चिसोबाट महोत्तरीको मुसहर बस्तीमा एकै परिवारका तीन जनाको मृत्यु

चिसोबाट महोत्तरीको मुसहर बस्तीमा एकै परिवारका तीन जनाको मृत्यु


जलेश्वर ।

हास्य कलाकार धुर्मुस सुन्तलीले महोत्तरी जिल्लाको बर्दिबासमा बनाएको एकीकृत नमूना बस्तीमा चिसोका कारण एकै परिवारका तीन सदस्यको मृत्यु भएको छ । बीस दिनको अवधिमा स्थानीयवासी रामरती सदाका घरमा एक बुहारी, एक नाति र एक नवजात नातिनीको मृत्यु भएको हो ।

पत्रकारको एक समूह विहिबार मुसहरको एकीकृत बस्तीमा उनीहरुको अवस्थाबारे सोधखोज गर्न जाँदा रामरतिको परिवारमा ठूलो बज्रपात भएको खुलासा भएको हो । ओढ्ने, ओछ्याउने, पर्याप्त न्यानो लुगाफाटा (सिरक, डस्ना) तथा तातो खानेकुराको अभावमा पुस ९ गते रामरतिकी ३५ वर्षीया गर्भवती बुहारी सितोलाई अत्यधिक चिसो लागेको र अत्यधिक रक्तश्राव भएपछि उनलाई उपचारका लागि बर्दिबास अस्पतालमा लगिएको थियो ।

उनले रक्तश्रावकै बीच छोरी जन्माएकी थिइन् । केहीबेरको अस्पताल बसाइपछि नै उनको मृत्यु भएको थियो । साथै नवजात शिशुको पनि जन्मेको ६ घण्टामै मृत्यु भएको थियो । एकैसाथ बुहारी र नातिनीको मृत्युपछि रामरतिका घरमा शोक छाएको थियो । सामाजिक, धार्मिक परम्परा अनुसार उनको क्रियाकर्म गर्दै गर्दा गत मङ्गलबार १३ औंँ दिनको पुण्यतिथिमा अचानक उनका अर्का आठ महिने नाति (हरिनारायण सदाका माहिला छोरा) आठमहिने प्रभासको पनि मृत्यु भएको रामरतिले सञ्चारकर्मीलाई जानकारी दिए ।

गरीबी र विपन्नताको जाँतोमा पुस्तौँपुस्ता पिल्सिँदै आएकी रामरतिको परिवारलाई बन्दाबन्दीले झन् विपन्न बनाएका बेला यसपालिको चिसोले २० दिनकै अन्तरालमा परिवारका तीन सदस्य बितेका हुन् । सो बस्तीमा ३५० परिवार दलित मुसहर रहेकामा हाल १८ सुत्केरी र १० गर्भवती छन् ।नेपाल समाचारपत्रबाट

Logo