1
1
1
1
1

0 Shares

सद्भाव र आपसी स्नेहको पर्व बकर इद मनाइँदै, प्रदेश २ र ५ मा विदा

1
1
1
1
1
1

काठमाडौं । मुस्लिम धर्मावलम्बीको महान पर्व बकर इद आज विश्वभर मनाइँदैछ । इदुल फित्र अर्थात रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने गरिन्छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेको छ ।

नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेन नमाज पाठसहितको ध्यान सकेपछि साथीभाइबीच शुभकामना साटासाट गरी घरमा गएपछि कुर्वान (बलि) दिने विधान रहेको बताउँछन् ।

घण्टाघरस्थित नेपाली जामे मस्जिदमा सोमबार बिहान ८ बजे नमाज पढिएको छ । यस पर्वका अवसरमा प्रदेश नं. २ र ५ सरकारले सार्वजनिक बिदा दिएका छन् ।

हिजरी संवत अनुसार १४३५ वर्षपहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।

अल्लाहको आदेश इब्राहिमलाई तेरो नजीकको प्यारो चीज कुर्वान (बलिदान) दे भन्ने थियो, जसअनुसार इस्माएल अलेह सलामलाई बलिदान दिन तयार हुँदा अल्लाह आफैँ आएर परीक्षामा उत्तीर्ण भइस्, यो भेडालाई बलिदान गर् भनी आदेश दिनुभयो, यही घटनाका आधारमा यो पर्व मनाउन शुरु भएको हो ।

इद सोमबारदेखि बुधबारसम्म तीन दिन मनाइन्छ । बुधबार सूर्यास्तअघि नै मुस्लिम धर्मावलम्बीले बलि (कुर्वान) दिनुपर्ने धार्मिक विधान छ ।

यसैबिच इदको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखसहित विभिन्न नेताहरुले शुभकामना सन्देश दिएका छन् ।

प्रकाशित: २७ साउन २०७६ ०९:०६ सोमबार

1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी