आम-हड्तालकाे दिन आज सडकमा जे देखियो (भिडियाेसहित)

आम-हड्तालकाे दिन आज सडकमा जे देखियो (भिडियाेसहित)


काठमाडौं ।

नेकपाको प्रचण्ड–माधव पक्षले बिहिबारका लागि तय गरेको आमहड्तालका कारण देशभरको जनजीवन कष्टकर बन्यो । त्यसमा पनि काठमाडौं उपत्यकामा यसको असर बढी रह्यो । गत पुष ५ गते, ओली सरकारले प्रतिनिधिसभा विघटन गरेसँगै त्यसको विरोधमा प्रचण्ड–नेपाल नेकपा समूह सडक संघर्षमा छ ।

यससँगै बुधबार विभिन्न संवैधानिक निकायका ३८ पदाधिकरीहरू नियुक्त गरिएपछि यो समूह झनै रुष्ट बन्यो । यसैको विरोध स्वरुप भन्दै बुधबार नै उक्त समूहले बिहिबारका लागि आम हड्तालको घोषणा गरेको थियो ।

सोही बमोजिम बिहिबार प्रचण्ड–माधव समूहको नेतृत्वले राजधानीका विभिन्न स्थानमा आम हड्ताल सफल बनाउन भन्दै धर्ना तथा नारा जुलुस निकालेको थियो भने, गुडिरहेका यातायातहरूमाथि तोडफोड र आगजनी समेत गर्यो । हड्तालका कारण, उपत्यकाको मात्र नभएर विराटनगर, पोखरा, जनकपुर लगायतका कयौं स्थानको जनजीवन प्रभावित भयो ।

सडकका मुख्य चोक चोकमा बसेर उक्त समूहका कार्यकर्ताले सवारी आवागमनमा बाधा पुर्याएपनि बिहिबारको आम हड्ताल सफल भए नभएका अनुगमनका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल भने गाडी र स्कुटरमै सडकमा निस्किएका थिए । केही केही स्थानमा उनीहरू प्रतिगमनविरुद्धको जुलुसमा समेत सहभागी भए । यस्तै अन्य नेताहरूले पनि हडताल सफल बनाउनका लागि भूमिका निर्वाह गरेका थिए ।

आम-हड्ताल सफल गराउन ललितपुरको पुल्चोकमा अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा लागेको नाराबाजीलाई पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोकेका छन् ।

नाराबाजीका क्रममा अचानक ‘एमसीसी चाहिँदैन’ भन्ने नारा लगाइएपछि प्रचण्डले आफ्नो आवाज रोके र नारा लगाउनेलाई पनि उक्त नारा नलगाउन इशारा गरे । उनले प्रतिगमनविरुद्ध नारा लगाउन भन्दै आग्रह पनि गरे । तर एमसीसीविरुद्धको नारा लागिरह्यो, त्यसपछि अध्यक्ष प्रचण्ड चुपचाप, निरिह मुद्रामा प्रदर्शन भइरहेको स्थलबाट बाहिरिएका थिए ।

आम हड्तालको घोषणा हुना साथ नेपाल प्रहरीले समेत व्यापक सुरक्षा तयारी गरेको जनाएको थियो भने बिहिबार बन्द सफल गराउन निस्किएका थुप्रै नेकपाका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गर्यो । केही स्थानमा भएका झडपमा परि केही नेता तथा कार्यकर्तासमेत घाइते भएको प्रहरीले जनाएको छ ।

यता, ओली पक्षीय नेकपा समूहसहित, विवेकशील साझा पार्टी, मजदूर, पेशाकर्मी तथा विद्यार्थीहरूले विभिन्न स्थानमा देशभर आह्वान गरिएको आम हड्तालको विरोध गरेका छन् । काठमाडौंमा ओली समूहको युवासंघ, विद्यार्थी संगठन र विवेकशील साझा पार्टी लगायतले सडकमै उत्रिएर आम हड्तालको विरोध गरेका छन् । अन्य पेशाकर्मीहरूले गरिखान पाउनु पर्छ भन्दै बन्दको विकल्प खोज्न आग्रह गरे । आम हड्ताल जनताको हित विपरित रहेको भन्दै नेकपाको प्रचण्ड–माधव समूहले सामाजिक सञ्जालमा पनि यसको चर्को आलोचना भोग्नु पर्यो ।

आम-हड्तालमा को नेता कहाँ पक्राउ परे ?

