संघीय सरकारकाे अनुमति ढिलाइले राेकियाे प्रदेशको ‘सिंहदरबार’ निर्माण

संघीय सरकारकाे अनुमति ढिलाइले राेकियाे प्रदेशको ‘सिंहदरबार’ निर्माण


कर्णाली प्रदेश सरकार गठन भएको पहिलो कार्यकाल सकिन लाग्दासम्म एकीकृत प्रशासनिक भवन निर्माणपूर्वका प्रक्रियामै अल्झिएका कारण समस्यf हुँँदै आएको छ । प्रदेशको प्रमुख प्रशासनिक भवन निर्माण गर्न जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढाएको लामो समय भए पनि संघीय सरकारबाट स्वीकृत पाएकाे छैन् । 

भवन निर्माणस्थल जग्गा प्राप्तिका लागि संघीय सरकारसमक्ष प्रस्ताव पठाए पनि अहिलेसम्म स्वीकृत भएको छैन । बजेट विनियोजन गरेर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने काम घि बढाइएको छ । पूर्वाधार विकास निर्देशनालयका अनुसार डीपीआर बन्न अझै एक महिना लाग्ने देखिएको छ । निर्देशनालयका निर्देशक रामशरण आचार्यले एक महिनाभित्र डिपीआर तयार गरेर संरचना निर्माणको टेण्डर सुरु गर्ने तयारी भइरहेकाे बताए ।

प्रदेशका सबै मन्त्रालयलाई एउटै कम्पाउण्डमा सञ्चालन गर्नेगरी वीरेन्द्रनगरनगर–७ इत्राम पश्चिमतर्फको भागमा संरचना बनाउने तयारी गरिएको छ । सो जग्गाको स्वमित्व भने प्रदेश सरकारसँग छैन । जग्गाको स्वमित्व नहुँदा काम अघि बढाउन कठिनाइ भइरहेको निर्देशक आचार्य बताउँछन् । ‘जग्गा प्राप्तिका लागि संघीय सरकारसँग अनुरोध गरिएको छ,’ उनले भने, ‘माथिबाट स्वीकृत भएर नआए पनि काम सुरु गर्ने र स्वीकृतका लागि पहल जारी राख्ने छलफल भएको छ ।’ जग्गा प्राप्ति नभएको अवस्थामा पनि असोज मसान्तभित्र भवन निर्माणका लागि ठेक्काको काम अघि बढाउने मनसायमा प्रदेश सरकार छ ।

सरकारकै जग्गा भएकाले काम सुरु गर्दै जाने र स्वीकृत गराउने तयारीमा रहेको सरकारी अधिकारीहरूको भनाइ छ । जग्गाको स्वामित्व प्रदेशमा ल्याउन संघीय सहरी विकास मन्त्रालयको स्वीकृतिका लागि झन्डै दुई वर्षअघि नै पत्राचार गरिएको थियो ।

सो जग्गा अहिले सुर्खेत उपत्यका नगर विकास समितिको मातहतमा रहेको छ । प्रदेश सरकारसँग भूमिसम्बन्धी अधिकार नभएकाले संघीय सरकारको स्वीकृतिविना योजनालाई अघि बढाउन भने चुनौती देखिएको छ । कर्णाली सरकारले चालु आर्थिक वर्षको बजेटमा पनि प्रशासनिक भवन निर्माणका लागि १० करोड बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारका मन्त्रालयहरूबाट दिइने सेवा–सुविधा एउटै स्थानबाट उपलब्ध गराउन मन्त्रालयहरूको एकीकृत भवन निर्माण कार्यको सुरु गरिने बजेट वक्तव्यमा उल्लेख छ । यो वर्ष विनियोजन गरिएको बजेटबाट डीपीआर निर्माण र भवन निर्माण स्थलको संरक्षणका लागि सुरक्षा पर्खाल निर्माण गरिने जनाइएको छ ।

प्रस्तावित भवन निर्माणस्थलमा तत्कालका लागि चार वटा मन्त्रालय अट्ने गरी दुई वटा ‘ब्लक’ निर्माण गर्नेगरी डीपीआर बनिरहेको छ । प्रदेशको ‘सिंहदरबार’ दुई बिघाभन्दा बढी क्षेत्रफलमा बन्नेछ भने एकै हाताभित्र सबै मन्त्रालयका केन्द्रीय सचिवालय बनाउने तयारी गरिएको छ । लिफ्टसहितको सुविधासम्पन्न भवनमा अपांगमैत्री संरचना निर्माण गरिनेछन् । सबै भवन अन्डरग्राउन्ड पार्किङसहितका निर्माण गर्नेगरी डिपीआर तयार गरिएको छ ।

बहुवर्षीय उक्त भवन निर्माण सम्पन्न गर्न करिब ५१ करोड खर्च हुने अनुमान छ । अहिले कर्णालीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहितका अन्य मन्त्रालयहरू तीन दशकभन्दा पुराना भवनहरूबाट सञ्चालनमा छन् । ती भवनहरू पनि संघीय संरकारको स्वामित्वमा छन् । भवनको स्वामित्व प्रदेश सरकार मातहत हुनुपर्ने माग गरिएपनि प्रक्रिया भने अझै थालिएको छैन । 

Logo