कुलमानतर्फ इंगित गर्दै हरिवंशले भने- राम्रो मान्छे लैजाँदैछन् भन्ने सुनेको छु, शुभकामना !

कुलमानतर्फ इंगित गर्दै हरिवंशले भने- राम्रो मान्छे लैजाँदैछन् भन्ने सुनेको छु, शुभकामना !


वरिष्ठ कलाकार हरिवंश आचार्यले सरकारले अब विद्युतीय सवारीसाधन बाहेकका सवारीसाधन आयात नै गर्न नपाउने नियम अवलम्वन गर्नुपर्ने बताएका छन् । 

शुक्रवार नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विद्युतीय सवारीको भन्सार घट्यो भने कर्मचारीहरुलाई तलव दिने पैसा हुँदैन भन्ने सोचेर सरकारले विद्यतीय सवारीको कर बढाइरहेको बताए । उनले विद्युतीय सवारीसाधनको कर बढाउँदा आफूले विद्युतीय सवारी चढ्न नपाएको गुनासो गरे । उनले सरकारले विद्युतीय सवारीको कर बढाएकै कारण आफ्नो विद्युतीय सवारी किनेर चढ्ने सपना पूरा हुन नसकेको र घरमा पनि श्रीमतीले हरेक दिन सरकारले भन्सार घटाएन भन्ने प्रश्न गरिरहेको भन्दै व्यंग्य गरे । 

वरिष्ठ कलाकार आचार्यले सरकारले विद्युतीय गाडीको भन्सार घटाइ डिजेल र पेट्रोलको खपतलाई कम गर्न आवश्यक रहेको बताए । उनले देश विकासका लागि सरकारले दीर्घकालीन योजना बनाउन आवश्यक रहेको पनि बताए । वरिष्ठ कलाकार आचार्यले सार्वजनिक यातायात पूर्णतया विद्युतीयकरण हुनसके मात्रै खर्बौं रकम विदेश जानबाट रोकिने दाबी गरे । 

‘बिजुली गाडीको कुरा आयो, बिजुली गाडीको कुरा आउँदा मलाई पनि बिवाईडी गाडीले ब्राण्ड एम्बास्डर बनाएको छ । मैले एउटा बिजुली गाडी चढ्ने सपना बनाएको थिएँ । त्यो सपनाको लागि केही रकम मैले बुझाइ पनि सकेको छु र केही रकम सहुलियत पनि दिने वाचा गर्नुभएको छ । तर बजेट भाषणले गर्दा मैले जुन चढ्न पाउने सपना थियो बिजुलीको गाडी त्यो गाडी अहिले आइरहेको छैन । श्रीमतीले मलाई जहिले पनि प्रश्न गर्दछिन् । हजुहरुको गाडी के भयो नआउने भयो ? भन्छिन् । अर्थ मन्त्रालयले त्यसलाई संशोधन गर्छ रे त्यसपछि आउँछ होला भनेको । घरमा गइसकेपछि श्रीमतीले त्यो अर्थमन्त्रीले आज पनि केही कुरा गरेन गाडीको विषयमा ? भनेर सधैँ जसो त्यस्तो प्रश्न गर्दैछिन् ।’ उनले भने, ‘अब हाम्रो देशको आर्थिक अवस्थाले गर्दा गाडीमा यति धेरै ट्याक्स छ । अरु केही बेच्नसक्ने होइन, ट्याक्सबाट मात्रै देश चलेको हुन्छ । बिजुलीको गाडीको ट्याक्स घट्यो भने सायद कर्मचारीलाई तलव दिने पैसा हुँदैन भनेर अर्थमन्त्रीज्यू उहाँको व्यक्ति होइन सरकारले सोचेको होला । त्यसमा ट्याक्स आयो भनेपनि कमसेकम पेट्रोल, डिजेलमा बगेको पैसाको खोलो कम हुन्थ्यो । हामी क्षणिक रुपमा नसोचौँ, दीर्घकालीन रुपमा सोच्ने हो भने अब बिजुलीका गाडी बाहेक अरु गाडी आयात नै गर्न नपाउने नियम अवलम्वन गर्नुपर्दछ । पब्लिक ट्रान्सपोटेशनहरु पूर्ण विद्युतीयकरण हुनुपर्दछ ।’  

वरिष्ठ कलाकार आचार्यले नेपालले युवाको उर्जा बेचेर नभइ विद्युतीय उर्जा व्यापार गरेर देशलाई समृद्धिको दिशामा अघि बढाउने कुरामा जोड दिनुपर्ने बताए । उनले नेपालको निर्यात र आयातको स्थिति राजमार्ग हेरेर थाहा हुने व्यंग्य गर्दै देब्रे तिरको बाटो भन्दा दायाँ तिरको बाटोमा खाल्डो पर्ने गरेर निर्यात गर्न जरुरी रहेको बताए । उनले पछिल्लो समय विद्युतको माध्यमबाट नेपालमा शुभ संकेत देखिन थालेको भन्दै बिजुलीको विकाससँगै नेपालको औद्योगिक विकास पनि शुरु हुने विश्वास पलाएको बताए । 

