आम-हड्ताल : एमसीसी विरुद्धको नारामा हच्किए प्रचण्ड (भिडियोसहित)

आम-हड्ताल : एमसीसी विरुद्धको नारामा हच्किए प्रचण्ड (भिडियोसहित)


काठमाडौं ।

आम-हड्ताल सफल गराउन ललितपुरको पुल्चोकमा अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा लागेको नाराबाजीलाई पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोकेका छन् ।

नाराबाजीका क्रममा अचानक ‘एमसीसी चाहिँदैन’ भन्ने नारा लगाइएपछि प्रचण्डले आफ्नो आवाज रोके र नारा लगाउनेलाई पनि उक्त नारा नलगाउन इशारा गरे । उनले प्रतिगमनविरुद्ध नारा लगाउन भन्दै आग्रह पनि गरे । तर एमसीसीविरुद्धको नारा लागिरह्यो, त्यसपछि अध्यक्ष प्रचण्ड चुपचाप, निरिह मुद्रामा प्रदर्शन भइरहेको स्थलबाट बाहिरिएका थिए ।

नेकपाको प्रचण्ड–माधव पक्षले बिहिबारका लागि तय गरेको आमहड्तालका कारण देशभरको जनजीवन कष्टकर बन्यो । त्यसमा पनि काठमाडौं उपत्यकामा यसको असर बढी रह्यो । गत पुष ५ गते, ओली सरकारले प्रतिनिधिसभा विघटन गरेसँगै त्यसको विरोधमा प्रचण्ड–नेपाल नेकपा समूह सडक संघर्षमा छ ।

यससँगै बुधबार विभिन्न संवैधानिक निकायका ३८ पदाधिकरीहरू नियुक्त गरिएपछि यो समूह झनै रुष्ट बन्यो । यसैको विरोध स्वरुप भन्दै बुधबार नै उक्त समूहले बिहिबारका लागि आम हड्तालको घोषणा गरेको थियो ।

सोही बमोजिम बिहिबार प्रचण्ड–माधव समूहको नेतृत्वले राजधानीका विभिन्न स्थानमा आम हड्ताल सफल बनाउन भन्दै धर्ना तथा नारा जुलुस निकालेको थियो भने, गुडिरहेका यातायातहरूमाथि तोडफोड र आगजनी समेत गर्यो । हड्तालका कारण, उपत्यकाको मात्र नभएर विराटनगर, पोखरा, जनकपुर लगायतका कयौं स्थानको जनजीवन प्रभावित भयो ।

सडकका मुख्य चोक चोकमा बसेर उक्त समूहका कार्यकर्ताले सवारी आवागमनमा बाधा पुर्याएपनि बिहिबारको आम हड्ताल सफल भए नभएका अनुगमनका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल भने गाडी र स्कुटरमै सडकमा निस्किएका थिए । केही केही स्थानमा उनीहरू प्रतिगमनविरुद्धको जुलुसमा समेत सहभागी भए । यस्तै अन्य नेताहरूले पनि हडताल सफल बनाउनका लागि भूमिका निर्वाह गरेका थिए ।

आम हड्तालको घोषणा हुना साथ नेपाल प्रहरीले समेत व्यापक सुरक्षा तयारी गरेको जनाएको थियो भने बिहिबार बन्द सफल गराउन निस्किएका थुप्रै नेकपाका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गर्यो । केही स्थानमा भएका झडपमा परि केही नेता तथा कार्यकर्तासमेत घाइते भएको प्रहरीले जनाएको छ ।

यता, ओली पक्षीय नेकपा समूहसहित, विवेकशील साझा पार्टी, मजदूर, पेशाकर्मी तथा विद्यार्थीहरूले विभिन्न स्थानमा देशभर आह्वान गरिएको आम हड्तालको विरोध गरेका छन् । काठमाडौंमा ओली समूहको युवासंघ, विद्यार्थी संगठन र विवेकशील साझा पार्टी लगायतले सडकमै उत्रिएर आम हड्तालको विरोध गरेका छन् । अन्य पेशाकर्मीहरूले गरिखान पाउनु पर्छ भन्दै बन्दको विकल्प खोज्न आग्रह गरे । आम हड्ताल जनताको हित विपरित रहेको भन्दै नेकपाको प्रचण्ड–माधव समूहले सामाजिक सञ्जालमा पनि यसको चर्को आलोचना भोग्नु पर्यो ।

Logo