ने वैधानिकता गुमायो’ : गगन थापा


काठमाडौं ।

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शासन गर्ने वैधानिकता सकिएको बताएका छन् ।

बुधबार काठमाडौँमा आयोजित प्रतिनिधिसभा विघटन र संवैधानिक अन्योल विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शासन गर्ने वैधानिकता र वैधता सकिएको बताएका हुन् । नेकपाले निर्वाचनबाट प्राप्त जनादेश गुमाएको उनको भनाइ छ । जनादेश गुमाउँदा राजनीतिक निष्ठाको आधारमा जनतासँग क्षमा माग्नुपर्ने भएपनि दुवै पक्षले क्षमा नमागेको उनले बताए ।

नेता थापाले सर्वोच्च अदालतमाथि सबैले आशाको नजरले हेरेको भन्दै संविधान अनुरुप सहि फैसला गर्ने विश्वास व्यक्त गरे । त्यसैगरी कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता रमेश लेखकले संविधान र लोकतन्त्रमा कम विश्वास गर्नेले संसद विघटन गरेको बताए । कम्युनिष्टको अधिनायकवादी र सर्वसत्तावादी चेतनाको कारण संसद विघटन भएको उनको भनाइ छ । यसको सम्पूर्ण अब्जस नेकपाले बोक्नुपर्ने उनले बताए।

नेता लेखकले नेपाली कांग्रेसले संसद पुनर्स्थापनाको निम्ति भूमिका निर्वाह गर्ने र सर्वोच्च अदालतले संसद पुनर्स्थापना नगरे निर्वाचनमा सहभागी हुने बताए । पुनर्स्थापना पनि नहुने र निर्वाचन पनि नहुने अवस्थामा नेपाली कांग्रेस आन्दोलनमार्फत संविधानलाई ट्रयाकमा ल्याउन तयार रहेको उनको भनाइ छ ।

Logo