वरिष्ठ कलाकार आचार्यले देशको विकासका लागि विद्युतको व्यापार बाहेकको विकल्प नरहेको भन्दै ठूला जलविद्युत बनाउनु हुँदैन भन्ने कुराको भ्रममा नपर्न आग्रह गरे । उनले आफ्नै देशमा भएको विद्युत खपत बढाएर देशलाई संसारको सबैभन्दा विकसित देशको दाँजोमा उभ्याउन सक्नुपर्ने बताए । 

‘हामी यत्ति धेरै उर्जा निर्यात गर्दछौँ, त्यो उर्जा भनेको युवाहरु हो । दशौं लाख युवाहरुलाई हामीले विदेशमा निर्यात गरेका छौँ । त्यही निर्यात गरेर हामीले हाम्रो अर्थतन्त्रलाई अघि बढाइरहेका छौँ । हाम्रो निर्यात र आयातको स्थिति नेपालको राजमार्गको बाटो हेरेपनि थाहा हुन्छ भन्ने भनाइ छ । कसरी भन्दा देब्रेतिर भासिएको हुन्छ रे, किनभने देब्रे बाटोबाट आउँदा हामो ट्रकहरु भरिभराउ भएर आउँछन्, त्यसको वेटले हाम्रो राजमार्गहरुको एउटा साइट भासिएको हुन्छ । अर्को साइट भासिएको हुँदैन । त्यसबाट खालि ट्रकहरु मात्रै जान्छन् । हामीसँग निर्यात गर्ने चिज एकदम कम छ । हामी कबाडीका सामानहरु निर्यात गर्दछौँ, त्यसबाट सडकलाई खासै धेरै लोड पर्दैन । आयातको कुरा गर्दा नेपालको सुदूरपश्चिम जाऔँ, सुदूरपूर्व जाऔँ, विकट क्षेत्रमा जाउँ, चाइनिज लसुन र स्याउ हुन्छ ।’ उनले भने, ‘अब भने शुभ संकेतहरु देखिन थालेका छन्, बिजुलीको शुभ संकेत देखिएको छ, डाटा हेर्दा निर्माणको गति देखिएको छ । अब हामीसँग पनि निर्यातका लागि केही कुराहरु तयार हुँदैछन् । बिजुलीको विकाससँगै नेपालको औद्योगिक विकास पनि शुरु हुन्छ भन्ने आशा पलाएको छ । आज पनि ठूला जलविद्युत आयोजना बनाउनु हुँदैन भन्ने गाइँगुइँ सुनिन्छ । तपाईहरुले यसमा बोल्दिनुहोस् भन्ने गर्छन् । तर हामीसँग यो भन्दा अर्को विकल्प केही पनि छैनन् । कति दिनसम्म हामीले युवा शक्तिलाई बेचेर बस्ने ? अब हामीले आफ्नै देशमा भएको विद्युत खपत बढाएर आफ्नो देशलाई संसारको सबैभन्दा विकसित देशको दाँजोमा हामी पनि उभिन सकौँ भन्ने कल्पना गर्नुपर्दछ । त्यसको लागि नेतृत्वदायी भुमिका असाध्यै ठूलो हुन्छ ।’
 
फरक प्रशंगमा उनले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई प्राधिकरणमा पुनः नियुक्ति गर्दा अहिले नेपालले विद्युत व्यपार गरिरहेको र उनको काम प्रशंसायोग्य रहेको बताए । उनले विद्युतको क्षेत्रमा भएको उपलब्धि घिसिङका कारण सम्भव भएको भन्दै राम्रो व्यक्तिलाई सबैले आफूतिर लैजाने गरेको बताए । उनले नेकपा (माओवादी केन्द्र) ले काठमाडौंबाट आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बनाउन लागेको भन्ने चर्चाप्रति इंगित गर्दै राम्रो मान्छेलाई लैजाने भन्ने हल्ला सुनेको छु, भन्दै शुभकामना व्यक्त गरे । 

उनले भने, ‘कुलमान सरलाई विद्युत प्राधिकरणमा पुनः नियुक्ति गर्नुपर्छ भनेर फेसबुकमा नै स्टाटस लेखेर राखेका थियौँ । त्यसमा यति धेरै फिडब्याक आयो, उहाँ जस्तो मानिस चाहिन्छ भनेर । राम्रो मान्छेलाई जसले पनि लैजान्छन् । लैजाने रे भन्ने हल्ला पनि सुनेका छौँ हामीले । उहाँलाई शुभकामना ।’ 

वरिष्ठ कलाकार आचार्यले दशौं लाख युवाहरुलाई हामीले विदेशमा निर्यात गरेर आएको रेमिटेन्सबाट देशको अर्थतन्त्र अघि बढाउने परिपाटीको अन्त्य हुन आवश्यक रहेको बताए । 

Logo