लमजुङमा दसैं छोडेर अलैंची टिप्न र सुकाउन ब्यस्त किसान

लमजुङमा दसैं छोडेर अलैंची टिप्न र सुकाउन ब्यस्त किसान


दसैं मनाउन छोडेर लमजुङका किसान अलैंची टिप्ने र सुकाउन तल्लिन छन् । 

अलैंची टिप्न सहरबजार झरेका गाउँ फर्केका छन् । सरकारी तथा गैरसकारी कार्यालयमा कार्यरत स्थानीय पनि गाउँ पुगेर अलैंची टिप्ने र सुकाउने कार्यमा ब्यस्त छन् । गाउँका बुढापाका, बालबालिका तथा युवायुवती अलैंची टिप्न र सुकाउन लागेका छन् । जंगलका अलैंची बगानदेखि गाउँका अलैंची सुकाउने भट्टीसम्म कृषकको जमघट बढेको छ । 

असोज महिना सुरु भएयता अलैंची टिप्ने र सुकाउने काममा खटिएका उनीहरुले तिहार अगावै सबै अलैंची सुकाएर बिक्रीका लागि तयारी अवस्थामा पुर्‍याउने योजना बनाएका छन् । गाउँमा अलैंची खेती हुन थालेपछि उनीहरुले दसैं मान्न छोडेका छन् । यसपटकको दसैं पनि अलैंची बगान र भट्टीमा बित्ने भो’ अलैंची किसान आइतराम तामाङ बताउछन् । अलैंची पाकिसकेकाले सवै किसान अलैंची बारी र भट्टीमा रहेको उनी बताउछन् । पाकिसकेको अलैंची समयमा टिपिएन भने बिस्तारै ढुसी बढ्ने तामाङको भनाइ छ । 

छिनखोलामा ५५ घर छन् । अहिले सबै घरमा मानिसको बसोबास छ । विकट ठाउँ भएकाले शिक्षा, स्वास्थ्य लगायत विकासको अभावमा बसाइँसराई हुँदा गाउँ रित्तिएको थियो । यति ठूलो गाउँ भए पनि सवै बसाई सरेर १५ घरमा झरेका थिए अगुवा कृषक लालबहादुर तामाङले भने, ‘अहिले त सबै गाउँ फर्केका छन् । सबैले अलैंची खेती गरेका छन् । रमाइलो भइरहेको छ ।’ युवा कृषक बलराम लामाका अनुसार अलैंचीले गर्दा युवाहरु विदेश जानबाट रोकिएको छ । विदेश गएकाहरु पनि गाउँ फर्केर अलैंची खेतीमा लागेका छन् ।  

Logo