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहले गरेको देशव्यापी आमहड्तालको प्रभाव संघीय राजधानी काठमाडौंसहित देशभर परेको छ । देशका विभिन्न ठाउँबाट नेकपाका नेता कार्यकर्ता पक्राउ परेका छन् भने ठाउँ ठाउँमा गाडीहरु तोडफोड गरिएका छन् । आज को नेता पक्राउ परे ?

१. ​कलंकीबाट स्थायी कमिटी सदस्य तथा वागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, केन्द्रीय सदस्य तथा केन्द्रीय संघर्ष समितिका सचिव डा. विजय पौडेल, केन्द्रीय कमिटी सदस्य हितमान शाक्य, केन्द्रीय कमिटी सदस्य तथा अखिल नेपाल महिला संघकी अध्यक्ष अमृता थापा लगायतका नेता–कार्यकर्ताहरुलाई विहानै गिरफ्तार गरिएको छ ।

२. ​चाबहिलबाट केन्द्रीय कमिटी सदस्य कृष्ण के.सीसहितका नेताहरुलाई गिरफ्तार गरिएको छ भने बागबजारबाट युवा नेता रमेश मल्लसहित विद्यार्थीहरुलाई गिरफ्तार गरिएको छ ।

३. ​काठमाडौँका विभिन्न स्थानबाट गिरफ्तार गरिएका ७२ जना नेता–कार्यकर्तालाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा राखिएको छ ।

४. ​तनहुँमा केन्द्रीय कमिटी सदस्य प्रतापलाल श्रेष्ठका साथै अतिन्द्रकेशरी न्यौपाने, ओमराज आले, विष्णुभक्त सिग्देल, श्रीराम कार्कीसहित १६ जना नेता–कार्यकर्तालाई गिरफ्तार गरिएको छ ।

५. ​जनकपुरमा आम हडतालका क्रममा निस्किएको जुलुशमाथि पछाडिबाट फायर चलाइएको छ । केन्द्रीय कमिटी सदस्य रामचन्द्र झाको टाउकोमा तीन ठाउँमा गम्भीर चोट लागेको छ भने स्थायी कमिटी सदस्य मात्रिका यादवको खुट्टामा चोट लागेको छ । प्रहरीको प्रहारबाट काशिराम यादवको टाउको र उमेश साहको हात र छातीमा गम्भीर चोट लागेको छ । १० जना कार्यकर्तालाई घाइते बनाइएको छ । त्यहाँ १२ जनालाई गिरफ्तार गरिएको छ ।

६. ​वीरगञ्जमा रामबाबु बैठा, रहबर अन्सारी, मनोज चौधरी, प्रभाकर गुप्ता लगायतका ३५ जना नेता–कार्यकर्तालाई गिरफ्तार गरिएको छ ।

७. ​सिरहामा विवेक परियार, विराट मण्डल लगायतका नेता–कार्यकर्तालाई गिरफ्तार गरिएको छ ।

८.​बाराबाट मुकेश शाह, जवाहिर अन्सारी, हरिओम शाह, राजेश पटेलसहित ६ जना नेताहरुलाई गिरफ्तार गरिएको छ ।

९.​विराटनगरमा पारुल क्षेत्रीसहित ७ जना नेता–कार्यकर्तालाई गिरफ्तार गरिएको छ भने धरानमा तीन जनालाई गिरफ्तार गरिएको छ ।

१०. ​कास्कीमा विनायक तिमिल्सेनालाई गिरफ्तार गरिएको छ ।

 

Logo