खोस्टाको पुतलीः लक्ष्मी नकर्मीलाई बरदान

खोस्टाको पुतलीः लक्ष्मी नकर्मीलाई बरदान


भनिन्छ जहाँ इच्छा त्यहाँ उपाय । अनि जहाँ संघर्ष त्यहाँ सफलता । सफल व्यक्तिहरु एकै पटक धुरीबाट पलाएका हैनन् ।

उनीहरुको संघर्ष शुन्यबाट सुरु भएको हुन्छ । मानिस यतिसम्म संघर्ष गर्न तिर लाग्छ कि उसले आफ्नो बारेमा कहिले सोच्दैन आफ्नो कामलाई मात्र ध्यान दिन्छ अनि कहिले समय बित्छ पत्तै पाउँदैन । कोही त यस्तो पनि हुन्छ कि आफ्नो कामलाई नै सबैथोक सम्झन्छन् । घर परिवारबारे सोच्नै भ्याउँन्नन् । जीवनभर संघर्ष गरिरहन्छ । यस्तै निरन्तर संघर्ष गर्ने मध्येकी एक हुन् लक्ष्मी नकर्मी । 

ललितपुरमा जन्मिएकी लक्ष्मीले मकैको खोस्टामा २८ वर्ष विताइसकिन् । दिदीबहिनीसँग मिलेर सुरु गरेको व्यावसायले उनलाई अहिले देशविदेशसम्म पहिचान दिएको छ । मकैको खेर जाने खोस्टालाई उनले आफ्नो व्यवसाय बनाइन् । भनिन्छ, हरेक मान्छेले कुनै न कुनै दिन जीवनयापनका लागि एउटा न एउटा अवसर प्राप्त गर्छ । त्यो अवसर पहिचान गर्न सक्ने व्यक्ति सफल बन्छ । वेवास्था गर्नेको जीवन ऐजनऐजन चल्छ । त्यस्तै अवसर समाएर सफल बनेकामध्येकी एक हुन लक्ष्मी नकर्मी । मकैको खोस्टामा नजर लगाउँदै गर्दा लक्ष्मीले किनकिन त्यसैमा भविष्य देखिन् ।    

रहरै रहरमा थालेको कामलाई उनले २०६५ सालमा घरेलु उद्योगमा दर्ता गराइन् । घर परिवारको साथमा काम सुरु गरिन् । खासगरी ३ दिदीबहिनीले मिलेर काम सुरु गरे । अरुले फालेका खोस्टालाई जम्मा गरेर विभिन्न पुतली बनाउन थालिन् । उनको लागि जीवन जीउने कला वा उनले संघर्ष गर्ने ठाउँ जे भने पनि त्यही मकैको खोस्टा बन्यो । 

कसरी सुरु गरिन् पुतली बनाउँन ?
अमेरिकाको क्यालिफोर्नियाबाट निस्कने एउटा पत्रिकामा उनले खोस्टाबाट बनेका स्थानीय कलामा आधारित पुतली देखिन् । जुन हल्का आकृती मात्रै देखिन्थ्यो । लक्ष्मीले सोचिन्, नेपाली कला र सांस्कृतिक भेषभुषामा आधारित यस्तै कलात्मक सामान कसो बनाउन नसकिएला । यस्तो सोँच  राखेर उनले दिनरात मेहनत गरिन् । अनि सफल भइन् पुतली बनाउन । यो उनको कडा मेहनत र लगनशीलताको परिणाम नै हो । 

उनले अहिलेसम्म १२ सयभन्दा बढी महिला र त्यतीनै हाराहारीमा पुरुषहरुलाई  निःशुल्क तालिम दिएकी छन् । गाउँघरमा गएर सिप सिकाउन भ्याएकी छिन् । देशभरका विभिन्न होलसेलबाट उनको पुतलीको माग धेरै छ । 

सुन्न नसक्ने  र बोल्न नसक्नेलाई काममा पहिलो प्राथमिकता
उनीसँग काम गर्ने मध्ये अधिकांश सुन्न र बोल्न नसक्नेहरु छन् । उनले उनीहरुलाई मात्रै प्राथमिकता दिनुमा पनि रोचक कुरा छ । उनी भन्छिन्, ‘म सँधै यस्ता मानिसहरु मात्र राख्छु । जो सुन्न र बोल्न सक्दैनन् । अरु पनि छन् तर पहिलो प्राथमिकतामा चाहिँ यिनीहरुलाई नै राख्छु किनभने उनीहरुको जीवनयापन सहज होस । जोकोहीले उनीहरुलाई अवसर दिँदैनन् । 

भन्छिन्, उनीहरुलाई कसले सिकाउछ ? कसले वास्ता गर्छ ? कसले जागिर दिन्छ ? त्यसैले म आफैं सकेसम्म उनीहरुलाई स्वलम्बी बनाउन प्रयास गरिरहेकी छु । अझै थप्छु यस्तै खालका । एक जनामात्रै सम्पर्कमा आए भने उनैले साथीभाइ, साथीभाइले आफ्ना साथीभाइलाई सम्पर्क गराउँछन् । त्यसले एउटा लहरो नै तान्छ । यसरी बढाउँदै लाने हो ।’  लक्ष्मीको कामलाई बिदेशीले पनि राम्रैसँग नियालेका छन् ।

लकडाउनको समयमा उनको घरमै आएर विदेशीले उनीसँग केही कुरा सिकेका छन् । तर पनि आफ्नै देशका र अपाङता भएकाहरु उनको सधैं प्राथमिकतामा रहेका छन् । ४८ वर्षिय लक्ष्मीले एउटा घर नै भाडामा लिएर काम गरिरहेकी छन् । उनले जति अप्ठ्याराहरु भोग्नु पर्ने हो भागिसकिन् । अहिले न त बजार न त कामदार र कच्चापदार्थको नै उनलाई खाँचो पर्छ । 

भन्छिन्, ‘मैले बनाएको सामानहरु लिन यहीँ घरसम्म आउनुहुन्छ खुशी लाग्छ । इन्टरनेटको सहायताले बजारीकरण गर्न सजिलो भएको छ । यही इन्टरनेटले ग्राहकलाई मेरो घरसम्मको बाटो पनि देखाइदिएको छ । यस्तो गर्दा मलाई खुशी लाग्छ । पर्यटनमा आधारित हस्तकला उद्योग भएकोले सधै राम्रै व्यावसाय नहुने उनको भोगाइ छ ।

अरुका लागि अभिषाप भए पनि कोरोना कहर भने उनका लागि फलिफाप नै सिद्ध भयो । यो बीचमा उनले इन्टरनेटको राम्रैसँग पदुपयोग गरिन् । जसले उनको व्यवसायलाई थप उचाइ दियो । भन्छिन्, ‘भूकम्प र महामारीका समय गाहे बनायो तर मैले हार मानिन । सबैभन्दा बढी भूकम्पले दुःख दियो । त्यसले सिकाएको पाठ मैले महामारीमा प्रयोग गरे । घरबाट निस्कन नपाएपनि मैले मेरो व्यवसायलाई थप उचाइ दिएकै छाडे ।

त्यसैले हार मानेर हैन समस्याको सामना गरेर अप्ठ्याराहरुलाई जित्न सकिन्छ ।’ लक्ष्मी जस्ता धेरै महिला उद्यमीहरुले संघर्ष गरेर सफलता कमाइरहेका छन् । अनि धेरै महिलालाई रोजगारी समेत दिएका छन् । उदाहरणीय व्यक्ति बन्न सफल भएका छन् । आफ्नो नाम देश तथा विदेशमा चिनाउँन सफल भएका छन् । 

Logo