सर्वसाधारणमा बीमा पहुँच बढाउनु पर्नेमा जोड

सर्वसाधारणमा बीमा पहुँच बढाउनु पर्नेमा जोड


काठमाडौं ।

अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले आगामी दिनमा बीमा पहुँच बढाउनु पर्ने बताएका छन् ।

बिहिबार बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवाललाई सपथ ग्रहण कार्यक्रममा सचिव पुडासैनीले बीमाको पहुँच बढाउनु पर्ने प्रमुख जिम्मेवारी रहेको बताएका हुन् । उनले बीमा क्षेत्रमा सुशासनको समस्या रहेको भन्दै राम्रो नियमको विकास गर्नुपर्ने चुनौती रहेको पनि बताए । कोरोना बीमाको दाबी गर्नेहरुलाई भुक्तानी गर्नु तथा फन्डको व्यवस्थापन गर्ने चुनौती रहेको पनि उनको भनाइ छ । सरकारको स्वामित्वमा रहेका दुई बीमा कम्पनीहरुलाई पारदर्शी बनाउनु पर्ने पनि उनको भनाइ छ ।

बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीको पहुँच बिस्तारका साथै कम्पनीको विश्वसनीयता बढाउन आफू खरो उत्रिने बताए । नीतिगत कुराहरुलाई फास्टट्रयाकमा लैजान मन्त्रालयको सहयोगको अपेक्षा रहेको उनको भनाइ छ ।

बीमा क्षेत्रको वर्तमान समस्यालाई समाधान गर्दै नीतिगत संरचनालाई समीक्षा गरिने उनले बताए । अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गानाले नवनियुक्त अध्यक्ष सिलवाललाई शपथ खुवाएका थिए । कार्यक्रममा उपस्थित अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयको तर्फबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Logo